भारतमा एकै दिन ३ लाख १४ हजार ८ सय ३५ कोरोना संक्रमित भेटिएका छन्। कुनै पनि देशमा एकै दिन यति धेरै कोरोना संक्रमित भेटिएको यो पहिलोपटक हो। यसअघि गत जनवरीमा अमेरिकामा एकै दिन २ लाख ९७ हजार ४ सय ३० जना संक्रमित भेटिएका थिए।
भारतको राजधानी नयाँ दिल्लीसहित उत्तर तथा पश्चिमी क्षेत्रका स्वास्थ्य अधिकारीले कोरोना संकट भयावह बनेको र अस्पतालका बेड भरिएको तथा अक्सिजन अभाव रहेको बताएका छन्। कतिपय स्थानमा चिकित्सकले बिरामीलाई घरमै बस्न सुझाएका छन्। भारतको पूर्वी सहर मुजफ्फरपुरमा शवदाह गृहमा शव जलाउन मृतकका परिवार कुरेर बस्नुपर्ने स्थिति आएको छ।
‘तत्काल हामीसँग बेड पनि छैनन्, अक्सिजन पनि छैन,’ अशोका विश्वविद्यालयअन्तर्गतको त्रिवेदी स्कुल अफ बायोसाइन्सका निर्देशक शहिद जमिलले रोयटर्सलाई भने, ‘हाम्रो स्वास्थ्य पूर्वाधार पूरै तहननहस भएको छ।’ अमेरिकाको साउथ क्यारोलिना विश्वविद्यालयअन्तर्गत सरुवा रोग डिभिजनकी उपप्राध्यापक कृतिका कृपालीले भारतमा देखिएको संकटले स्वास्थ्य सेवा प्रणाली तहननहस भएको ट्विट गरेकी छन्। भारतमा हालसम्म कुल १ करोड ५९ लाखजनामा कोरोना संक्रमण भइसकेको छ। भारतका टिभी च्यानलले नातेदारको उपचारका लागि आवश्यक पर्ने अक्सिजन जोहो गर्न सर्वसाधारण तँछाडमछाड गरिरहेको दृश्य प्रसारण गरिरहेका छन्। उनीहरू रित्तो सिलिन्डरसहित रिफिलिङ सेन्टरमा लामबद्ध देखिएका छन्।
पतालमा बेड पाउन अक्सिजन सिलिन्डरसहित एकजना बिरामी आफ्नो गाडीभित्र बसेर कुरिरहेको रोयटर्सको एक फोटोमा देखिन्छ। ‘हामीले दोस्रो लहर यति धेरै कडा हुन्छ भनेर कहिले ठानेनौं,’ हेल्थकेयर फर्म बायोकन एन्ड बायोकनका कार्यकारी अध्यक्ष किरन मजुमदारले इकोनोमिक टाइम्समा लेखेका छन्। उनले यही हेलचक्र्याइँका कारण अत्यावश्यक औषधि, मेडिकल सरसामान र अस्पतालमा बेड अभाव रहेको बताए। दिल्लीका स्वास्थमन्त्री सत्येन्द्र जैनले सघन उपचार कक्षमा थप ५ हजार बेड आवश्यक रहेको बताए। केही अस्पतालमा अक्सिजन स्टक १० घण्टामा र अन्यमा ६ घण्टामा सकिने बताइएको छ।
भारतले खोप कार्यक्रम अगाडि बढाए पनि अझै धेरै मानिसले खोप पाएका छैनन्। भारत सरकारले मे १ देखि ८ वर्षमाथिका सबैलाई खोप उपलब्ध गराउने भने पनि ६० करोड जनसंख्यालाई खोप उपलब्ध गराउन अत्यन्त कठिन रहेको विज्ञ बताउँछन्। हिउँदमा दैनिक संक्रमण १० हजारमा झरेपछि भारतले ठूला समारोहलगायत सार्वजनिक भेलामा लगाएको रोक खुकुलो पारेको थियो। केही विज्ञले भाइरसका नयाँ भेरियन्ट र ‘डबल म्युटेन्ट’ भाइरसका कारण दोस्रो लहर भयावह भएको बताएका छन् भने अन्यले राजनीतिक नेतृत्वलाई दोषी देख्छन्।
‘हेलचक्र्याइँ र ठूला खाले भीडले दोस्रो लहर यति धेरै तीव्र बनेको हो,’ नयाँ दिल्लीस्थित सेन्टर फर डिजिज डायनामिक्स, इकोनोमिक्स एन्ड पोलिसीका रामानन लक्ष्मीनारायनले भने। गत वर्ष भारत सरकारले कोरोना नियन्त्रणका लागि व्यापक लकडाउन गरेको थियो। यसपटक लकडाउनको आर्थिक मूल्य चर्काे पर्ने भनेर भारत सरकार चिन्तित देखिएको छ। राजनीतिक दलका र्याली र धार्मिक कार्यक्रम आयोजना गर्न छुट दिएको भनेर भारत सरकारको आलोचना हुने गरेको छ। यसै साता प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन अन्तिम अश्त्र भएको राज्य सरकारलाई बताएका थिए। उनले अक्सिजन र खोपको उपलब्धता सुनिश्चित गर्न सरकारले काम गरिरहेको बताउँदै सकभर घरभित्रै बस्न सर्वसाधारणलाई अनुरोध गरेका छन्।
अमेरिकाको जर्जटाउन विश्वविद्यालयअन्तर्गतको सेन्टर फर हेल्थ एन्ड साइन्स सेक्युरिटीकी एन्जेला रास्मुसेनले भारतको स्थिति ‘अत्यन्त दुखलाग्दो र भयंकर’ रहेको बताएकी छन्। ‘यो स्थिति आउनमा सरकारले लिएको गलत नीति, सल्लाह, विश्वव्यापी तथा आन्तरिक राजनीति जिम्मेवार छ,’ रास्मुसेनले ट्विटरमा भनेकी छन्। -रोयटर्स
प्रकाशित: १० वैशाख २०७८ ०१:४६ शुक्रबार