२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोरोना भाइरसः विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

फाइल तस्बिर

काठमाडौं - नयाँ कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ। एक हप्ताको अन्तरमा कोरोनाभाइरसबाट संक्रमितको सङ्ख्या १० गुणा वृद्धि भएपछि डब्लुएचओले आपतकाल घोषणा गरेको बीबीसीले जनाएको छ।

कमजोर स्वास्थ्य प्रणाली भएका देशहरूमा यसको प्रकोप महामारीका रुपमा फैलिन सक्ने भय रहेको डब्लुएचओले जनाएको छ। यो भाइरसको संक्रमण विश्‍वभर दुई दर्जन मुलुकमा फैलिइसकेको बीबीसीले जनाएको छ। कोरोना भाइरसले चीनमा अहिलेसम्म २१३ जनाको मृत्यु भइसकेको छ।

तर चीनबाहेक अन्य देशमा कोरोना भाइरसका कारण ज्यान गएको छैन। धेरैजसो चीनको वुहान क्षेत्रबाट विदेश गएकाहरु नै प्रभावित भएका छन्। भारतमा बिहीबार मात्रै एकजनामा कोरोना भाइरस देखा परेको थियो।

अमेरिका, जर्मनी, जापान, भियतनामलगायतका मुलुकमा पनि कोरोना भाइरसका बिरामी फेला परेको बीबीसीमा जनाइएको छ। अस्ट्रेलियामा यसका सात बिरामी भेटिएका छन्। तीमध्ये सात जना चीनको वुहानबाट आएका हुन्। प्रभावितहरूको सिड्नी, मेलबर्न र गोल्ड कोस्टस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सबैभन्दा पछाडि भेटिएका ४४ वर्षीय बिरामी वुहानबाटै आएका हुन्। उनको अवस्था स्थिर रहेको जनाइएको छ।

कम्बोडियाको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ गत सोमबार पहिलो पटक कोरोना भाइरस संक्रमित बिरामी भेटिएका हुन्। संक्रमित बिरामी वुहानबाट आएका ६० वर्षीय पुरुष हुन्। हङकङमा अहिलेसम्म १० जनामा कोरोना भाइरसको पुष्टि भएको छ। तीमध्ये ६ जना चिनियाँ सहर वुहानबाट हङकङ छिरेका थिए।

भारतको दक्षिणी क्षेत्रमा पर्ने केरलामा कोरोनाको पहिलो बिरामी बिहीबार भेटिएको अधिकारीले पुष्टि गरेका छन्। ती व्यक्ति वुहान विश्वविद्यालयका विद्यार्थी हुन् भने उनलाई अहिले अस्पतालमा छुट्टै राखेर उपचार गराइएको छ। अधिकारीका अनुसार उनको अवस्था अहिले स्थिर रहेको छ र नजिकबाट नियालिएको छ।

जापानका स्वास्थ्य अधिकारीले बिहीबार दिएको जानकारी अनुसार अहिलेसम्म ११ जना कोरोना भाइरसका विरामी दर्ता भएका छन्। तीमध्ये दुई जना मानिसबाट मानिसमा सरेर बिरामी भएका हुन्। वुहानबाट पर्यटक लिएर आएको बसका चालक र पर्यटक पथप्रदर्शक पनि बिरामी भएका छन्।

मकाउ चिनियाँ पर्यटकका लागि लोकप्रिय पर्यटकीय केन्द्र मानिन्छ। यहाँ मंगलबारसम्म सात जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ। मलेसियामा बिहीबार थप एक जना गरी अहिलेसम्ममा कुल आठ जनामा यस भाइरसको संक्रमण देखिएको छ। उनीहरू सबै चिनियाँ नागरिक रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीले जानकारी दिएका छन्।

नेपालमा चीनको वुहानबाट आएका ३२ वर्षीय एक युवामा कोरोना भाइरसको संक्रमण भएको बताइएको छ। उनलाई पर्याप्त परीक्षण र उपचार गरेर अस्पतालबाट फिर्ता पठाइएको छ। फिलिपिन्समा बिहीबार नै यस रोग लागेका पहिलो बिरामी भेटिएका छन्। ३८ वर्षीया ती महिला वुहानबाट आएकी हुन्। उनमा ठूलो समस्या भने नरहेको पाइएको छ। उनी जनवरी २१ मा फिलिपिन्स आएकी थिइन्। उनलाई चार दिनसम्म अस्पतालमा परीक्षण र उपचार गराइएको थियो।
चीनको छिमेकी मुलुक सिंगापुरमा अहिलेसम्म १० जना कोरोनाका बिरामी रहेका छन्। उनीहरू सबै जना वुहानबाटै आएका हुन्।

