१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हङकङद्वारा चीनबाट आउने बिरामीको परीक्षणमा कडाई

हङकङ – हङकङले चीनबाट आउने बिरामीको स्वास्थ्य परीक्षणमा थप कडाई गरेपछि शनिबार बिहान मुख्यभूमि चीनबाट निकै कम मानिस हङ्कङ आएका छन्। घातक कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै मुख्य भूमि चीनबाट आउने सबैलाई दुई हप्ता क्वारन्टाइनमा राख्न सुरु गरेपछि आवागमनमा कमी देखिएको छ।

नयाँ व्यवस्था अनुसार चीनबाट हङकङ भ्रमणमा आउनेहरू होटेलका कोठामा वा सरकारले चलाएका केन्द्रहरूमा एक्लै बस्नुपर्नेछ। स्थानीय बासिन्दाहरू आफ्नै घरमा बस्नु पर्नेछ। नयाँ नियम उल्लंघन गरेको पाइए जरिवाना तिर्नुपर्ने र जेल जानुपर्ने बताइएको छ।

चीनमा कोरोना भाइरस संक्रमणबाट एक अमेरिकीसहित ७२२ जनाको मृत्यु भएको छ। एकजना जापानीको पनि भाइरस संक्रमणका कारण मृत्यु भएको आशंका गरिएको छ। मृतक जापानीको रोगको लक्षणमा कोरोना भाइरस संक्रमणको आशंका गरिएको तर यसको पुष्टि भने भइनसकेको बताइएको छ।

६० वर्षीय अमेरिकी नागरिकको वुहानस्थित अस्पतालमा बिहीबार निधन भएको थियो। बेइजिङस्थित अमेरिकी राजदूतावासका प्रवक्ताले त्यसको विस्तृत विवरण दिएनन्। हङकङमा २६ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी जापानी विदेश मन्त्रालयले पनि ६० वर्ष नाघेका एक जापानीको वुहानमा मृत्यु भएको जनाएको छ। उनको निधन भाइरल न्यूमोनियाबाट भएको चिनियाँ अधिकारीहरूले बताएका छन्।

चीनमा अहिलेसम्म ३५ हजार ५४६ लाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। चीन बाहिर २५ देशमा २७० जनालाई उक्त भाइरस संक्रमण भएको छ। यसअघि चीनको मूख्यभूमिभन्दा बाहिर हङकङ र फिलिपिन्समा एक–एक जनाको मृत्यु भएको थियो।

नयाँ नियम लागु गरिएपछि हङकङ आउन लाम लागेका हजारौँ देखिएका छन्। उनीहरूलाई चीनको शानजेन क्षेत्रमा जाँच कडा गरिएको छ। सीमावर्ती चिनियाँ शहर शानजेनमा दशौँ हजार मानिस शुक्रबार मध्यरातका लागि तोकिएको समयसीमाअगावै सीमा पार गर्न लाम लागेका थिए। तर, शनिवार बिहानसम्म शान्जेनस्थित बन्दरगाह पार गर्न थोरै मानिस आएका थिए।

शुक्रवार विश्व स्वास्थ्य संगठनले चीनमा दुई दिनमा संक्रमण हुने संख्या सार्वजनिक गरिएपछि सकारात्मक रूपमा लिइएको बताएको छ। तर, डब्लुएचओका महानिर्देशक टेड्रोस अडनम गेब्रेयेससले घटेको संख्याबारे धेरै विश्लेषण गर्न अनावश्यक रहेको बताए।

उनले सञ्चारकर्मीहरूलाई कोरोना भाइरस प्रकोपले विश्वव्यापीरूपमा औषधीजन्य वस्तुहरू, गाउन, मास्क र पञ्जाहरूको अभाव भएको बताए। गेब्रेयेससले भने, ‘जब बस्तु कम उपलब्ध हुन्छ र माग बढी हुन्छ त्यसबेला झन धेरै जम्मा पार्ने र चर्को मूल्यमा बिक्री गर्ने नराम्रो प्रवृत्ति देखा पर्न सक्छ।’

उनले यस्ता वस्तु उपलब्ध गराउने व्यवसायीलाई नाफा बढाउने उपाय खोज्न भन्दा मानवीयता जोगाउन आग्रह गरेका छन्। डब्लुएचओको नयाँ तथ्यांक अनुसार १७ हजार संक्रमितमध्ये ८२ प्रतिशतमा मध्यम प्रभाव परेको, १५ प्रतिशतमा नराम्रो प्रभाव परेको र तीन प्रतिशत गम्भीर जोखिममा परेको पाइएको छ।

प्रकाशित: २६ माघ २०७६ ०३:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App