१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

१८ दिनमा ६ हिन्दूको हत्या : बेलायती सांसदको चेतावनी- हिंसा तुरुन्त रोक्नुस्!

ब्रिटिश कन्जरभेटिभ पार्टीकी सदस्य तथा पूर्व गृहमन्त्री प्रीति पटेलले बंगलादेशको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै बेलायती विदेश सचिव इभेट कूपरलाई पत्र लेखेकी छन्।

पत्रमा उनले लेखेकी छन्, ‘बंगलादेशको अवस्था निकै चिन्ताजनक छ। धार्मिक स्वतन्त्रताको रक्षा हुनुपर्छ। हिन्दूहरूको हत्या तथा उत्पीडन गलत हो र यसलाई तुरुन्त रोक्नुपर्छ।’

उनले थप बताएकी छन्, ‘बेलायती सरकारले आफ्नो प्रभाव र कूटनीतिक शक्तिको प्रयोग गरी बंगलादेशमा स्थिरता कायम गर्न, धार्मिक स्वतन्त्रता सुनिश्चित गर्न तथा हिन्दूहरू सुरक्षित हुने भविष्य निर्माण गर्न पहल गर्नुपर्छ।’

उनको पत्र सन् २०२४ अगस्टमा तत्कालीन शेख हसिना सरकार ढलेपछि सुरु भएको हिंसासँग जोडिएको छ। मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएपछि अल्पसंख्यकहरू (विशेष गरी हिन्दूहरू) विरुद्ध हिंसात्मक घटनाहरू बढेका छन्। 

विभिन्न मानवअधिकार संस्थाहरूका अनुसार अन्तरिम सरकारको कार्यकालमा २९ सयभन्दा बढी हिंसात्मक घटना भएका छन्, जसमा हत्या, आगजनी, लुटपाट तथा भूमि हडप्ने जस्ता कार्यहरू समावेश छन्।

बंगलादेश अल्पसंख्यकहरूका लागि मानव अधिकार कांग्रेसले (जुन ६, २०२५ देखि जनवरी ५, २०२६) सम्म ११६ अल्पसंख्यकहरूको मृत्यु (भीडद्वारा हत्या, सामान्य हत्या तथा शंकास्पद मृत्यु) भएको उल्लेख गरेको छ। पछिल्ला १८ दिनमा कम्तीमा ६ जना हिन्दूहरू मारिएका छन्, जसलाई प्रीति पटेलले ‘अस्वीकार्य’ बताएकी छन्।

बंगलादेशको अन्तरिम सरकारले यस्ता हिंसालाई रोक्ने, दोषीलाई कारबाही गर्ने तथा अल्पसंख्यकहरूको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ। तर हिंसा पूर्ण रूपमा रोकिएको छैन। फेब्रुअरीमा हुने आम निर्वाचनको समय नजिकिँदै गर्दा यस्ता घटनाहरू बढ्दै गएपछि थप संशय उत्पन्न भएको छ। एजेन्सीको सहयोगमा 

प्रकाशित: २६ पुस २०८२ ०७:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App