९ असार २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जापानका सम्राट नारुहितोको औपचारिक राजगद्दी आरोहण सम्पन्न

राजधानी टोकियोस्थित इम्पेरियल दरबारमा आयोजित औपचारिक राजगद्दी आरोहण समारोहमा जापानी सम्राट नारुहितो। तस्बिर : एजेन्सी

टोकियो (बिबिसी) – जापानका सम्राट नारुहितोले एउटा भव्य समारोहका बीच औपचारिक रूपमा राजगद्दी आरोहण गरेका छन्।

उनका पिता अकिहितोले राजगद्दी परित्याग गरेपछि ५९ वर्षीय नारुहितो यसै वर्षको मे महिनामा जापानको सम्राट बनेका थिए। तर टोकियोस्थित इम्पेरियल दरबारमा विभिन्न परम्परागत विधि सम्पन्न भएपछि मात्रै उनले मंगलबार औपचारिक रूपमा राजगद्दी आरोहण गरेका हुन्।

परम्परागत रूपमा सम्पन्न भएको सम्राट नारुहितोको राजगद्दी आरोहण समारोहमा पूर्वसम्राट अकिहितो उपस्थित थिए।

राजदरबारमा आयोजित समारोहमा जापानका सम्राटले विशेष अवसरमा लगाउने परम्परागत वस्त्र धारण गरेर नारुहितो साढे छ मिटर अग्लो ताकामिकुरा राजगद्दीमा बसेका थिए। त्यहाँबाट उनले एउटा लिखित मन्तव्यसमेत वाचन गरेका थिए।

‘राष्ट्र र जनताको एकताको प्रतीकका रूपमा आफ्नो उत्तरदायित्व वहन गर्न म संविधानअनुसार काम गर्ने शपथ लिन्छु,’ समाचार संस्था रोयटर्सले सम्राट नारुहितोलाई उद्धृत गर्दै जनाएको छ। समारोहमा सम्राटकी पत्नी साम्राज्ञी मासाको सँगै रहेको अर्को आसनमा बसेकी थिइन्। उनले १२ पत्र भएको वस्त्र लगाएको राजदरबार स्रोतले जनाएको छ। समारोहमा सहभागी प्रधानमन्त्री सिन्जो आबेले सम्राटलाई बधाई ज्ञापन गर्दै सम्बोधन गरेका थिए। त्यसपछि उनको नेतृत्वमा उपस्थित मानिसले ‘बान्जाई ! अर्थात् ‘सम्राट चिरायु रहुँन्’ भन्दै नारा लगाएका थिए।

उक्त विशेष समारोहमा जापानको राजकीय शक्तिको संकेतका रूपमा लिइने प्राचीन तरबार र रत्न पनि राखिएको थियो। यसैबीच, जापानमा भर्खरै हगिबिस समुद्री आँधीका कारण धनजनको क्षति भएकाले पीडितप्रति सहानुभूति प्रकट गर्न राजगद्दी आरोहणका अवसरमा आयोजना गरिने शोभायात्रा भने स्थगित गरिएको छ। हगिबिसका कारण जापानमा कम्तीमा ८० जनाको मृत्यु भएको थियो।

सम्राट नारुहिताको राजगद्दी समारोहमा बेलायतका राजकुमार चाल्र्सलगायत सयौं गन्यमान्य विदेशी पनि उपस्थित भएका थिए। सम्राट नारुहितोले विदेशबाट आएका शाही पाहुनाका लागि चियापान आयोजना गरेका छन् भने प्रधानमन्त्री सिन्जो आबले सबै अतिथिका लागि रात्रिभोज आयोजना गरेका छन्।

जापानमा संवैधानिक राजतन्त्र छ र सम्राटको भूमिका प्रायः आलंकारिक हुन्छ। जापानी स्रमाटले नागरिकसँग अन्तक्र्रिया गर्ने तथा विदेशी पाहुनासँग भेट गर्ने गर्छन्। जापानमा राजसंस्थालाई सम्मानित नजरले हेर्ने गरिन्छ। विशाल वर्षात् भइरहेको भए पनि मंगलबार सानो संख्यामा रहेका मानिस मंगलबार बिहान दरबारबाहिर भेला भएका थिए।

‘नयाँ स्रमाट र साम्राज्ञीका लागि आज महत्वपूर्ण दिन हो,’ औपचारिक राजगद्दी समारोहका लागि राजधानी टोकियो पुगेका ७८ वर्षीय सुइची हाचिनुमाले बताए। ‘विगतका तुलनामा अहिले सम्राट हाम्रा नजिक भएको जस्तो मलाई लाग्छ। म उनलाई शान्तिको सन्देश पठाउन चाहन्छु,’ उनले बताए। औपचारिक राजगद्दी समारोह सुरु हुनेबित्तिकै अविरल परिरहेको पानी रोकिएको थियो। केही सामाजिक सञ्जाल प्रयोगकर्ताले त राजगद्दी आरोहण समारोहमा अकाशमा इन्द्रेणी लागेको दाबीसमेत गरेका छन्।

जापानमा यसअघि सन् १९९० मा तत्कालीन स्रमाट अकिहितोको औपचारिक राजगद्दी  आरोहण समारोह आयोजन भएको थियो।

प्रकाशित: ६ कार्तिक २०७६ ०३:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App