१९ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सत्तारुढ दलको जित, बहुमत गुम्यो

आफ्नो दलले जित हासिल गरेपछि मोन्ट्रेलमा आयोजित एउटा कार्यक्रममा समर्थकलाई हात हल्लाएर धन्यावाद ज्ञापन गर्दै प्रधानमन्त्री जस्टिन ट्रुडो। तस्बिर : एजेन्सी

ओट्टवा (बिबिसी) – क्यानडामा सम्पन्न आम निर्वाचनमा सत्तारुढ लिबरल पार्टीले जित हासिल गरेको छ। प्रधानमन्त्री जस्टिन ट्रुडोको दल लिबरल पार्टीले सोमबार सम्पन्न निर्वाचनमा जित हासिल गरे पनि यसअघिको बहुमत भने गुमाएको छ। तसर्थ अब उनी अल्पमत सरकारको प्रधानमन्त्री हुनेछन्।

लिबरल पार्टीले एक सय ५७ सिटमा जित हासिल गर्ने प्रक्षेपण गरिएको छ, जुन बहुमतभन्दा १३ सिट कम हो। अनुमान गरिएको भन्दा कम सिट आउने देखिएपछि अब ट्रुडोलाई दोस्रो कार्यकालका लागि सरकार बनाउने विधायन पारित गर्न कठिन हुने देखिएको छ।

विपक्षी कन्जरभेटिभ दलले पपुलर भोटमा बाजी मार्ने देखिए पनि सिट संख्यामा बहुमत भने पु-याउन सकेन। यद्यपि यस निर्वाचनमा उसले आफ्नो अवस्थामा भने सुधार गरेको छ। यसअघिको निर्वाचनमा ९५ सिट जितेको कन्जरभेटिभले यस पटक एक सय २१ सिट जित्ने अनुमान गरिएको बिबिसीले उल्लेख गरेको छ।

सोमबार रातिको नतिजाले लिबरल पार्टीको सिट संख्यामा गिरावट आउने प्रष्ट देखिए पनि जगमित सिंहको ‘न्यु डेमोक्र्याटिक पार्टी (एनडिपी)’ ‘किङमेकर’ हुनसक्ने सम्भावना पनि बढेको छ।
तीन सय ३८ सिट संख्या रहेको क्यानडाको संस्दमा एनडिपीले २४ सिट जित्ने प्रक्षेपण गरिएको छ।

यसैबीच क्युबेकमा मात्रै प्रतिस्पर्धा गरेको सो प्रान्तको विखण्डनवादी दल ‘द ब्लक क्युबेकोइस’ले राम्रो नतिजा ल्याउने देखिएको छ। सन् २०१५ को निर्वाचनमा मात्र १० सिट जितेको सो दलले यस पटकको निर्वाचनमा अन्तिम मत परिणाम सार्वजनिक हुने बेलासम्म ३२ सिट जित्ने अनुमान गरिएको छ। यस पटकको निर्वाचनमा ६६ प्रतिशत मतदाताले मतदान गरेको क्यानडाको निर्वाचन कार्यालयले जनाएको छ।

आफ्नो कार्यकालको पहिलो सत्रमा विभिन्न ‘स्याक्न्डल’ सँग जुधेका प्रधानमन्त्री ट्रुडोका लागि यो निर्वाचन जनमत संग्रहका रूपमा समेत हेरिएको थियो।

निर्वाचनमा आफ्नो दलले जित हासिल गरेपछि मोन्ट्रेलमा समर्थकहरुसँग खुसी साट्दै प्रधानमन्त्री ट्रुडोले ‘मतदाताले विभाजन र नकारात्मकतालाई अस्वीकार गरेको र प्रगतिशील अजेन्डा र जलवायु परिवर्तनका लागि कडा कार्य गर्ने पक्षमा मतदान गरेको’ जिकिर गरेका छन्।

‘हाम्रो देशलाई सही मार्गमा लानका लागि हामीलाई विश्वास गरेकोमा धन्यवाद,’ उनले बताए। उनले आफ्नो दललाई मतदान नगर्नेहरुलाई पनि मिलाएर लाने प्रतिबद्धतासमेत व्यक्त गरे।

यसपटकको निर्वाचनमा सन् २०१५ मा प्राप्त गरेको जति नतिजा नआउनुमा प्रधानमन्त्री ट्रुडोकै रेकर्डलाई हेरिए पनि कन्जरभेटिभ दलका नेता एन्ड्रयु स्किरलाई पनि नतिजा त्यति सुखद् भने हुन सकेन।

सन् २०१५ को निर्वाचनमा ‘देशमा वास्तविक परिवर्तन’ ल्याउने प्रतिबद्धता व्यक्त गर्दै शक्तिमा उदाएका ट्रुडोले यो चार वर्षको अवधिमा जनतालाई दिएको प्रगतिशील नारा पूरा भने गर्न सकेनन्। चार वर्षपछिको निर्वाचनमा उनको कार्यक्षमतालाई लिएर व्यापक आलोचना भयो।

उदाहरणका लागि ‘ट्रान्स माउन्टेन आयल पाइपलाइन एक्सपान्सन प्रोजेक्ट’लाई समर्थन गरेका कारण उनको व्यापक आलोचना भएको थियो। यस्तै कैयौं नीतिहरुलाई लिएर प्रधानमन्त्री ट्रुडोप्रति जनता आक्रोशित रहेकै कारण पनि यसपटक उनको दलले बहुमत प्राप्त गर्न नसकेको विश्लेषकहरुले बताएका छन्।

यद्यपि दर्जनौं क्यानेडेली शिक्षाविद्हरुले गरेका स्वतन्त्र अनुसन्धानले प्रधानमन्त्री ट्रुडोले सन् २०१५ को निर्वाचनमा प्रतिबद्धता गरेकोमध्ये आशिंक वा पूर्ण गरी करिब ९२ प्रतिशत प्रतिबद्धता पूरा गरेका छन्। यो पछिल्लो ३५ वर्षको अवधिमा कुनै पनि सरकारले पूरा गरेको प्रतिबद्धतामध्ये सबैभन्दा धैरै रहेको बताइएको छ।

प्रकाशित: ६ कार्तिक २०७६ ०३:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App