युरोपेली संघको कार्यकारी आयोगकी प्रमुख उर्सुला भन डेर लेयेनले जुलाईपछि कैभमाथि भएको रुसको सबैभन्दा घातक आक्रमणप्रति आक्रोश प्रकट गरेकी छन्। यस आक्रमणले युक्रेनको राजधानीमा रहेको ईयूको प्रतिनिधि कार्यालय समेत क्षतिग्रस्त भएको छ।
युक्रेनी अधिकारीहरूका अनुसार कम्तीमा २३ जनाको ज्यान गएको छ, जसमा चार बालबालिका पनि रहेका छन्, र दर्जनौँ घाइते भएका छन्।
आक्रमणमा पाँच तले आवासीय भवन ध्वस्त भयो भने ईयू मिशन र नजिकैको ब्रिटिश काउन्सिलको भवन समेत क्षतिग्रस्त भयो।भन डेर लेयेनले कडा भाषामा प्रतिक्रिया दिंदै भनिन्, ‘रुसी क्षेप्यास्त्र ईयू प्रतिनिधि कार्यालय नजिकै खस्यो। दुई क्षेप्यास्त्र ५० मिटर टाढा २० सेकेन्डको अन्तरालमा खसेका हुन्।’
युक्रेनी सेनाले रुसले करिब ६ सय ड्रोन र ३० भन्दा बढी ब्यालेस्टिक तथा क्रुज मिसाइल प्रहार गरेको जनाएको छ। यो यस महिनाको राजधानीमाथिको सबैभन्दा ठूलो आक्रमण हो।
प्रकाशित: १३ भाद्र २०८२ ०७:२० शुक्रबार





