२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नेरीको अलराउन्ड प्रदर्शन

काठमाडौं, माघ १६ (नागरिक)- नेरी थापाको अलराउन्ड प्रर्दशनमा नेपालले सोमबार हङकङलाई ६ विकेटले पराजित गर्दै एसिसी महिला क्रिकेट च्याम्पियनसिपमा विजय अभियान कायम राखेको छ। सेमिफाइनल पुगिसकेको नेपाल सोमबारको जितपछि समूह 'ए'को विजेता बनेको छ। लगातार चौथो जित पाएको नेपालले समूह 'बी'को उपविजेता आयोजक थाइल्यान्डलाई सेमिफाइनल प्रतिद्वन्द्वीमा पाएको छ। नेपालसँगै समूह उपविजेता भएर सेमिफाइनल पुगेको हङकङको भेट चीनसँग हुनेछ। चीन समूह 'बी' बनेको थियो। दुवै सेमिफाइनल बुधबार हुनेछ।
टस हारेर ब्याटिङ गर्न आएको हङकङलाई ५४ रनमै समेट्ने क्रममा प्लेयर अफ द म्याच नेरीले ३ विकेट लिइन्। जवाफी ब्याटिङमा टोलीलाई १८ ओभरमै विजय दिलाउने क्रममा नेरीले अविजित २३ रन बनाइन्।
नेपालले कमजोर सुरुआत गर्‍यो। पहिलो तीन ओभरको अन्तरमा ३ विकेट गुमाउँदा ओपनर मधु थापा र सीता मगरले खाता खोल्न पाइनन्। मधु मारिको हिलबाट बोल्ड भइन् भने सीतालाई टम शुनले रनआउट गरिन्। तेस्रो विकेटका रूपमा रोशनी बोहोरा (१) पवेलियन फर्कंदा नेपाली इनिङ धर्मराएको थियो। त्यतिबेला नेपालले ३.१ ओभरमा ६ रनमात्र जोडेको थियो।
त्यसपछि सरिता मगर र नेरीले चौथो विकेटमा ३३ रनको साझेदारी गर्दै टोलीलाई जिततर्फ डोर्‍याएका थिए। ४३ बलमा दुई चौकासहित १४ रन बनाएकी सरिता शुनबाट बोल्ड भइन्। कप्तान रुबिना क्षेत्रीले ७ रनमा अविजित रहँदै नेरीलाई साथ दिइन्। नेरीले २३ रन बनाउँदा ३५ बल खेल्दै ३ चौका प्रहार गरिन्। रुबिनाले पनि एक चौका हानिन्।
त्यसअघि हङकङका प्रारम्भिक जोडीले राम्रो सुरुआत गरे पनि निरन्तरता दिन सकेनन्। यिप सेज वान (१४) र चान का यिन (१२) ले पहिलो विकेटमा २३ रनको साझेदारी गरेका थिए। उक्त साझेदारीलाई तोड्ने क्रममा सरिता मगरले ममता थापाको हातबाट वानलाई क्याचआउट गराइन्। त्यसपछि हङकङविरुद्ध नेपाली बलर हाबी भए। टोली २१.४ ओभरमा समेटिँदा सरिताले ४ विकेट लिइन्। नेरी र करुणा भण्डारीले ३-३ विकेट लिए। ५ ओभर बलिङ गरेकी सरिताले १३ रन खर्चिन्। ५ ओभरमा २ मेडन राख्दै नेरीले १४ र करुणाले १.४ ओभरमा २ रनमात्र खर्चिए।
नेपालले समूह चरणमा भुटानलाई ८ विकेट, युएईलाई ८६ रन र मलेसियालाई ७ विकेटले हराएको थियो।
सोमबारै समूह 'बी' थाइल्यान्डलाई ४७ रनले हराउँदै चीन समूह विजेता बनेको हो। चीनले निर्धारित २५ ओभरमा १ सय १८ रन बनाउँदै थाइल्यान्डलाई ७१ रनमा समेटेको थियो। चीनले समूह चरणका पाँचै खेल जितेको थियो भने थाइल्यान्डले चार खेलमा विजय पायो।

प्रकाशित: १५ माघ २०६९ १२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App