७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

पछिल्लो दुई हप्तामा जम्मु र काश्मिरमा छ जना उच्च कमाण्डरसहित २२ आतंककारी मारिएको दाबी

भारतीय सुरक्षा निकायले जम्मु तथा काश्मिरमा जारी राखेको आतंककारीविरुद्धको कारबाहीका क्रममा गएको दुई हप्तायता मात्र कम्तीमा पनि २२ जना आतंककारी मारिएको भारतीय सेनाले जनाएको छ।

यस अवधिमा यहाँका आतंककारीका विरुद्धमा भारतीय सेनाले व्यापक मात्रामा कारबाही गरिरहेको बताएको छ। साथै भारतीय सेनाले यस दुई हप्ताको समयमा उक्त क्षेत्रमा विभिन्न आतंककारी संगठनका गरी कम्तीमा पनि छ जना उच्च कमाण्डर पनि मारिएको बताएको छ।  

यसअघि सोमबार मात्र पनि भारतीय सेनाले उक्त क्षेत्रमा गएको छ महिनाभन्दा लामो समयदेखि आतंकारीका विरुद्धमा कडा काराबाही जारी राखेको र त्यस क्रममा कम्तीमा पनि ९३ जना आतंककारीहरु मारिएको बताएको थियो।  

भारत प्रशासित जम्मु र काश्मिरका प्रहरी प्रमुख दिलबाग सिंहले भारतीय सेना र प्रहरीले गरेको यस संयक्त कारबाहीका क्रममा ती आतंककारी मारिएका जानकारी दिएका छन्।  

साथै उनले त्यसमा आतंककारी संगठनका केही उच्च कमाण्डरहरु पनि रहेको जानकरी दिए। भारतीय सैनिक स्रोतले दिएको जानकारी अनुसार सो क्षेत्रमा अहिले पनि आतंककारी विरुद्धको कारबाही जारी रहेको छ।  

त्यसैगरी गएको शनिबार यता मात्र यहाँ भारतीय सुरक्षा निकायले गरेको कारबाहीमा नौजना आतंककारी मारिएको पनि बताइएको छ। यस कारबाहीमा जैस ए मोहमद, लस्कर ए तोएबालगायतका आतंककारी संगठनका उच्च कमाण्डर पनि मारिएका बताइएको छ।  

ती आतंककारी भारतीय तथा विदेशी समेत रहेको पनि सो समाचारमा जनाइएको छ। यस कारबाहीका क्रममा भारतीय सुरक्षा निकायका सदस्यहरुलाई भने कुनै क्षति नपुगेको अधिकारीहरुले जनाएका छन्।

प्रकाशित: २७ जेष्ठ २०७७ ०९:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App