बिरालो पाल्ने विषयलाई लिएर परिवारसँग विवाद भएपछि एक २३ वर्षीया डाक्टरले आत्महत्या गरेकी छन्।
बिरालो पाल्न परिवारले अस्वीकार गरेपछि सदस्यहरूसँग बारम्बार झगडा हुने गरेको र सोही तनावका कारण उनले यस्तो कदम चालेको बताइएको छ। घटना भारतको हैदराबादमा शुक्रबार साँझ भएको हो। जानकारी अनुसार सो समयमा टी प्रिन्सी उर्फ श्रेष्ठका रूपमा चिनिने ती डाक्टर घरमा एक्लै थिइन्।
प्रिन्सी आफ्नी आमा कुसुमलता र हजुरआमासँग बस्दै आएकी थिइन्। केही हप्ता अघि उनले घरमा एउटा बिरालो ल्याएकी थिइन्। तर त्यसपछि उनलाई निरन्तर रुघाखोकीको समस्या देखिन थाल्यो। बिरालोका कारण स्वास्थ्यमा समस्या देखिएपछि परिवारले उनलाई बिरालो पाल्न हुँदैन भनेका थिए। सोही कारणले गर्दा उनीहरूबिच बारम्बार भनाभन र झगडा हुने गरेको थियो।
शुक्रबार साँझ डाक्टरकी आमा र हजुरआमा कुनै कामले घरबाहिर गएको समयमा यो घटना भयो। उनीहरू घर फर्किँदा प्रिन्सीलाई आफ्नै कोठाको सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला पारेका थिए। परिवारले छिमेकीहरूलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो। प्रहरीले शवलाई पोस्टमार्टमका लागि स्थानीय गान्धी अस्पतालको शव गृहमा लगेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।
घटनाका बारेमा जानकारी दिँदै अलवालका उपनिरीक्षक देवेन्द्रले भने, ‘आमाले हामीलाई प्रिन्सीले घरमा घरपालुवा बिरालो ल्याएको बताइन्। त्यसपछि उनलाई रुघाखोकी र खोकीका लक्षणहरू देखा परे, जसले गर्दा उनीहरूबिच बारम्बार झगडा हुन थाल्यो।’ डाक्टरकी आमाले दिएको उजुरीको आधारमा प्रहरीले अहिले शंकास्पद मृत्युको मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ।
प्रारम्भिक अनुसन्धानले घरेलु झगडाका कारण आत्महत्या भएको देखाए पनि प्रहरीले सबै सम्भावित कोणहरूबाट जाँच गरिरहेको बताएको छ। प्रिन्सीले हालै मात्र आफ्नो मेडिकल डिग्री पूरा गरेकी थिइन्। उनी स्नातकोत्तर प्रवेश परीक्षाको तयारीमा थिइन्। उनी आफ्नो मेडिकल लाइसेन्सका लागि आवेदन दिने प्रक्रियामा समेत रहेको अधिकारीहरूले बताएका छन्।
प्रकाशित: ९ चैत्र २०८२ ११:३३ सोमबार





