८ मंसिर २०८१ शनिबार
image/svg+xml
शिक्षा

जनकपुरका संस्थागत विद्यालयद्वारा पठनपाठन ठप्प, ६ दिनदेखि घरमै थुनिए ३५ हजार विद्यार्थी

जनकपुरधाम उपमहानगरपालिकाले गरेको पत्राचार बमोजिम संस्थागत विद्यालयहरुले छात्रवृत्ति दिन नमानेपछि उपमहानगरपालिकाका करिब ३५ हजार विद्यार्थीहरु घरमै थुनिएका छन्।जनकपुरधाम उपमहानगरपालिका भित्र सञ्चालित करिब १५० संस्थागत विद्यालयहरुले शिशु देखि कक्षा १२ सम्मका पठनपाठन बन्द गरेपछि विद्यार्थीहरु घरमै थुनिएका हुन्।  

 जनकपुरधाम उपमहानगरपालिकाले कक्षा ११ र १२ मा छात्रवृत्तिमा छनौट भएका विद्यार्थीहरुलाई निःशुल्क पढाउन र छात्रवृत्तिमा अध्यनरत विद्यार्थीहरुबाट विभिन्न बहानामा असुल गरेको रुपैयाँ फिर्ता गर्न पत्राचार गरेपछि संस्थागत विद्यालयका छाता संगठनहरुले गत सोमवारदेखि अनिश्चितकालका लागि विद्यालय बन्द गरेका छन् ।  

नेपाल विद्यार्थी संघले चलाएको ‘मेरो शिक्षा मेरो प्रश्न’ अभियान अन्तर्गत नेविसंघले जनकपुरधाम उपमहानगरपालिका भित्र सञ्चालित विद्यालयहरुमा गएर छात्रवृत्तिमा पढाइरहेको विद्यार्थीको तथ्यांक मागेको थियो। तर, यहाँका निजी विद्यालयहरुले कतिजना विद्यार्थीहरुलाई छात्रवृत्तिमा पढाइरहेको छ त्यसको विवरण उपल्बध गराउन नमानेपछि नेविसंघ आन्दोलनमा उत्रेको थिए।

छात्रवृत्तिमा छनौट भएका विद्यार्थीहरुबाट मोडल मल्टिपल कलेज, मिट क्याम्पस, राजर्षी जनक क्याम्पस लगायतका निजी विद्यालयहरुले विभिन्न शुल्कको नाममा हजारौं रुपैयाँ असुल गरेको भन्दै नेविसंघले आन्दोलनको घोषणा गरेको थियो।

नेविसंघले विभिन्न माग राखी जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोज कुमार साह समक्ष ज्ञापनपत्र समेत बुझाएको थियो। त्यसपछि उपमहानगरपालिकाले विद्यार्थीहरुलाई वार्तामा बोलाएको थियो। गत कार्तिक १४ गते उपमहानगरपालिका प्रमुख मनोज कुमार साह र आन्दोलनरत विद्यार्थीका तर्फबाट नेविसंघका धनुषा जिल्ला सभापति सुजित कुमार यादवबीच दुईबुँदे सम्झौता भएको थियो।

सम्झौताको पहिलो बुँदामा शैक्षिक शत्र २०८०/८१ र २०८१/८२ मा कक्षा ११ र १२ मा छात्रवृत्तिमा सिफारिस भएका विद्यार्थीहरुलाई अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ को दफा २७ को उपदफा ३ र नियमावली २०७७ को नियम ८ बमोजिम राष्ट्रिय परीक्षा वोर्डले तोकेको रजिष्ट्रेशन शुल्क,परीक्षा शुल्क बाहेक लिएको अन्य शुल्क सम्बन्धित विद्यार्थीलाई फिर्ता गराउन निजी विद्यालयहरुमा परिपत्र गर्ने सहमती गरेका थिए।दोस्रो बुँदामा भर्ना विद्यालयमा एक पटक मात्र विद्यार्थीसँग भर्ना शुल्क लिने कानुनी प्रावधान अनुसार हुने तथा पुनः दोस्रो पटक भर्ना शुल्क लिएको भए पिर्ता गराउने उपमहानगरपालिकाले नेविसंघसँग सम्झौता गरेपछि विद्यार्थीले आन्दोलन स्थगित गरेका थिए।

