१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी चुनावः डेमोक्याट्रिक प्रतिद्वन्द्वीहरूको आयोवामा चुनावी अन्तिम प्रचार

क्लिन्टन (एएफपी) – आगामी नोभेम्बरको अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पलाई चुनौती दिन डेमोक्याट्रिक पार्टीका तर्फबाट उम्मेदवार हुन चाहनेहरू आयोवा राज्यमा केन्द्रित भएका छन्। खासगरी आयोवा राज्यबाट पहिलो चुनावी अभियान सुरु हुन लागेकाले पनि सबैको ध्यान आयोवातर्फ केन्द्रित भएको हो। अमेरिकी राष्ट्रपतिको उम्मेदवार हुन चाहने चार जना सिनेटर सोमबार राष्ट्रपति ट्रम्प विरुद्धको महाभियोगसम्बन्धी बहसबाट विश्राम लिएर आयोवामा चुनावी प्रचारमा जुटेका छन्। अमेरिकी माथिल्लो सदन सिनेटले ट्रम्पविरुद्ध डेमोक्याट्रिक पार्टीले ल्याएको ‘शक्तिको दुरुपयोग र न्यायमा अवरोध’सम्बन्धी महाभियोगमा पर्याप्त आधार प्रमाण नरहेको जनाएसँगै डेमोक्याट्रिक पार्टीका तर्फका सबै सिनेटर अन्तिम मिनेटको चुनावी प्रचार अभियानका लागि आयोवा पुगेका हुन्।

चुनावी सर्वेक्षणले डेमोक्याट्रिक उम्मेदवारहरूबीच राज्यमा कडा प्रतिस्पर्धा हुने देखाएको छ। मुख्य प्रतिस्पर्धी ठानिएका पूर्वउपराष्ट्रपति जो बाइडेनले यसै साता राज्यका कुनाकाप्चासम्म बसयात्रा सम्पन्न गरेका छन्। उनी आयोवा राज्यमा शीर्ष स्थान हासिल गर्न सके अन्य राज्यमा चुनावी नतिजा आफ्नो पक्षमा पार्न सक्ने सोचाइमा छन्। इन्डियानाका पूर्वमेयर पिट बुटिगिग पनि जो बाइडेनझैं गल्ली–गल्लीमा दौडिरहेका छन्। बुटिगिग अहिले ७७ वर्षीय बाइडेनलाई उठाएर जोखिम मोल्ने समय होइन भन्दै पार्टीका सदस्य मतदातालाई आफूतिर आकर्षित गर्न कम्मर कसेर लागिरहेका छन्। बाइडेनभन्दा झन्डै आधा उमेरका ३८ वर्षीय बुटिगिगले आयोवाको क्लिन्टन सहरस्थित मासोनिक टेम्पलमा शुक्रबार ठूलै जनसमूहलाई सम्बोधन गर्दै भने, ‘मेरो तर्क छ, अहिले पुराना र उमेर ढल्केका व्यक्तिलाई उठाएर जोखिम लिने समय होइन।’

नोभेम्बरको चुनावमा ट्रम्पलाई कसले चुनौती दिन्छ भनेर अहिल्यै आँकलन गर्न कठिन छ। तर, पार्टीभित्र न्यून समर्थन प्राप्त गर्नेहरू सोमबार रातिको मतपरिणामसँगै बाहिरिन थाल्नेछन्। पूर्वसांसद जोन डेलानीले शुक्रबार नै उम्मेदवारी त्यागेको घोषणा गरेका छन्।

अद्यपी अझै ११ जना उम्मेदवारहरू यस दौडमा रहेका छन् र धेरैले आयोवाका मतदातालाई आकर्षित गर्न र विजयी हुन खोजिरहेका छन्। यस चुनावमा राम्रो नतिजाका साथ आगामी फेब्रुअरी ११ मा न्यू ह्याम्पसायरमा हुने दोस्रो चुनावी प्रतिस्पर्धामा भाग लिने सबै उम्मेदवारको चाहना छ। मतसर्वेक्षणमा आयोवामा बाइडेन र बुटिगिगभन्दा झिनो मतान्तरले अगाडि रहेका सिनेटर बर्नी स्यान्डर्स, चौथो स्थानकी प्रगतिशील सेनेटर एलिजाबेथ वारेन र पाँचौं स्थानकी सिनेटर एमी क्लोबुचरले अन्तिम क्षणको चुनावी प्रचारलाई तीव्र बनाएका छन्।

दुई सातादेखि सिनेटरहरू प्रचारमा लागेका छन्। तर, सिनेटमा महाभियोगको बहसका कारण उनीहरू हाँहरुका हात बाँधिएका थिए।

उनीहरूको पक्षबाट परिवारका सदस्य, आफन्त र पार्टीका अरु सदस्य एवं सांसद चुनावी प्रचारमा खटिएका छन्। तीमध्ये एक हुन्, ७८ वर्षीय बर्नी स्यान्डर्स। उनी डेमोक्याट्रिक पार्टीका तर्फबाट सबैभन्दा पाका उमेरका उम्मेदवार हुन्। तर, युवा पुस्ताको सर्वाधिक समर्थन उनलाई नै रहेको देखिएको छ।

प्रकाशित: २१ माघ २०७६ ०३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App