९ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘चीनमा जुलाईदेखि नै कोरोना खोप लगाउन सुरु भइसक्यो’

चीनका एक वरिष्ठ स्वास्थ्य अधिकारीले आफ्नो मुलुकमा कोरोनाविरुद्धको खोप गत जुलाईदेखि नै लगाउन थालिसकेको बताएका छन् ।  

आपतकालीन प्रयोगका रूपमा स्वास्थ्यकर्मी एवं सीमामा खटिएका सुरक्षाकर्मीलाई कोरोना खोप दिन सुरु गरिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगको विज्ञान तथा प्रविधि केन्द्रका प्रमुख चङ चोङवेईले जानकारी दिएका हुन् ।  

चीनको सरकारी टेलिभिजन (सिसीटिभी) मा शनिबार राति बोल्दै चङले कोरोनाको उच्च जोखिममा रहेका स्वास्थ्यकर्मी, महामारी नियन्त्रक र भन्सार कर्मचारीलाई खोप लगाउन कानुनी अनुमति प्राप्त बताएका छन् ।  

सोहीबमोजिम अत्यन्त सुरक्षित तरिकाले त्यस्ता व्यक्तिलाई कोरोनाविरुद्ध खोप दिन थालिएको उनले जानकारी दिए । 

सिसीटिभीसँग उनले भनेका छन्, ‘हामीले शृंखलाबद्ध योजना बनाएका छौं । जसमा मेडिकल सहमतिपत्र, साइडइफेक्टको निगरानी, उद्धार तथा क्षतिपूर्तिलगायत कुरा सामेल छन् । खोपको यो आपतकालीन प्रयोग अत्यन्त व्यवस्थित र सुरक्षित रूपमा गरिरहेका छौं ।’

तर कुन खोप कति जनलाई दिइयो भन्ने उनले स्पष्ट पारेका छैनन् ।  

साथै जाडो याम आउनुअघि नै अन्य समूहमा पनि परीक्षण गर्ने योजना रहेको उनले जानकारी दिए ।  

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोनाविरुद्ध १७० खोप बनिरहेका छन् । स्राेत : बिबिसी

प्रकाशित: ८ भाद्र २०७७ १३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App