१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोरोना भाइरसबाट चीनमा ८० काे मृत्यु, नियन्त्रणका लागि सयौँ स्वास्थ्यकर्मी हुबेई पुगे

बेइजिङ – चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ। चिनियाँ स्वास्थ्य अधिकारीहरुले कम्तीमा ८० जनाको मृत्यु भएको र झण्डै दुई हजार सात सय जना प्रभावित भएको जानकारी दिएका छन्। राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बिरामी हुनेको संख्या १९ सय ७५ रहेको छ। बिरामी भएका मध्ये तीन सय २४ जनाको अवस्था गम्भीर रहेको पनि आयोगले जनाएको छ।

यसबाट निको भएर करिब एक हजार जना व्यक्ति अस्पतालबाट घर फर्किएका छन्। तर, उनीहरूलाई पनि विशेष निगरानीमा राखिएको छ। उक्त संक्रमणको उत्पत्ति भएको उहान क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको पनि अधिकारीहरुले बताएका छन्। संक्रमणको प्रकोप चीनका कम्तीमा २५ प्रान्तमा फैलिएको छ भने कम्तीमा ३० शहरमा निकै डरलाग्दो तरिकाले फैलिएकाले ती सहर मा यातायात साधन चलाउन प्रतिबन्ध लगाइएको छ।

ती क्षेत्रमा विभिन्न सतर्कता अपनाइएको चीन सरकारले जनाएको छ। सरकारले देशभरीको उडान, रेल र बस सेवामा पनि उच्च सतर्कताका लागि आह्वान गरेको छ। मानिसको बढी आवतजावत हुने विमानस्थल, बसपार्क, रेल स्टेसन लगायतमा स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको छ भने जंगली जनावर र पशु ओसारपसार तथा उपभोगमा कडाई गर्न निर्देशन दिइएको छ। संक्रमणले अमेरिका, जापान, दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्यान्डमा छोइसकेको बताइन्छ।

कोरोना भाइरस युरोपमा पनि फैलिन थालेको छ। फ्रान्समा तीन जनामा कोरोना भाइरस देखिएको पुष्टि भएको छ। यस संक्रमणबाट मृत्युको घटना चीनमा मात्रै भएको छ भने त्रास संक्रमित हुनेहरू अन्य देशमा पनि भएकाले विश्वभरी नै त्रास फैलिएको छ। चिनियाँ अधिकारीले कोरोना भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि गरिसकेका छन्। यो भाइरस संक्रमण भएपछि खासगरी श्वासप्रश्वाससम्बन्धी समस्या देखिने चिकित्सकको भनाई छ। उनीहरूका अनुसार ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने यस संक्रमणपछिका लक्षण हुन्। यस भाइरसको संक्रमणपछि शरीरमा अक्सिजनको मात्रा कम हुँदै जाने पनि अर्को एक समस्या हो।

यसैबीच, संयुक्तराज्य अमेरिकाले मध्यचीनमा घातक भाइरसको केन्द्रमा फसेका अमेरिकी कर्मचारी र नागरिकलाई उद्धार गर्न विशेष विमान सेवा सुरु गर्न लागेको जनाएको छ। अमेरिकी विदेश मन्त्रालयले उहानस्थित आफ्ना कन्सुलर कार्यालयमा कार्यरत कर्मचारी र अरु अमेरिकीलाई उद्धार गर्न चीनको उहानतर्फ अमेरिकी विमान मंगलबार प्रस्थान गर्ने बताएको छ।

संक्रमण नियन्त्रणका लागि सयौँ स्वास्थ्यकर्मी हुबेई पुगे
चीनको मध्य क्षेत्रबाट फैलिएको कोरोना भाइरसका कारण प्रभावित हुनेको संख्या बढ्ने क्रम नरोकिएपछि निदानको लागि औषधी, उपकरण तथा स्वास्थ्यकर्मीसहितका थप १२ टोलीलाई हुबेई पठाएको चिनियाँ अधिकारीले जनाएका छन्।
चीनमा कोरोना भाइरसका कारण ८० जनाको मृत्यु भएको र करिब दुई हजार व्यक्तिमा संक्रमण भएको चीनले पुष्टि गरिसकेको छ। चिनियाँ अधिकारीहरूले रोग लागेका सयौँ बिरामीहरू उपचारपछि स्वस्थ पनि भइसकेका तर उनीहरूलाई अझै पनि चिकित्सकको निगरानीमा राखिएको बताएका छन्।

चीनका राष्ट्रपति सी जिनपिङले घातक कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको चेतावनी चिनियाँ नव वर्षका दिन बिदाको बेलामा आयोजित एउटा उच्चस्तरीय बैठकपछि वरिष्ठ चिनियाँ अधिकारीहरूलाई बताएका छन्। उनले देश ‘गम्भीर परिस्थिति’ मा रहेको बताए।

