२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘युक्रेनी विमान खसाल्ने पक्राउ’

राजधानी तेहरानमा आयोजित प्रदर्शनका सहभागी। तस्बिर स्रोत : सामाजिक सञ्जाल

तेहरान (एजेन्सी) – युक्रेनी विमानलाई क्षेप्यास्त्र प्रहार गरी खसालेका व्यक्तिहरुलाई पक्राउ गरिएको इरानले बताएको छ।

युक्रेनी विमान खसाल्नमा सहभागी भएको आरोप लागेका व्यक्ति पक्राउ गरिएको इरानले मंगलबार बताएको हो। साथै, देशको सेनाले ‘भूलवश क्षेप्यास्त्र प्रहार भएको’ भनेर स्वीकारे गरेलगत्तै भएको प्रदर्शनमा सहभागी अन्य ३० जनालाई पनि पक्राउ गरिएको तेहरानले जनाएको छ।

युक्रेन इन्टरनेसनल एयरलाइन्सको विमानलाई गत साता खसालिएको थियो। क्षेप्यास्त्र प्रहारपछि दुर्घटनामा परेको सो विमानमा सवार चालक दलसहित सबै १ सय ७६ जनाकै मृत्यु भएको थियो।

सुरुमा विमान दुर्घटना प्राविधिक कारणले भएको जिकिर गरेको इरानले केही दिनपछि भने मानवीय त्रुटीका कारण क्षेप्यास्त्र प्रहार भएर विमान दुर्घटना भएको बताएको थियो।

सेनाको यस्तो अभिव्यक्ति बाहिरिएसँगै तेहरानलगायतका क्षेत्रमा प्रदर्शन भएका छन्। प्रदर्शनमा सहभागीले सरकारले ‘झुट बोलेको भन्दै’ विरोध प्रदर्शन गरिरहेका छन्।

सन् १९७९ इस्लामिक गणतन्त्रमा बनेपछि पहिलो पटक इरानले यो तहको प्रदर्शन भोगेको छ। अमेरिकी आक्रमणमा आफ्ना उच्च तहका सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि आक्रोशित बनेको इरानले गत बुधबार स्थानीय समयअनुसार बिहान २ बजे इराकस्थित दुईवटा अमेरिकी सैन्य आधार शिविरमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेको थियो। ती क्षेप्यास्त्र प्रहारबाट अमेरिकातर्फ मानवीय क्षति नभए पनि इरानले भने आफ्नै भूमिमा ठूलो क्षति बेहोर्नु परेको छ। इराकमा क्षेप्यास्त्र हमला गरेपछि अमेरिकाले पनि कुनै हवाई हमला गरेको होला भन्ने ठानेर इरानले ‘भूलवश हमला गरेको’ राष्ट्रपति हसन रौहानीले पनि स्वीकार गरिसकेका छन्।

अमेरिकासँग पछिल्लो टकरावपछि इरानले सन् २०१५ मा विश्वका ६ शक्तिशाली राष्ट्रसँग गरेको आणविक सम्झौतालाई नमान्ने घोषणा गरिसकेको छ। यद्यपि यस सम्झौताबाट अमेरिका सन् २०१८ मै बाहिरिएको थियो।

सम्झौताका पक्षधर बेलायत, फ्रान्स र जर्मनीले भने इरानमाथि सो सम्झौता नत्याग्न दबाब दिएको छ। यसले गर्दा इरान र युरोका शक्तिबीच कूटनीतिक समस्या आउन सक्ने देखिएको छ। युरोपका यी तीन राष्ट्रले इरानलाई चुनौती दिन ‘विवाद संयन्त्र’ लागू गरेका छन्।

इरानका उच्च सैनिक कमान्डर कासिम सुलेमानीको अमेरिकी ड्रोन हमलामा परी मृत्यु भएको १० दिनको अवधिमा तेहरानले पश्चिमा राष्ट्रबाट थुप्रै चुनौतीको सामना गर्न परिरहेको छ भने देशभित्र पनि प्रदर्शन खेपिरहेको छ।

३० वर्षभन्दा लामो समयदेखि शासन गरेका इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले पद त्याग गर्नुपर्ने मागसमेत प्रदर्शनकारीले गरिरहेका छन्।

केही स्थानका प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले व्यापक बल प्रयोग गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइरहेको छ। प्रहरीको कुटाइबाट रगताम्मे मानिस भिडियोमा देखिएका छन् भने ती भिडियोमा गोली चलेको आवाज पनि सुनिएका छन्। यद्यपि इरानी प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको भन्ने विवरण अस्वीकार गरेका छन् भने देशको न्यायालयले प्रदर्शनमा सहभागी ३० जनालाई पक्राउ गरिएको जनाएको छ। उसले ‘कानुनी प्रदर्शन’ मा सहभागीलाई प्रशासनले सहनशीलता अपनाएको जनाएको छ।

प्रदर्शनमा के कति क्षति वा घाइते भए भन्नेबारे भने यकिन गर्न गाह्रो छ किनभने इरानमा स्वतन्त्र रूपमा समाचार संकलन गर्न सिमित छ।

यसैबीच, राष्ट्रपति रौहानीले मंगलबार टेलिभिजनमार्फत सम्बोधन गरेर युक्रेनी विमान खसालेको विषयमा स्वतन्त्र अनुसन्धान हुने र दोषीमाथि कारबाही हुने पुनः दोहो-याएका छन्।

इरानी न्यायालयका प्रवक्ताले विमान खसाल्नुमा दोषी पाइएका केही व्यक्ति पक्राउ परेको बताए पनि विस्तृत विवरण भने दिएनन्।

प्रकाशित: १ माघ २०७६ ०४:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App