९ भाद्र २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फ्रान्समा आँधीले ४१ जना घाइते

दक्षिणपश्चिमी फ्रान्सको पोमास गाउँमा आएको शक्तिशाली आँधी (टोर्नाडो) ले करिब ३०० घरमा क्षति पु¥याउँदा ४१ जना घाइते भएका छन्। घाइतेमध्ये १५ जनालाई उपचारका लागि अस्पताल लगिएको स्थानीय अधिकारीहरूले बताएका छन्। 

करिब एक हजार जनसङ्ख्या रहेको पोमासमा आँधीले घरका छाना उडाउनुका साथै विभिन्न संरचनामा क्षति पु¥याएको छ। घटनास्थलमा १२० भन्दा बढी उद्धार तथा आपत्कालीन कर्मचारी परिचालन गरिएको छ। घर भत्किँदा एक गर्भवती घाइते भएको उनका श्रीमान्ले बताएका छन्। 

आँधीबेहरीसँगै दक्षिणपश्चिमी फ्रान्सका केही क्षेत्रमा विद्युत् आपूर्ति र यातायात सेवा प्रभावित भएका छन्। अधिकारीहरूले आँधीबेहरीको सम्भावनालाई ध्यानमा राख्दै ती क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका थिए। 

अडे विभागमा भइरहेको भोल्टा ए एस्पाना साइकल दौडको तेस्रो चरण खराब मौसम र असिनाका कारण रद्द गरिएको छ। असिना परेपछि साइकल चालकहरूले सुरक्षित स्थानमा आश्रय लिनुपरेको थियो। 

फ्रान्सको राष्ट्रिय मौसम सेवा मेटिओ–फ्रान्सका अनुसार नजिकैको आर्केट्स–एन–भ्याल गाउँमा हावाको गति प्रतिघण्टा ११७ किलोमिटरसम्म पुगेको थियो। 

यातायातमन्त्री फिलिप टबारोटका अनुसार आँधीका कारण रेल सेवा ढिलो हुनुका साथै सडक बन्द भएका छन्। बोर्दो, मार्सेइ, नाइस र टुलुजलगायत विमानस्थलमा उडान ढिला तथा रद्द भएका छन्। करिब १० गाउँका दुई हजार आठ सय घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको अधिकारीहरूले बताएका छन्। 

फ्रान्समा वर्षमा औसत दर्जनौँ आँधी आउने गरेका छन्। यस्ता आँधीको आवृत्ति र तीव्रतामा जलवायु परिवर्तनको प्रभाव कस्तो छ भन्ने विषय भने अझै स्पष्ट नभएको मेटिओ–फ्रान्सले जनाएको छ। 

प्रकाशित: ९ भाद्र २०८३ १५:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App