दक्षिण कोरियाका संचार माध्यमका अनुसार देशभर अहिलेसम्म चार जनामा यो रोगको संक्रमण भएको त्यहाँका अधिकारीले पुष्टि गरेका छन्। तीमध्ये तीन पुरुष र एक महिला छन् भने उनीहरू सबैजना वुहानबाट आएका हुन्।
श्रीलंकामा गत सोमबार पहिलो पटक एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। ती व्यक्ति ४३ वर्षीय चिनियाँ पर्यटक हुन्। उनी चीनको हुबेई प्रान्तबाट श्रीलंका आएको अधिकारीले जनाएका छन्।

ताइवानमा आठ जनामा यो रोग देखिएको छ। तीमध्ये दुई जना चिनियाँ महिला छन्। एउटा पर्यटकको टोलीका साथ उनीहरू ताइवान आएका थिए। थाइल्यान्डले आफ्नो देशमा १४ जनामा कोरोना भाइरसको संक्रमण भएको घोषणा गरेको छ। यो संख्या चीनबाहेक अन्य देशमा भेटिएका संक्रमितमध्ये सबैभन्दा धेरै हो।

स्वास्थ्य अधिकारीका अनुसार तीमध्ये ६ जना चिनियाँ पर्यटक हुन्। उनीहरू वुहानबाटै आएका एउटै परिवारका व्यक्ति रहेका छन्। उनीहरू ६ वर्षदेखि ७० वर्षसम्मका रहेको अधिकारीहरूले जनाएका छन्। भियतनाममा पनि दुई जनामा यो रोग देखिएको छ। संक्रमितमध्ये एक पुरुष चीनका हुन्। उनी मिन्ह सहर हुँदै यही महिनाको सुरुमा वुहानबाट आएका हुन्। उनीबाटै उनका छोरामा त्यो भाइरस सरेको हुनसक्ने सम्भावना रहेको बताइएको छ।

क्यानडामा दुई जनामा कोरोना भाइरस देखिएको पुष्टि गरिएको छ। अर्का एक जनामा पनि सो भाइरस भएको आशंकामा परीक्षण भइरहेको छ। स्वास्थ्य अधिकारीका अनुसार अमेरिकामा अहिलेसम्म पाँच जनामा यो रोगको संक्रमण पुष्टि भएको छ। उनीहरू सबै जना हालै वुहानबाट आएका हुन्। उनीहरूमध्ये दुई जना क्यालिफोर्निया भेटिएका हुन् भने अरु एक–एक जना अरिजोना, सिकागो र वासिंटन राज्यमा देखिएका हुन्।

चीनको वुहानबाट आएका एक जना पर्यटकमा बुधबार कोरोना भाइरसको संक्रमण देखिएको फिनल्यान्डका स्वास्थ्य अधिकारीले बताएका छन्। ती व्यक्तिलाई अहिले अस्पतालमा छुट्टै राखेर विशेष उपचार भइरहेको छ। फ्रान्समा अहिलेसम्म पाँच जनामा यो रोगको संक्रमण देखिएको छ। युरोपेली देशमध्ये फ्रान्समा नै पहिलो पटक यो रोगको संक्रमण पुष्टि भएको हो। सबैभन्दा पछाडि एक जना चिनियाँ पर्यटकको छोरीमा पनि यो देखिएको छ। उनको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको अधिकारीले जनाएका छन्।

जर्मनीमा अहिलेसम्म चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो मानिसबाट मानिसमा सरेको पाइएको छ। चिनियाँ साथीहरूले आयोजना गरेको एउटा तालिममा सहभागी भएका एक जना ३३ वर्षीय व्यक्ति बिरामी महसुस गरेर अस्पताल गएका थिए। उनैबाट अरूलाई सरेको चिकित्सकहरूको भनाई छ। बिरामी भएका चारै जनालाई म्युनिक अस्पतालमा छुट्टै राखेर उपचार गराइएको छ।

चीनको वुहानबाट केही दिनअगाडि आएका चार जना चिनियाँ व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भएको युएईका स्वास्थ्य अधिकारीहरूले बुधबार पुष्टि गरेका छन्।

प्रकाशित: १७ माघ २०७६ ०२:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App