४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

‘नेपाली हुने मन छ’

ओस्लो – बेलायतका नागरिक हुन् उनी। अलेक्जेन्डर सोलोकोम्बे उनको नाम। नर्वेको ओस्लोमा बस्ने उनको मनचाहिँ नेपालमा छ। त्यसैले त अलेक्जेन्डर नामलाई परिवर्तन गरेर अलेक्स नेपाली राखेका छन्। नेपालको प्रमोसन गर्न नेपाली गीत गाउँदै गरेका भेटिन्छन् ओस्लोतिर।

संगीत बच्चैदेखिको रुचि हो उनको। सयौं अंग्रेजी गीत अलेक्जेन्डरले गाएका छन्। तर नेपाली गीत गाउन थालेको चाहिँ नेपालसँग माया बसेपछि हो। बेलायत छाडेर आफ्नी प्रेमिकासँग नर्वेमा बस्दै आएका उनी नेपालमा बस्न चाहन्छन्। केही वर्ष उनी फ्रान्समा पनि बसे। उनले भारतलगायत एसियाका मुलुकको पनि भ्रमण गरेका छन्। उनी पुगेका दर्जनौं देश र आफ्नो जन्मभूमिभन्दा प्यारोचाहिँ नेपाल लाग्छ।

‘सन् २०१२ मा घुमघामको सिलसिलामा नेपाल पुगें,’ अलेक्जेन्डरले भने, ‘त्यसयता प्रत्येक वर्ष नेपाल पुग्ने गरेको छु, किनकि मलाई संसारको प्यारो ठाउँ नेपाल लाग्छ।’ प्रत्येक वर्ष नेपालमा करिब चार महिना (भिसा अवधि) सम्म बस्छन्। नेपाल रहँदा उनी घुमघामदेखि नेपाली संस्कृतिसँग घुलमिल र गाउँगाउँमा गएर स्वयंसेवाको काम गर्छन्। ‘मलाई नेपाली संस्कृति र नेपालीहरूको स्वभाव साह्रै मन प¥यो,’ उनले भने, ‘नेपालको माया मनमा अमिट भयो।’ ४० वर्षको नजिक रहेका अलेक्जेन्डरले सन् २०१२ यता नेपालमा ४० महिनाजति बिताएका छन्। त्यो अवधिमध्ये १० महिना जति त स्वयंसेवामा वित्याएको उनी बताउँछन्।

उनी सबैभन्दा बढी समयचाहिँ पोखरा र काठमाडौंमा बित्याउँछन्। पोखरा बस्दा पोखरा चापाकोट क्षेत्रका विद्यालयमा गएर स्वयंसेवा गर्छन्। त्योबाहेक विभिन्न संघसंस्थासँग मिलेर गाउँका सामाजिक कार्यमा सक्रिय रहन्छन्। यही क्रममा हो उनलाई नेपाली संगीतप्रति रुचि भएको। काठमाडौंमा रेसम फिलिली भन्ने गीत सुने, पोखरा घुम्दा मेरी माया भन्ने गीत। एकपछि अर्को नेपाली गीत सुनेपछि उनी पनि गुनगुनाउन थाले। अहिले उनी १० भन्दा बढी नेपाली गीत गाउँछन्। त्यही गीत गाउँदै उनी भिजिट नेपालको प्रचार गर्दै विदेशका सडकमा भेटिन्छन्।

उनी सबैभन्दा बढीचाहिँ यो मन त मेरो नेपाली हो भन्ने गीत गाउँछन्। ‘मेरो मन नेपाली भइसक्यो, त्यसैले मेरो मन त नेपाली हो भन्ने गीत अत्यधिक मन पर्छ,’ उनी भन्छन्, ‘गीत मात्रै होइन, नेपाली भाषा बोल्ने रहर छ।’ नेपाल गएको अवसरमा भाषा सिक्ने लक्ष्य उनको छ। नेपाली भाषा सिक्ने मात्रै होइन, नेपाली हुन चाहन्छन्। ‘कानुनी रूपमै नेपाली हुने ठूलो धोका छ,’ उनले भने, ‘नेपालले मलाई नागरिकता दिने हो भने सबै कुरा त्यागेर नेपाली नागरिकता लिएर नेपालमै बसेर नेपालका लागि केही गर्न चाहन्छु।’ नेपाली संस्कृति, पर्यटन र संगीतको क्षेत्रमा काम गर्ने योजना उनको छ।

