क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमले पूर्वउपराष्ट्रपति कमला ह्यारिसले सन् २०२८ को अमेरिकी राष्ट्रपति चुनावमा उम्मेदवारी दिए आफू पनि उम्मेदवारी नदिने बताएका छन्।
सीएनएनसँग कुरा गर्दै न्यूसमले ह्यारिस उम्मेदवार बने आफू राष्ट्रपति पदको दौडमा सहभागी नहुने बताएका हुन्। ‘ह्यारिसले उम्मेदवारी दिइन् भने म उम्मेदवारी दिन्नँ। म उनीसँग त्यस्तो प्रतिस्पर्धा गर्न चाहन्नँ र सबैको समय बर्बाद गर्न चाहन्नँ,’ उनले भने।
ह्यारिस र आफूबिच ठुलो मात्रामा एउटै राजनीतिक समर्थक र सञ्जाल रहेको न्यूसमले बताए। दुई जनाबिच प्रतिस्पर्धा हुँदा डेमोक्र्याटभित्रै समर्थक विभाजित हुन सक्ने उनको भनाइ थियो। ‘निर्वाचनका हिसाबले यो अरू सबैका लागि उपहार हुनेछ। उनीहरूले यसको फाइदा उठाउनेछन्। यसले कुनै ठुलो उद्देश्य पूरा गर्दैन,’ उनले भने।
तर ह्यारिसले उम्मेदवारी नदिए आफू राष्ट्रपति पदका लागि अघि बढ्ने सम्भावना रहेको संकेत पनि न्यूसमले दिए। सन् २०२८ को चुनावमा आफू उम्मेदवार बन्ने वा नबन्ने विषयमा भने उनले अहिलेसम्म अन्तिम निर्णय गरेका छैनन्।
यसैबिच, ह्यारिसले पनि सन् २०२८ को राष्ट्रपति चुनावमा उम्मेदवारी दिने वा नदिनेबारे स्पष्ट निर्णय गरेकी छैनन्। ह्यारिसले आफ्नो निर्णयका लागि आफ्नै समय तालिकाअनुसार अघि बढ्ने संकेत गरेकी छन्। अन्य सम्भावित डेमोक्र्याट उम्मेदवारहरू उनको निर्णय कुरिरहेका भए पनि उनले तत्काल आफ्नो योजना सार्वजनिक गरेकी छैनन्।
ह्यारिसले आगामी मध्यावधि चुनावमा केही डेमोक्र्याट उम्मेदवारका लागि प्रचार गर्ने कार्यक्रम भने बनाइरहेकी छन्। उनको टोलीले मिशिगन र नेभाडालगायत राज्यमा कार्यक्रमको तयारी गरिरहेको छ। तर २०२८ को राष्ट्रपति चुनावलाई लक्षित गरेर उनले अहिलेसम्म ठुलो नीतिगत भाषण वा औपचारिक अभियान घोषणा गरेकी छैनन्।
न्यूसमले राष्ट्रपति पदका लागि उम्मेदवारी दिन ठुलो र स्पष्ट कारण हुनुपर्नेमा जोड दिए। सन् २०२४ मा तत्कालीन राष्ट्रपति जो बाइडेनलाई चुनौती दिएर चुनाव लड्न आफू तयार नभएको उनले याद गरे। ‘म तयार थिइनँ। तपाईंसँग पर्याप्त ठुलो कारण छैन भने तपाईं त्यहाँ हुनु हुँदैन,’ उनले भने।
आफ्नो राजनीतिक भविष्यबारे निर्णय गर्दा परिवारको सहमति पनि महत्त्वपूर्ण हुने न्यूसमको भनाइ छ। उनले आफ्ना चार छोराछोरीलाई आफ्नो सबैभन्दा महत्त्वपूर्ण प्राथमिकता भएको बताए। ‘उनीहरू सहमत छैनन् भने त्यो सुरुवात नै हुँदैन,’ उनले भने।
सार्वजनिक जीवनमा लामो समय बिताएपछि जीवनमा के महत्त्वपूर्ण छ भन्ने आफूलाई राम्रोसँग थाहा भएको न्यूसमले बताए। आफू राष्ट्रपति पदका लागि मात्र नभई केही फरक पार्न आउन चाहेको पनि उनले स्पष्ट पारेका छन्।
यसले डेमोक्र्याटिक राष्ट्रपति उम्मेदवारीको सम्भावित प्रतिस्पर्धा थप रोचक हुने देखिन्छ।
प्रकाशित: २ आश्विन २०८३ ०८:३७ शुक्रबार




-600x400.jpg)
