८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

नौ हजार प्रहरीलाई कारबाही

मनिला – फिलिपिन्समा पछिल्ला केही वर्षमा नौ हजारभन्दा बढी प्रहरीलाई कारबाही गरिएको अधिकारीहरुले जनाएका छन्। फिलिपिन्सको राष्ट्रिय प्रहरीले सन् २०१६ को जुन ३० देखि अहिलेसम्म ९ हजार एक सय ७२ जना प्रहरीलाई कारबाही गरिएको जनाएको हो।

कारबाहीमा परेका प्रहरीको संख्या कूल प्रहरीको संख्याको ४.७ प्रतिशत रहेको पनि प्रहरी उच्च अधिकारीहरुले सोमबार जानकारी दिएका छन्। कार्यवाहक प्रहरी प्रमुखले सोमबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार खराब तथा भ्रष्ट प्रवृत्तिका कारण ती प्रहरी कारबाहीमा परेका हुन्।

प्रहरीका लेफ्टिनेन्ट जनरल फ्रान्सीस्को गाम्बोआले कारबाहीमा परेकामध्ये दुई हजार आठ सय ६ जनालाई सेवाबाटै निष्कासन गरिएको जानकारी दिएका छन्। त्यसैगरी अन्य पाँच सय ३५ जनालाई घटुवा गरिएको, चार हजार सात सय २१ जनालाई निलम्बन गरिएको, सात सय ६२ जनालाई नसियत दिइएको, ६० जनालाई चार महिनाका लागि निष्कासन गरिएको, दुई सय आठजनाको तलब रोक्का गरिएको र ८० जनालाई अधिकारविहीन गराइएको उनले बताए।

निष्कासनमा परेकामध्ये केही प्रहरी लागूऔषधको कारोबारमा संलग्न भएको पाइएको गोम्बोआले जानकारी दिए। उनका अनुसार सन् २०१९ को नौ महिनामा मात्रै दुई हजार दुई सय ८६ जना यस्तै खालका कारबाहीमा परेका छन्।

फिलिपिन्समा सरकारले लागूऔषधविरुद्धको कारबाही अभियानलाई तीव्रता दिइरहेको छ भने त्यसमा संलग्न देखिएका प्रहरी तथा अन्य सरकारी अधिकारीहरू पनि कारबाहीमा परेका हुन्। यस्तो कारबााही अभियान निरन्तर रहेको अधिकारीहरूले जनाएका छन्।  

 

प्रकाशित: ५ कार्तिक २०७६ ०२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App