coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

छुटिसकेकी पत्नी ३ वर्षपछि पाउँदाको खुसी

पत्नीसँग ३ वर्षपछि पुनर्मिलन हुन पाएको खुसी साट्दै सद्दाम अबुदुसालामु। तस्बिर : बिबिसीबाट

कानुनी अड्चनका कारण ३ वर्षदेखि आफ्ना पत्नी र छोराबाट छुटेका अस्ट्रेलियाका एक मुस्लिम व्यक्तिले अन्ततः आफ्नो परिवार प्राप्त गर्न सफल भएका छन्।

चीनको सिनजियाङमा नजरबन्दमा रहेका उनका पत्नी नादिला वुमाएर र ३ वर्षीय छोरा लुत्फीको उद्धार भएको हो।

बिबिसीका अनुसार छुटिसकेको परिवारसँग पुनर्मिलन हुने सौभाग्य पाएका हुन्– अस्ट्रेलियाली नागरिक सद्दाम अबुदुसालामु। जसका लागि गत शुक्रबार जीवनकै खुसीको दिन बन्यो।  

तीन वर्षको प्रयासपछि उनले सिड्नीमा आफ्ना पत्नी र छोरालाई चुम्न पाए। टकूनीतिक सम्झौतापछि सद्दामका पत्नी र छोराले उनीसँगै बस्ने अनुमति पाएका हुन्।

अल्पसंख्यक ‘विगर मुसलमान’ वुमाएरका अनुसार चीनमा उनलाई घरभित्रै बन्दी बनाइएको थियो। तीन वर्षपछि शुक्रबार सिड्नी एयरपोर्टमा उनका श्रीमानसँग पुनर्मिलन हुँदा सबैका लागि निकै भावुक दृश्य बनेको थियो। उनले त्यो सुन्दर क्षण क्यामेराका कैद गरेका छन्।  

वास्तवमा सद्दामले पहिलोपटक आफ्ना छोरा देख्न पाएका थिए।  

यस्तो छ कथा 

सद्दाम एक दशकदेखि अस्ट्रेलियामा थिए। सन् २०१६ मा उनी आफ्नी प्रेमिका वुमाएरसँग बिहे गर्न चीन गए। त्यसपछि उनी सन् २०१७ मा  अस्ट्रेलिया फर्किए। तर उनकी पत्नी वुमाएर भने वैवाहिक भिसा नहुँदा चीनमै रोकिन बाध्य भइन्। त्यही वर्ष छोराको जन्म भएको हो। तर चीन सरकारले सद्दामलाई पनि चीन आउने भिसा दिएन।

छोराको जन्म भएको केही समयपछि वुमाएरलाई हिरासतमा लिइयो। दुई हप्तापछि उनी रिहा त भइन्, तर उनको भिसा जफत गरियो र घरमै बन्दी बनाइयो अर्थात् घर छाड्न दिइएन।  

पछिल्ला २ वर्ष अस्ट्रेलिया सरकारले चीन सरकारसँग सद्दामका पत्नी तथा छोरालाई मुक्त गर्न धेरैपटक आग्रह गर्‍यो तर सफल भएन।  

किनकि सद्दाम अस्ट्रेलियन नागरिक भए पनि उनकी पत्नीसँग अस्ट्रेलियाको नागरिकता थिएन। सद्दामको अनुरोधपछि उनका छोरालाई अस्ट्रेलियाली नागरिकता दिइएको हो।  

चीनका अधिकारीले गत फेब्रुअरीमा भनेका थिए- ‘सद्दाम र वुमाएरको विवाह कानुनी रूपमा अमान्य छ र उनकी पत्नी वुमाएर पनि चीनमै बस्न इच्छुक छिन्।’ तर सद्दामले आफ्नी पत्नी र छोराको तस्बिर सामाजिक सञ्जाल (ट्विटर) मा सार्वजनिक गरे, जसमा वुमाएरको हातमा ‘म जान चाहन्छु र आफ्ना पतिको साथमा बस्न चाहन्छु’ लेखिएको कागज थियो। 

तर यसपछि पनि उनीहरू ६ महिना प्रतीक्षा गर्नुपर्‍यो। सद्दामका वकिल माइलक ब्रेडलीले बीबीसीसँग भनेका छन्, ‘दुई/तीन महिनाअघि मलाई जानकारी भयो कि उनीहरूले चीन छाड्न सक्नेछन्।’

त्यसपछि मुक्त बनेका पत्नी र छोरा भेट्न संघाई, हङकङ, ब्रिस्बेन हुँदै ४८ घण्टाको यात्रा गरेर सद्दाम सिड्नी आइपुगे। उनले भने, ‘मैले सोचेकै थिइनँ कि जीवनमा यो दिन पनि आउनेछ, हाम्रो फेरि भेट हुनेछ। अब मेरो चाहना छ, हरेक विगर मुसलमान परिवारले यसरी नै आपसमा पुनर्मिलन हुन पाउन्।’  

यो सफलताका लागि सद्दामले अस्ट्रेलियाको विदेश विभाग, आफ्ना वकिल र सञ्चारमाध्यमलाई धन्यवाद पनि दिए। 

चीनविरुद्ध आरोप

मानव अधिकारकर्मीले चीनले झन्डै १० लाख विगर र अन्य मुसलमानलाई बन्दीगृहमा कैद गरेर राखेको आरोप लगाएका छन्। तर चीनले आरोप अस्वीकार गरेको छ।

गत अक्टोबर अस्ट्रेलिया, अमेरिका र कैयौं युरोपेली देशसमेत ३९ मुलुकले संयुक्त विज्ञप्ति जारी गर्दै चीनको सिनजियाङमा मानव अधिकारको अवस्था गम्भीर रहेको चिन्ता व्यक्त गरेका थिए।  

विज्ञप्तिमा विगर मुसलमानको धार्मिक, सांस्कृतिक एवं अभिव्यक्ति स्वतन्त्रताविरुद्ध प्रतिबन्ध लगाइएको कुरा पनि उल्लेख थियो। 

प्रकाशित: २९ मंसिर २०७७ ०९:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App