दक्षिणी अफ्रिकी मुलुक जिम्बाब्वेमा चर्चका सदस्य बोकेको मिनीबस र मालवाहक ट्रक आपसमा ठोक्किँदा २७ जनाको मृत्यु भएको प्रहरी प्रवक्ताले शनिबार बताएका छन्। यो दुर्घटना पछिल्ला दिनमा जिम्बाब्वेमा भएका सडक दुर्घटनाको शृङ्खलाकै अर्को घटना हो।
प्रहरी प्रवक्ता पल न्याथीका अनुसार शुक्रबार राति सम्मेलनमा सहभागी हुन जाँदै गरेका चर्चका सदस्य सवार मिनीबस चिभु सहरनजिकै ट्रकसँग ठोक्किएको थियो। राजधानी हरारेबाट करिब १३२ किलोमिटर दक्षिणमा पर्ने मुख्य राजमार्गमा अर्को सवारीसाधनलाई उछिन्ने क्रममा ट्रक मिनीबससँग ठोक्किएको उनले विज्ञप्तिमार्फत बताएका छन्।
सरकारी प्रसारण संस्था ‘जेडबीसी न्युज’का अनुसार २३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्यको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।
स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनापछि मिनीबसमा आगलागी हुँदा जलेर पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। न्याथीले दुवै सवारीसाधनमा रहेका यात्रुको सङ्ख्या यकिन हुन नसकेको बताएका छन्। दुर्घटनामा मृत्यु हुनेहरू सेतो पोसाक लगाउने परम्पराका लागि परिचित अफ्रिकाको एक लोकप्रिय स्थानीय क्रिश्चियन सम्प्रदायका सदस्य रहेको बताइएको छ।
जिम्बाब्वेमा क्षमताभन्दा बढी यात्रु बोकेका बस तथा मिनीबस र नियमनबाहिर रहेका ट्याक्सी दुर्घटनामा पर्ने गरेका छन्। तीव्र गति, लापरबाहीपूर्वक सवारी चलाउने प्रवृत्ति तथा सडकको खराब अवस्थालाई दुर्घटनाका प्रमुख कारण मानिन्छ। जिम्बाब्वेका अधिकारीहरूका अनुसार देशमा हुने सडक दुर्घटनामध्ये करिब ९४ प्रतिशत मानवीय त्रुटिका कारण हुने गरेका छन्।
संयुक्त राष्ट्रसङ्घको अफ्रिकाका लागि आर्थिक आयोगका अनुसार अफ्रिकामा सडक दुर्घटनामा परी वार्षिक करिब तीन लाख मानिसको मृत्यु हुने गरेको छ। यो विश्वभर सडक दुर्घटनाबाट हुने कुल मृत्युको करिब एक चौथाइ हो। आयोगका अनुसार अफ्रिकामा सडक दुर्घटनाबाट हुने मृत्युदर विश्वमै सबैभन्दा उच्च छ।
करिब एक दशमलव पाँच अर्ब जनसङ्ख्या रहेको अफ्रिकी महादेशमा विश्वभर सञ्चालनमा रहेका कुल सवारीसाधनको करिब तीन प्रतिशत मात्रै रहेको भए पनि सडक दुर्घटनाबाट हुने मृत्युको दर उच्च रहेको आयोगले जनाएको छ।
प्रकाशित: १३ भाद्र २०८३ १६:५३ शनिबार




-600x400.jpg)