यता संस्थागत विद्यालयहरुले जनकपुरधाम उपमहानगरपालिका र नेविसंघबीच भएको सम्झौता अनुसार पढाउन नसकिने भन्दै निजी विद्यालय सञ्चालकहरुले गत कार्तिक २९ गते उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए। आफूहरुले राखेको मागप्रति उपमहानगरपालिकाले चासो नलिएको भन्दै संस्थागत विद्यालयको छाता संगठन हिसान, प्याबसन र एन–प्याबसनमा आवद्ध सम्पूर्ण विद्यालयहरु मंसिर ३ गतेदेखि अनिश्चितकालका लागि बन्दको घोषणा गरी पठनपाठन बन्द गरेका छन्।  

जनकपुरधाम उपमहानगरपालिकाले विभिन्न मितिमा फरक–फरक निर्णय गरिरहेका कारण आफूहरुलाई ती निर्णय मान्य नहुने हिसान धनुषाका अध्यक्ष संजीव ठाकुर बताउँछन्। उनले भने, ‘नगरप्रमुखले मनपरी ढंगले निर्णय गर्दा यहाँका निजी विद्यालयहरु मर्कामा परेका छन्।छात्रवृत्ति वितरण कार्यविधि–२०७४ मा मासिक, नामाङ्कन र आन्तरिक परीक्षा शुल्क नलिने भनिएको छ।’ हिसानका अध्यक्ष ठाकुरले भने, ‘ हामीले छात्रवृत्तिका विद्यार्थीसँग वार्षिक शुल्क, ल्याब, लाइब्रेरी र रजिष्ट्रेशन लिइरहेका छौं।’

जनकपुरधाम उपमहानगरपालिकाले निजी शैक्षिक संस्थालाई कक्षा ११ र १२ मा कुल विद्यार्थी संख्याको १० प्रतिशतलाई छात्रवृत्तिमा पढाउन सिफारिस गरेको छ। 

त्यसमा गरिब, जेहेन्दार, सहिद परिवार र सिमान्तकृत विद्यार्थीलाई छात्रवृत्तिमा पढाउन भनिएको छ।संस्थागत विद्यालय सञ्चालकहरुले उपमहानगरले संघीय सरकारले बनाएको छात्रवृत्ति वितरण कार्यविधि–२०७४ अनुसार नै परिपत्र गरेको र सोही अनुसार आफूहरु छात्रवृत्ति दिइरहेको गरेको दाबी प्रति नेविसंघ धनुषाका सभापति सुजित यादव असहमति जनाउँछन् । 

उनले भने, ‘ऐन कानुन परिवर्तन भइरहन्छ, छात्रवृत्ति सम्बन्धी नयाँ कानुन आइसकेपछि पुरानो कानून स्वतः खारेज हुन्छ। हामीले पुरानो कार्यविधि अनुसार छात्रवृत्ति दिइरहेका छौं । नयाँ कार्यविधि मान्दैनौं भन्ने छुट छैन।’ उनी भन्छन्,‘हामी–७२ सालमा जारी भएको संविधान अनुसार चल्ने हो अब कसैले मैलै यो संविधानलाई मान्दैनौं हामी–०४७ को संविधान मान्छौं त्यो हुँदैन। नेपालको कानुनले सबै विद्यालयलाई स्थानीय सरकारका मातहत राखेका छन् स्थानीय सरकारले गरेको निर्णय मान्दैनौं भन्न मिल्छ?’

संस्थागत विद्यालय खुलाउन नेविसंघ पुनः आन्दोलित

विगत ६ दिनदेखि संस्थागत विद्यालयहरुले नर्सरीदेखि कक्षा १२ सम्मका पठनपाठन गरेको विरुद्धमा नेविसंघ पुनः आन्दोलनमा उत्रेको छ । विद्यालय सुचारु गर्नका लागि नेविसंघले शुक्रबार जनकपुरधाम उपमहानगरपालिका अगाडी धर्ना दिएको थियो।निजी विद्यालय सञ्चालकहरुले आईतवारदेखि विद्यालय सुचारु नगरे चरणबद्ध आन्दोनमा उत्रने नेविसंघले जनाएको छ।

प्रकाशित: ८ मंसिर २०८१ ११:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App