सुडानको पश्चिमी डार्फर क्षेत्रस्थित न्यालाको बजारमा सोमबार राति भएको ड्रोन हमलामा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन्।
चिकित्सा स्रोत र प्रत्यक्षदर्शीले मंगलबार एएफपीलाई दिएको जानकारीअनुसार अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) को मुख्य आधार रहेको न्यालाको बजारलाई लक्षित गरी आक्रमण गरिएको हो।
न्यालाका एक बासिन्दाका अनुसार सोमबार राति ८ बजे सहरको उत्तरी भागमा रहेको बजारमा ड्रोन प्रहार भएको थियो।
अर्का स्थानीय बासिन्दाले उक्त बजारमा युवाहरू र विशेषगरी आरएसएफका लडाकूहरू आउने गरेको बताए।
न्याला अस्पतालका एक चिकित्सकले आक्रमणमा २१ जनाको मृत्यु भएको र ४० जनाभन्दा बढी घाइते भएको पुष्टि गरेका छन्।
तर, मृतक तथा घाइतेमध्ये कति जना आरएसएफका लडाकू थिए भन्ने यकिन हुन नसकेको उनले बताए।
सुडानी सेनाले सन् २०२३ को अप्रिलदेखि आरएसएफसँग युद्ध लड्दै आएको छ। सेनाले न्यालामा नियमित आक्रमण गर्दै आएको छ।
आरएसएफले न्यालालाई आफ्नो मुख्य आधार बनाउँदै खार्तुमस्थित अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको विकल्पमा छुट्टै सरकार घोषणा गरेको छ।
सुडानमा जारी युद्धमा पछिल्लो समय ड्रोनको प्रयोग व्यापक बनेको छ। दुवै पक्षले देशका विभिन्न क्षेत्रमा ड्रोनमार्फत आक्रमण गर्दा एकैपटक दर्जनौँ सर्वसाधारणको ज्यान जाने गरेको छ।
संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार अक्टोबरका पहिलो तीन सातामै ड्रोन हमलामा ३०० भन्दा बढी मानिस मारिएका छन् भने सयौँ घाइते भएका छन्।
सन् २०२३ मा युद्ध सुरु भएयता दुई लाखभन्दा बढी मानिसको मृत्यु भएको सहायता क्षेत्रमा कार्यरत व्यक्तिहरूको अनुमान छ।
युद्धले सुडानमा विश्वकै सबैभन्दा ठूलो भोकमरी र विस्थापन सङ्कटसमेत निम्त्याएको छ।
प्रकाशित: १० कार्तिक २०८३ १७:५५ मंगलबार




-600x400.jpg)