त्यसो त उनी विदेशमा पनि नेपालीसँग मिलेर काम गरिरहेका हुन्छन्। केही सयमअघि ओस्लोमै पनि नेपाली भेला गरेर भिजिट यिअरको प्रचार सक्रिय बनेका थिए। फ्रान्स पुगेर पनि नेपालीसँग मिलेर म्युजिक कार्यक्रम गरेर भ्रमण वर्षको प्रचार गरे। यतिबेला पनि उनी विदेश बस्ने नेपालीसँग मिलेर भ्रमण वर्षको प्रचार गर्न नेपालसम्बन्धी आफ्नै नेपाली गीतको तयारीमा छन्। भ्रमण वर्षकै प्रचारका लागि विश्व भ्रमणमा निस्कने योजनामा पनि छन्। ओस्लोमा हुने नेपाली समुदायको कुनै कार्यक्रममा छुट्दैनन्। नेपाली पर्वलाई पनि नेपाली संस्कृतिअनुरूप नै मनाउँछन्। नेपाली कार्यक्रम र पर्व मनाउँदा गर्वका साथ सामाजिक सञ्जालमा प्रचार गर्छन्। केही हप्ताअघि भारतले नेपालको नक्सा मिचेको भन्दै ओस्लोमा नेपालीहरूले भारतविरुद्ध विरोधसभाको आयोजना गरेका थिए। उक्त कार्यक्रममा भारतलाई शान्तिपूर्वक रूपमा मिचेको जमिन फिर्ता गर्न अनुरोध गरेको पर्चा बोकेर नेपाली ढाकाटोपीमा उभिएका थिए उनी।

त्यो उनको तस्बिरले नेपाली समुदायको सामाजिक सञ्जालमा खुबै चर्चा भयो। सामाजिक सञ्जालमा नेपालबारे सार्वजनिक गरेका उनका यस्तै तस्बिरले उनलाई सामाजिक सञ्जालमार्फत नेपाललाई किन मन पराउनुहुन्छ भनेर धेरैले सोध्ने गर्छन्। उनलाईचाहिँ यो प्रश्नको जवाफ दिनै गाह्रो लाग्छ। किनकि, नेपाल सबै कुराले स्वर्ग जस्तो लाग्ने र नेपाली संस्कृति तथा मान्छेको हरेका व्यवहार मन पर्ने उनी बताउँछन्। ‘नेपालजस्तो देश अरू छ जस्तो लाग्दैन,’ उनले भने, ‘म नेपालमा जन्मिन नपाएकोमा बेखुसी छु।’ तैपनि ढिलोचाँडो नेपालसँग जोडिन पाएकोमा भने उनी मक्ख छन्।

नेपालले सन् २०२० लाई भ्रमण वर्ष मनाउँदैछ। नेपालको यो महाअभियानलाई सहयोग गर्नपर्ने ठानेरै उनी विदेशका सडकमा गीत गाउन बस्छन्। यसरी गीत गाउँदा नेपालको पर्यटन प्रचारसँगै आफ्नो आत्मविश्वास बढ्ने उनको विश्वास छ। विदेशीले नेपाली गीत नबुझे पनि म्युजिकले मन्त्रमुग्ध भएर उनका वरिपरि झुमिन्छन्। नेपालबारे चासो राख्छन्। अनि उनी तिनीहरूलाई नेपालबारे बुझाएर पठाउँछन्। नेपालबारे बुझेपछि भने तिनीहरू नेपाल जान इच्छुक हुने गरेको उनले बताए। उनी पनि भ्रमण वर्षको सुरुमै नेपाल जाने तयारीका लागि भिसाको पर्खाइमा छन्। यसअघि पर्यटक भिसामा जाने उनले यसपटक बिजनेस (म्युजिसियन) भिजा अप्लाई गरेका छन्। यसपटक नेपाल गएर भ्रमण वर्षको प्रचारसँगै अन्य कामहरू गर्ने योजनामा पनि उनी छन्।

‘नेपालले मेरो जीवन परिवर्तन गरिदिएको छ,’ उनले भने, ‘त्यसैले नेपालमा केही योगदान गर्न मैले नेपालका लागि धेरै गर्नपर्ने जिम्मेवारी छ।’ पेसाले ग्राफिक्स डिजाइनर उनको आजकालको समय म्युजिक र नेपालबारे केही काम गर्ने योजना बनाउँदै बित्ने गरेको उनी बताउँछन्।

प्रकाशित: ५ माघ २०७६ ०२:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App