६ मंसिर २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पेरुको एन्डिज पर्वतीय क्षेत्रमा ६.९ म्याग्निच्युडको भूकम्प

दक्षिण अमेरिकी देश पेरुमा शुक्रबार राति ६.९ म्याग्निच्युडको भूकम्प गएको छ।

भूकम्पको धक्का राजधानी लिमासम्म महसुस गरिएको थियो। भूकम्पपछि त्रासका कारण मानिसहरू घरबाट बाहिर निस्केर सडकमा आएका थिए। यद्यपि, अहिलेसम्म मानवीय क्षति, घाइते वा भवनमा क्षति पुगेको खबर आएको छैन।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार स्थानीय समयअनुसार शुक्रबार साँझ ७ बजेर ९ मिनेटमा भूकम्प गएको हो। यसको केन्द्रबिन्दु जुनिन सहरबाट ३४ किलोमिटर उत्तरमा रहेको एन्डिज पर्वतीय क्षेत्रमा जमिनको सतहबाट १०८ किलोमिटर गहिराइमा थियो।

पेरुमा यसअघि पनि शक्तिशाली भूकम्प

पेरु प्रशान्त महासागर वरिपरि फैलिएको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्छ। करिब ४० हजार किलोमिटर लामो यो क्षेत्रमा ज्वालामुखी र भूगर्भीय दरारहरू छन्। विश्वका अधिकांश भूकम्प यही क्षेत्रमा जाने गर्छन्।

यसअघि अगस्टमा पेरुको एन्डिज क्षेत्रमा ६.७ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पमा दुई जना घाइते भएका थिए। धेरै घर, स्वास्थ्य केन्द्र र विद्यालयमा क्षति पुगेको थियो।

त्यस्तै, जुलाईमा जुनिन क्षेत्रमा ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पमा छ जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए।

प्रकाशित: ५ मंसिर २०८३ ०९:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App