भेनेजुएलामा विनाशकारी भूकम्प गएको ६ दिनपछि भग्नावशेषबाट एक तीन वर्षीय बालकलाई जीवितै उद्धार गरिएको छ। जोर्डनको नागरिक प्रतिरक्षा (उद्धार) टोलीले ती बालकलाई जीवितै बाहिर निकाल्न सफल भएको हो।
क्लिबर मोरान नाम गरेका ती बालकलाई ला गुएरा राज्यको भग्नावशेषबाट उद्धार गरिएको अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले जानकारी दिइन्।
प्राथमिक उपचारपछि बालकलाई अस्पताल लगिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको उद्धार टोलीले जनाएको छ।
उनलाई राजधानी काराकासस्थित अस्पतालमा उपचारका लागि राखिएको भेनेजुएला एसेम्बलीका अध्यक्ष जर्ज रोड्रिगेजले बताए। भूकम्प गएको सुरुवाती ७२ घण्टाभित्र उद्धारको सम्भावना बढी हुने भए पनि ६ दिनपछि बालक जीवितै भेटिनुलाई चिकित्सकहरूले पनि चामत्कारिक मानेका छन्।
गत साता भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएका थिए। भूकम्पमा परी हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ४३ पुगेको छ भने १० हजारभन्दा बढी घाइते भएका छन्। हजारौं नागरिक अझै बेपत्ता छन्।
अमेरिकी अन्तरिक्ष निकाय नासाको भू-उपग्रहीय तथ्याङ्कको प्रारम्भिक मूल्यांकनअनुसार भूकम्पका कारण करिब ५८ हजार ८ सय ७० भवनहरू क्षतिग्रस्त वा पूर्ण रूपमा ध्वस्त भएका छन्। सबैभन्दा बढी प्रभावित ला गुएरा राज्यमा खाद्यान्न अभाव र सञ्चार सम्पर्क विच्छेद भएको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रवक्ता क्रिस्टियन लिन्डमेयरले त्यहाँ स्वास्थ्य सेवा चरम दबाबमा रहेको र दादुरा तथा भ्यागुते रोग जस्ता महामारी फैलिने जोखिम उच्च रहेको चेतावनी दिएका छन्।
यसैबीच अमेरिका, मेक्सिकोलगायत दर्जनौं देशका अन्तर्राष्ट्रिय उद्धार टोलीहरू तालिमप्राप्त कुकुर र ठुला उपकरणसहित खोज कार्यमा जुटिरहेका छन्।
राष्ट्रसंघका अनुसार औषधि तथा आपतकालीन स्वास्थ्य सामग्रीसहितको ४७ टन राहत सामग्री भेनेजुएला आइपुगेको छ।
पहिचान भएका मृतकको अन्त्येष्टि सुरु भइसकेको छ भने अझै सयौं परिवार आफ्ना बेपत्ता आफन्तको पर्खाइमा छन्। ला गुएरा बन्दरगाहको अस्थायी शवगृहमा आफ्ना परिवारका सदस्यहरूको शव पहिचान गर्न पर्खिरहेका विल्कर मोलालाले पीडा पोख्दै भने, ‘हाम्रो परिवारमा ११ जना थियौं। हामी काममा गएका कारण म र मेरो भाइ मात्र बाँच्यौं, बाँकी सबै गुमायौं।’
प्रकाशित: १७ असार २०८३ १६:४९ बुधबार





