५ वैशाख २०८१ बुधबार
अन्तर्राष्ट्रिय

बाइडेनले ल्याए कोरोना नियन्त्रण योजना

जेन क्रिस्टेनसेन

अमेरिकाको नयाँ राष्ट्रपतिमा निर्वाचित भएलगत्तै जो बाइडेनले विश्वव्यापी महामारीको रुप लिएको कोरोना संक्रमण नियन्त्रण गर्न सशक्त योजना बनाउने बताएका छन्। उनले कोरोना महामारीका विषयमा यसअघिको अमेरिकी नीतिमा परिवर्तन आउने बताएर सबैमा आशाको सञ्चार गरिदिएका छन्। ‘कोरोना महामारी देशभर चिन्ताजनक हिसाबले फैलिएको छ। हामीले यसलाई रोक्न सशक्त योजना ल्याउनेछौं,’ बाइडेनले भनेका छन्। डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिमा निर्वाचित बाइडेनले औपचारिक कार्यभार सन् २०२१ को जनवरी २० मा समाल्ने छन्।

युनिभर्सिटी अफ वासिङ्टनअन्तर्गतको एक संस्थाका अनुसार जनवरी २० मा नयाँ राष्ट्रपतिले औपचारिक रुपमा कार्यभार समाल्दा अमेरिकामा ३ लाख ७२ हजार मानिसको ज्यान गैसकेको हुनेछ, जुन अहिलेको कुल मृत्युभन्दा १ लाख ३५ हजार थप हुनेछ।

‘जतिबेला बाइडेन–ह्यारिसले सत्ता समाल्ने छन त्यतिबेलासम्म कोरोना भाइरस समुदायस्तरमा फैलिइसकेको हुनेछ,’ सिएनएनसँगको कुराकानीमा ब्राउन विश्वविद्यालयका इमरजेन्सी फिजिसियन डा. मेगान रानेले आइतबार भनेका थिए। नयाँ उपराष्ट्रपतिमा बाइडेनको टिमबाट कमला ह्यारिस निर्वाचित भएकी छिन्।

बाइडेन–ह्यारिसले सत्ता समालेपछि महामारी नियन्त्रणमा अख्तियार गर्ने पाँच उपायमध्ये सबैभन्दा पहिलोमा कोरोना परीक्षण र कन्ट्याक्ट ट्रेसिङलाई व्यपाक पार्ने हुनेछ।

अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कोरोना महामारीलाई हल्का रुपमा लिँदै नियन्त्रणमा प्रभावकारी योजना नल्याएको आरोप छ। नयाँ राष्ट्रपतिमा निर्वाचित बाइडनेले आइतबार एक छुटै वेबसाइट सार्वजनिक गर्दै कोरोना महामारी नियन्त्रण योजना अगाडि सारेका छन्। बाइडेनले एक दर्जन विशेषज्ञ सम्मिलित कोरोना भाइरस टास्क फोर्स घोषणा गर्ने बताएका छन्। हाल क्रियाशील टास्क फोर्सले पनि कार्य जारी राख्नेछ। ब्राउन विश्वविद्यालयअन्तर्गतको स्कुल अफ पब्लिक हेल्थका डिन डा. आशिष झा यी दुवै टिमले मिलेर काम गर्नपर्ने सुझाव दिन्छन्। ‘यो विषयमा सहकार्य आवश्यक छ,’ उनी भन्छन्।

परीक्षणमा वृद्धि र कन्ट्याक्ट ट्रेसिङ
बाइडेन–ह्यारिसले सत्ता समालेपछि महामारी नियन्त्रणमा अख्तियार गर्ने पाँच उपायमध्ये सबैभन्दा पहिलोमा कोरोना परीक्षण र कन्ट्याक्ट ट्रेसिङलाई व्यपाक पार्ने हुनेछ। महामारी सुरु भएपछि अमेरिकामा परीक्षणलाई तीव्रता दिइए पनि वैज्ञानिकहरु परीक्षणको स्तर पर्याप्त नभएको र अझै पनि लाखौंको संख्यामा परीक्षण आवश्यक रहेको बताउँछन्। संक्रमतिमध्ये ४० प्रतिशतलाई कुनै लक्षण नदेखिने भएकाले व्यापक परीक्षणबिना महामारीको अवस्था प्रष्ट नहुने वैज्ञानिक दाबी छ। अध्ययनहरूले संक्रमितको सम्पर्कमा आएका ७५ प्रतिशतलाई क्वारेन्टिनमा राख्नुपर्ने देखाएका छन्।

