१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

केन्याको पहिरोमा परी मृत्यु हुनेको संख्या ६० पुग्यो

नैरोबी – केन्यामा पहिरोका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ। अत्याधिक वर्षाका कारण केन्याको उत्तरपश्चिमी क्षेत्रमा ठूलो पहिरो गएको अधिकारीले जानकारी दिएका छन्। उनीहरुका अनुसार बाढी र पहिरोमा परी अन्य सात जना अझै पनि बेपत्ता रहेका छन्। बेपत्ता भएकाको खोजी कार्य जारी रहेको अधिकारीहरुको भनाइ छ। मृत्यु भएकामध्ये कम्तीमा सातजना बालबालिका रहेका छन्। 

‘हामीले अहिलेसम्म गए रातिको जस्तो दर्दनाक घटना देखेको र भोगेको थिएनौं,’ वेस्ट पोकोटका गभर्नर जोन क्रोप लोङयाङलाई उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ। स्थानीय समयानुसार शनिबार दिउँसो दुई बजेर ३० मिनेटमा पहिरो गएको अधिकारीहरुले जानकारी दिएका छन्। युगान्डा र दक्षिण सुडान नजिकै पर्ने केन्याको सीमा क्षेत्रमा पहिरो गएको हो। पहिरोले ठूलो क्षति गरेको अधिकारीहरुले जनाएका छन्। पहिरोका कारण धेरै बाटो, पुललगायतका भौतिक संरचनाहरु भत्किएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। केन्याका राष्ट्रपति उहुरु केन्याटाले मृतकप्रति श्रद्धान्जलि व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्।

राष्ट्रपति केन्याटाले प्रकाशित गरेको शोक वक्तव्यमा पहिरोका कारण बेपत्ता भएकाको खोजी कार्य जारी राख्न र बेपत्ता तथा मृतकका परिवारलाई सहयोग गर्ने प्रतिबद्धता गरिएको छ। त्यसैगरी आगामी दिनमा यसैगरी ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिनेतर्फ अहिलेदेखि नै सतर्कता अपनाउन पनि राष्ट्रपति केन्याटाले आह्वान गरेका छन्।

केन्याका गृहमन्त्री फ्रेड मातिअङले पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतका कामहरु भइरहेको जानकारी दिएका छन्। ‘उद्धार तथा राहतको कामहरु भइहेको छ। त्यसका लागि सुरक्षाकर्मीहरुको टोली र मानवीय सहायतासम्बन्धी निकायका व्यक्तिहरु खटिएका छन्,’ उनले बताएका छन्।

प्रतिकुल मौसमका कारण खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेको उनले जानकारी दिए। थप क्षति हुनबाट बचाउने प्रयास नै अहिलेको प्राथमिकता भएको उनको भनाइ छ। प्राकृतिक स्रोत साधन र भौतिक संरचनाहरुको जथाभावी प्रयोग तथा दोहन, अत्याधिक बाटो र पुलहरुको निर्माणलगायतका कारणले पहिरो गएको विज्ञहरुले आरोप लगाएका छन्।

प्रकाशित: १० मंसिर २०७६ ०१:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App