२९ असार २०७७ सोमबार
अन्तर्राष्ट्रिय

शान्ति वार्तामा सहभागी हुनेको सूची तयार

काबुल (एजेन्सी) – चीनमा हुने अफगान शान्ति प्रक्रियाका लागि अफगान सरकारको तर्फबाट सहभागी हुने प्रतिनिधिको अन्तिम सूची बिहीबार टुंगो लागेको छ।

विद्रोही तालिबान समूहको तर्फबाट उक्त समूहका वरिष्ठ नेता मुल्लाह अब्दुल घानीले सहभागिता जनाउने घोषणा भैसकेको छ। यद्यपि वार्ताको मिति भने अझै तय गरिएको छैन।

‘गत सोमबार राष्ट्रपति असरफ घानी र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोनमा भएको कुराकानीमा तालिबान समूहसँग अफगानिस्तानको शान्तिवार्ताका लागि बेइजिङमा विद्रोही समूहसँग वार्ता गर्न सहमति भएको छ,’ राष्ट्रपति असरफ घानीका प्रवक्ता सेदिक सिद्दकीले भने, ‘यो बेइजिङ बैठकले तालिबान र अफगान सरकारबीच वार्ताको बाटो तय गर्नेछ।’

वार्ताको मिति चीनले घोषणा गर्नेछ। अफगान सरकारले छिट्टै सरकारको तर्फबाट वार्तामा सहभागी हुने टोलीको नाम चीन सरकारसमक्ष उपलब्ध गराउनेछ।

चीनको मध्यस्थतामा अफगानिस्तानको शान्तिका लागि यस पहिले अक्टोबर २९ र ३० का लागि वार्ता गर्ने गरी तयारी भएकोमा काबुलको अनुरोधमा यसलाई सारिएको थियो। यद्यपि मिति सार्नुपर्ने कारण भने काबुलले बताएको थिएन।

अमेरिका र तालिबान समूहबीच नौ चरणमा भएका वार्ता गत सेप्टेम्बर २ मा कतारको राजधानी दोहामा सम्पन्न भएको थियो। जसमा अमेरिका र अफगान तालिबान समूहबीच शान्तिका लागि सैद्धान्तिक सहमति भएको जनाइएको थियो। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक ट्विटमार्फ अफगान राष्ट्रपतिसहित तालिबान समूहका नेताहरुसँग वासिङ्टनको उत्तरपूर्वमा रहेको क्याम्प डेभिडमा गर्ने भनेको वार्ता स्थगित भएको जानकारी गराएपछि अफगान विद्रोहीसँगको वार्ता रोकिएको थियो।

प्रकाशित: २२ कार्तिक २०७६ ०७:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App