चिनियाँ अधिकारीहरूले लक्षण देखिनुअघि नै संक्रमित व्यक्तिबाट उक्त भाइरस अन्य व्यक्तिमा सर्ने भएकाले त्यसको नियन्त्रण गर्न एकदमै कठिन भएको बताएका छन्। चीनको राष्ट्रिय स्वास्थ्य आयोगका निर्देशक मा सियाओवेले आइतबार एक पत्रकार सम्मेलनमा भने, ‘कोरोना भाइरसको संक्रमित बिरामीको उपचारलाई थप प्रभावकारी बनाउन थप एक हजार ६ सय स्वास्थ्यकर्मीसहितका १२ समूहलाई छिट्टै प्रभावित क्षेत्रमा पठाउने तयारी भएको छ।’

माले भने, ‘आयोगले विशेषज्ञसहितको थप ९ सय स्वास्थ्यकर्मीको सात टोलीलाई हुबेई पठाइसकेको छ भने सेनाले पनि ४ सय ५० अनुभवप्राप्त स्वास्थ्यकर्मीलाई त्यसतर्फ पठाइसकेको छ।’ थप एक हजारभन्दा बढी स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको उनले बताए।

आयोगका निर्देशक माले भने, ‘हुबेईको क्षेत्रीय सरकारले कोरोना भाइरसलाई नियन्त्रण गर्न १४ करोड ३० लाख अमेरिकी डलर बजेट विनियोजन गरेको छ भने औषधी, नकाब (मास्क), पन्जा, चस्माजस्ता सुरक्षा पोशाकलगायत उपकरणहरू पनि अस्पतालको आवश्यकता अनुसार पठाएको छ।’

चीनका एक वरिष्ठ स्वास्थ्य अधिकारीले चीन अहिले कोरोना भाइरसको संक्रमण रोक्ने महत्वपूर्ण समयमा रहेको बताएका छन्। चीनको नयाँ वर्ष (वसन्त पर्व)का अवसरमा देशभर प्रदान गरिएको केही दिनको बिदा कोरोना भाइरसको संक्रमणका नियन्त्रण अभियानका लागि एक अवसर रहने चिनियाँ अधिकारीले बताएका छन्। चीनमा जनवरी २४ देखि ३० सम्मलाई बिरामीसँग घुलमिल नगर्ने तथा नगराउनका लागि सकारात्मक वातावरण बनेका उनीहरूले बताए।  
प्रयोगशालाबाट आएका पछिल्ला नतिजाहरूले कोरोना भाइरसको संक्रमण निकै डरलाग्दो प्रकारले फैलिएको देखाएका छन्। तर, यसको उग्ररूपबारे बताउन अझै धेरै अध्ययनको आवश्यकता रहने छ।
 
यो रोगका प्रभावहरू नियन्त्रण र निदान गर्न वुहानले महत्वपूर्ण भूमिका खेलिरहेको माले बताए। कोरोना भाइरसको संक्रमण अझै निमोनियाको सुरूवाती अवस्थाजस्तो रहेको छ त्यसैले मुलुकका सशर तथा ग्रामीण क्षेत्रमा पनि कडा उपायहरू अवलम्बन गर्न सकियो भने यसलाई थप फैलिनबाट रोक्न सकिने विश्वास चीनको छ।

अहिलेसम्म करिब दुई हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको चीनले पुष्टि गरेको छ। यसैबीच चीनले आगामी २० दिनभित्रमा कोरोना भाइरसको संक्रमणलाई नियन्त्रणमा ल्याउन सकिने चीनका वरिष्ठ भाइरल रोग विशेषज्ञहरूले आइतबार बताएका छन्।
     
चिनियाँ इन्जिनियरिङ एकेडेमीका सदस्य वेन युमेईले भने, ‘भाइरस सङ्क्रमण रोक्न राज्यले चालेका सबै उपायका कारण रोगलाई आगामी २० दिनमा पूर्ण नियन्त्रणमा ल्याउन सकिनेमा हामी विश्वस्त छौँ।’

‘मानव शरीर क्रमशः जीवाणुसँग प्रतिरोध गर्न सक्ने अवस्थामा पुग्छ जसका कारण कोरोना भाइरसको फैलावटलाई अन्त्य गर्न सकिने छ भने भाइरसको थप सङ्क्रमणलाई रोक्न यथेष्ट सावधानीहरू अपनाइएको छ,’ सांघाईस्थित प्रमुख मोलिकुलर भाइरोलोजी प्रयोगशालाका प्राध्यापक वेनले भने।

यसैबीच चीनले अनिश्चितकालका लागि जंगली जनावरको मासुको बिक्रीमा अस्थायी प्रतिबन्ध लगाएको छ। कोरोना भाइरसको संक्रमण सामुद्रिक जनावरको मासु बेच्ने बजारबाट देखा परेकोले पछिल्लो निर्देशन गरिएको हो।

‘सबै प्रकारका वन्यजन्तुका जातीहरू पाल्न, एक ठाउँबाट अर्को ठाउँमा लैजान वा बिक्री गर्न सूचना जारी भएको मितिदेखि लागु हुनेगरी निषेध गरिएको छ,’ सरकारी निर्देशनमा भनिएको छ।  चीनको कृषि मन्त्रालय, बजार अनुगमनका लागि राज्य प्रशासन र राष्ट्रिय वनविज्ञान तथा घाँसे मैदान प्रशासन कार्यालयले वन्यजन्तुको ओसारपसारसम्बन्धी निषेधाज्ञा जारी गरेको हो।

प्रकाशित: १३ माघ २०७६ ०१:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App