बाइडेनले सबै अमेरिकीले ‘नियमित, विश्वसनीय र निःशुल्क’ परीक्षण प्राप्त गर्ने बताउँदै आएका छन्। यसैगरी गाडीमै परीक्षण गर्ने प्रक्रियालाई थप बढाउने, प्रविधिमा थप लगानी गर्ने र एक लाख स्वयंसेवीलाई कन्ट्याक्ट ट्रेसिङमा परिचालन गरिने बताइएको छ।

बाइडेनले पूर्वराष्ट्रपति फ्र्यांकलिन डी रुजवेल्टले दोस्रो विश्वयुद्धताका अवलम्बन गरेको फरक खाले उद्योगलाई सैन्य सामग्री उत्पादन गर्ने ‘वार प्रोडक्सन बोर्ड’ जस्तो नीति अख्तियार गर्ने संकेत गरेका छन्। उनले कोरोना परीक्षण बोर्डले लाखौंको संख्यामा परीक्षण गर्न सक्ने बताएका छन्।

खोप र उपचारमा थप लगानी
गत मार्चदेखि ट्रम्प प्रशासनले खोप निर्माणका लागि अर्बांै डलर खर्च गरेको छ। यो मिसनको उद्देश्य २०२१ को जनवरीसम्म ३० करोड डोज खोपको विकास तथा वितरण गर्नु रहेको छ। कतिपय खोप अन्तिम चरणमा पुगेका छन्। बाइडेनले थप २५ अर्ब अमेरिकी डलर लगानी गरेर सबै अमेरिकीलाई निःशुल्क खोप उपलब्ध गराउने बताएका छन्। यसैगरी उपचारमा आवश्यक औषधि पनि सुलभ रुपमा उपलब्ध गराउने बाइडेनले बताएका छन्।

मास्क अपरिहार्य र पिपिई सुनिश्चित
बाइडेनले गभर्नर र मेयरसँग मिलेर कोरोनाबाट बच्न सार्वजनिक स्थानमा मास्क प्रयोगलाई अनिवार्य बनाउने बताएका छन्। अक्टोबरमा गरिएको एक अध्ययनले ९५ प्रतिशत अमेरिकीले मास्क लगाएको भएा १ लाख मानिसको मृत्युलाई रोक्न सकिन्थो भन्ने देखाएको छ। यसैगरी स्वास्थ्यकर्मीका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामान (पिपिई) सुनिश्चित गर्ने उनको योजना छ।

स्थिर र प्रमाणमा आधारित नीति
बाइडेनले सत्ता समालेपछि ट्रम्प प्रशासनका कतिपय नीतिलाई अख्तियार गर्ने छैन। उदाहरणका लागि रोग नियन्त्रण केन्द्र अर्थात् सिडिसीप्रति ट्रम्पले देखाएको अनुदार रवैयालाई परिवर्तन गरेर यो निकायलाई सशक्त पारिनेछ। अर्थतन्त्रलाई खुकुलो पार्ने नाममा सो निकायका सुझावलाई ट्रम्प प्रशासनले खासै वास्ता गरेको छैन। यसैगरी कोरोना महामारीको प्रष्ट जानकारी दिने ‘राष्ट्रिय ड्यास बोर्ड’ को निर्माण र महामारीका बेला हुने जातिगत विभेदलाई सम्बोधन कार्यदल बनाएर स्थायी संरचनामा परिणत गर्ने तयारी बाइडेनको छ।

डब्लुएचओलाई पुनः समर्थन
ट्रम्प प्रशासनले गत जुलाईदेखि संयुक्त राष्ट्रसंघीय निकाय डब्लुएचओबाट अमेरिका बाहिरिने घोषणा गरेको थियो। तर बाइडेनले निर्वाचन अभियानका क्रममा आफू विजयी भए सो निकायसँगको सम्बन्ध पुनस्र्थापना गर्ने बताका थिए। निर्वाचित भएपछि पनि उनले सोही कुरा दोहो¥याएका छन्।। यसैगरी बाइडेनले सिडिसीको भूमिकालाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने सोच बनाएको छ। ट्रम्पले सिडिसीको चीनमा रहेको कार्यलय बन्द गरेको थियो। यसैगरी सरुवा रोगको सम्भावनालाई भविष्यवाणी गर्ने कार्यक्रम ‘प्रिडिक्ट’ लाई पनि पुनर्जीवित गर्ने तयारी बाइडेनको छ। 
–सिएनएन

प्रकाशित: २५ कार्तिक २०७७ ०१:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App