युक्रेनको जापोरिज्जिया क्षेत्रमा मानवीय सहायता वितरण भइरहेको विद्यालयमा रुसी हवाई आक्रमण हुँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ।
युद्धविराम सकिएको केही घण्टामै भएको आक्रमणले शान्तिको आशा कमजोर बनाएको युक्रेनले जनाएको छ।
रुसी नियन्त्रणमा रहेको ओलेस्की सहरमा मानवीय सहायता पुर्याउन गत मंगलबारदेखि सुरु भएको युद्धविराम आइतबार समाप्त भएको थियो।
सन् २०२२ मा रुसले आक्रमण सुरु गरेयता यो दुई देशबीचको सबैभन्दा लामो युद्धविराम थियो। युक्रेनी अधिकारीहरूका अनुसार युद्धविराम सकिएलगत्तै जापोरिज्जियाको एउटा गाउँमा रुसी सेनाले पटकपटक हवाई आक्रमण गरेको थियो।
त्यसबेला स्थानीय विद्यालयमा सहायता लिन मानिसहरू भेला भएका थिए।
मृतकमध्ये दुई उद्धारकर्मी र चार प्रहरी अधिकारी रहेको कार्यवाहक क्षेत्रीय गभर्नर मिखाइलो सेमिकिनले बताए।
राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सहायता लिन पुगेका मानिसमाथि पहिलो आक्रमणपछि आश्रयस्थललाई लक्षित गरी पुनः बमबारी गरिएको बताए।
मृत्यु हुने उद्धारकर्मीमा ४४ वर्षीय डेनिस कोनोभालेन्को र ओलेक्सी सुशेभस्की रहेको आपत्कालीन सेवाले जनाएको छ।
अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको मध्यस्थतामा भएको ओलेस्कीको मानवीय सहायता अभियानमा रुस र युक्रेनका मानव अधिकार अधिकारीहरूले सहकार्य गरेका थिए।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले अभियान सफल भएको बताउनुभए पनि तत्काल अर्को अभियानको योजना नरहेको जनाए।
युक्रेनले युद्धविरामका बेला रुसले आफ्नो सैन्य स्थिति बलियो बनाएको आरोप लगाएको छ। युद्धविराम थप्ने युक्रेनको प्रस्ताव रुसले अस्वीकार गरेको थियो।
पेस्कोभले भने युद्धविरामको समय सैन्य पुनःसमूहबद्धीकरणमा प्रयोग गर्नु सामान्य अभ्यास भएको बताए।
यसैबीच, अमेरिकी विशेष दूत स्टिभ विटकफका अनुसार रुस–युक्रेनबीचको अमेरिकी नेतृत्वमा भइरहेको वार्ता नोभेम्बर १० र ११ मा अबु धाबीमा पुनः सुरु हुनेछ।
युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दबाब दिए पनि ठोस उपलब्धि हुन सकेको छैन। ट्रम्प मस्कोको पक्षमा झुक्न थालेको भन्दै युक्रेन र उसका युरोपेली सहयोगीहरू चिन्तित छन्।
युद्धविराम समाप्त भएको केही घण्टापछि रुस र युक्रेनका आपत्कालीन सूचना दिने मोबाइल एपहरूमा साइबर आक्रमण भएको दुवै देशले जनाएका छन्।
युक्रेनले लाखौँ मानिसलाई विकिरणको जोखिमबारे गलत सूचना पठाइएपछि आफ्नो हवाई आक्रमण चेतावनी प्रणालीमा अनधिकृत पहुँच भएको आशङ्का गरेको छ।
रुसले पनि आफ्नो आपत्कालीन अवस्था मन्त्रालयसँग सम्बन्धित एप ह्याक भएको जनाएको छ।
यस वर्ष रुसले युक्रेनमाथिको आक्रमण तीव्र बनाउँदै ब्यालिस्टिक क्षेप्यास्त्र र तीव्र गतिका जेट इन्जिनयुक्त ड्रोन प्रयोग गरिरहेको छ। यस्ता हतियार रोक्न कठिन हुने बताइएको छ।
प्रकाशित: १७ कार्तिक २०८३ १४:०८ मंगलबार





