८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कंगोमा विमान दुर्घटना, २३ को मृत्यु

गोमा – अफ्रिकी मुलुक कंगोमा आइतबार भएको विमान दुर्घटनामा परी कम्तीमा २३ जनाको मृत्यु भएको उद्धारकर्मीहरूले जनाएका छन्। धावन मार्गबाट उडान भरेको केही समयभित्र नै विमानमा प्राविधिक समस्या आएर प्रजातान्त्रिक गणतन्त्र कंगोको घना बस्तीमा खसेको थियो। विमानमा दुई चालका दलका सदस्यसहित १७ यात्रु रहेका थिए। उनीहरूलाई जीवित भेट्ने सम्भावना निकै कम भएको उद्धार कार्यका लागि घटनास्थलमा तैनाथ सुरक्षाकर्मीले बताए।

‘अहिलेसम्म २३ जनाको मृत शरीर घटनास्थलबाट निकालिएको छ,’ गोमास्थित उद्धार टोली संयोजक जोसेफ माकुन्दीले फ्रान्सेली समाचार एजेन्सी एएफपीलाई बताए। गोमा विमानस्थलका अधिकारी रिचार्ड मङ्गोलोपाले एएफपीसँगको कुराकानीमा दुर्घटनामा कुनै पनि यात्रु जीवित उद्धार गर्ने सम्भावना क्षीण रहेको बताए।

गोमाबाट उत्तरी क्षेत्रमा रहेको बेनीका लागि बिहान करिब ९ बजे उडेको ‘डोर्नियर–२२८’ विमानस्थलबाट तीन सय ५० किलोमिटर टाढा आवास क्षेत्रमा खसेको कंगोका अधिकारीहरूले पुष्टि गरेका छन्। दुर्घटनाग्रस्त विमान कम्पनी ‘बिजी बी’का हेरिटिएर सैयद मोमादाउले विमानमा दुई चालक दलका सदस्यसहित १९ जना रहेको जानकारी दिएका छन्। बिजी बीका तीन विमानले उत्तरी किभू प्रान्तका विभिन्न रूटमा सेवा दिँदै आएको थियो।

विमान कम्पनीका एक प्राविधिकले प्राविधिक समस्याका कारण विमान दुर्घटनाग्रस्त भएको बताएको स्थानीय अनलाइन एकुलेट डट कमले उल्लेख गरेको छ। विमान बस्तीमा खसेको तर त्यहाँ कतिको मृत्यु भएको वा घाइते भएको भन्ने जानकारी भने आइसकेको एएफपीले उल्लेख गरेको छ।

प्रकाशित: ९ मंसिर २०७६ ०२:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App