८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

हङकङका लागि ‘हिंस्रक र अराजकपूर्ण दिन’

मंगलबारको प्रदर्शनमा कालो पहिरन लगाएका हङकङका प्रदर्शनकारी। तस्बिर ः एजेन्सी

हङकङ – जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं वर्ष हङकङका लागि भने ‘हिंस्रक र अराजकपूर्ण दिनमध्ये एक’ भएको सहरका प्रहरी प्रमुखले बताएका छन्। प्रदर्शन गर्न नपाउने भन्दै प्रशासनले जारी गरेको निषेधाज्ञाको विरोधमा आयोजित प्रदर्शनमा सहभागी एक १८ वर्षीय युवालाई मंगलबार प्रहरीले ताकेरै छातीमा गोली हानेका थिए। प्रहरीले मंगलबार ६ राउण्ड गोली प्रहार गरेको प्रहरी स्वयंले स्वीकार गरेको छ।

प्रदर्शनकारीमध्ये केहीले डण्डा, पेट्रोल बम र अन्य उपकरण बोकेको भए पनि अधिकांश निहत्था प्रदर्शनकारी मंगलबार हङकङका विभिन्न क्षेत्रमा प्रहरीसँग दिनभर जसो जुधेका थिए। दिनभरमा हङकङबाट प्रहरीले दुई सय ६९ जनालाई पक्राउ गरेको थियो। विगत चार महिनादेखि तनावग्रस्त हङकङमा एकैदिन यति धेरै गिरफ्तारी गरिएको यो पहिलो घटना थियो।

मंगलबार पक्राउ पर्नेमा १२ वर्षदेखि ७१ वर्ष उमेरसम्मका थिए। सयजना भन्दा बढी मानिसलाई अस्पताल लगिएको थियो भने ३० प्रहरी पनि घाइते भएका थिए। मंगलबारको प्रदर्शनमा प्रहरीले नौ सय वटा रबरको गोली प्रहार गरेको थियो भने एक हजार चार सय थान    अश्रुग्यास प्रहार गरेको थियो। यो संख्या हङकङ प्रदर्शनका सुरुका दुई महिनाको भन्दा बढी थियो। हङकङ प्रदर्शनका सुरुका दुई महिनामा प्रहरीले एक हजार वटा अश्रुग्यासको सेल प्रहार गरेको थियो।

कम्युनिस्ट शासन स्थापनाको ७० वार्षिकोत्सव नजिकिँदै गर्दा हङकङ दिनप्रति दिन तनावग्रस्त हुँदै गएको थियो। हङकङमा यसअघि पनि राष्ट्रिय दिवसका दिन सधैंजसो प्रदर्शन हुने गरेका छन्। यो वर्ष भने राष्ट्रिय दिवस आउनुभन्दा चार महिनाअघि देखि हङकङले प्रदर्शन देखिरहेको छ।

मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्नेबारे सरकारले विधेयक ल्याएपछि सुरु भएको प्रदर्शनका कारण चारदेखि हङकङमा सरकारविरोधी प्रदर्शन जारी रहेको छ। हङकङको प्रमुख नेतृत्वले प्रदर्शनकारीका मागमध्येको एउटा प्रमुख माग ‘मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्ने’ सम्बन्धी विधेयक फिर्ता लिए पनि प्रदर्शनकारीले १७ सातादेखि निरन्तर प्रदर्शन गरिरहेका छन्।

हङकङकी प्रमुख कार्यकारी क्यारी लामले केही साताअघि विवादास्पद सुपुर्दगी विधेयक फिर्ता लिने घोषणा गरेकी थिइन्। सुरुमा सुपुर्दगी विधेयक फिर्ता लिनका लागि दबाब दिने उद्देश्यले प्रदर्शन आयोजना गरिएको भए पनि हाल आएर हङकङ प्रदर्शन बृहद् प्रजातान्त्रिक सुधार र स्वतन्त्रता कम हुँदै गएको प्रति लक्षित भएको छ। यति मात्रै नभई प्रदर्शनकारीले हङकङकी नेत्री लामको राजीनामाको मागसमेत गर्दै आएका छन्।

एसियाली हब हङकङमा भइरहेको पछिल्लो प्रदर्शन स्वतन्त्रता र स्वायत्तताको मागतर्फ अघि बढिरहेको छ। कुनैबेला बेलायतको उपनिवेशका रूपमा रहेको हङकङ हाल ‘एक राष्ट्र, दुई प्रणाली’ अन्तर्गत चीनको एक महत्वपूर्ण अंगका रूपमा रहेको छ। यही व्यवस्थाका कारण हङकङमा मुख्यभूमि चीनमा भन्दा बढी स्वतन्त्रता, छुट्टै कानुनी व्यवस्था र आफ्नै न्याय प्रणाली रहेको छ। विदेश र रक्षा नीतिबाहेकमा चीन सरकारले हङकङलाई स्वायत्तता प्रदान गरेको छ।

यसैबीच, पछिल्लो पटक प्रदर्शनकारीका माग विशेषतः चारवटा प्रमुख मुद्दामा केन्द्रित रहेका छन्। जसमा, प्रशासनले प्रदर्शनलाई ‘दंगा’ भनेर परिभाषित गरेकाले सो फिर्ता हुनुपर्ने, पक्राउ परेका सबैलाई माफी दिइनुपर्ने, प्रदर्शनकारीमाथि प्रहरीद्वारा गरिएको बल प्रयोगको जाँचबुझका लागि स्वतन्त्र आयोग गठन गर्नुपर्ने र हङकङको प्रमुख कार्यकारी र विधायन परिषद्को निर्वाचनका लागि विश्व स्वीकारोक्ति हुनुपर्ने  रहेका छन्।

मंगलबारको प्रदर्शनमा साङ चि–किन नामक एक प्रदर्शनकारीले प्रहरीलाई फलामको पोलले प्रहार गरिरहेको र उनलाई प्रहरीले गोली हानेको भिडियो अनलाइनमार्फत् भाइरल भएको छ। ‘मेरो छाती दुखिरहेको छ। मलाई अस्पताल लग,’ गोली लागेपछि पक्राउ परेका १८ वर्षीय ती युवाले बोलेको सो भिडियोमा सुनिएको छ। सरकारले घाइते युवा अहिले स्थीर अवस्थामा रहेको जानकारी  गराएको छ।

चार महिनादेखिको प्रदर्शनमा यसअघि रबरका गोली प्रहार गरिएको भए पनि मंगलबार पहिलो पटक लाइभ राउन्डबाट घाइते भएको यो पहिलो घटना हो। प्रदर्शनकारीबाट आफू र आफ्ना साथीहरु असुरक्षित भएको बखतमा गोली प्रहार गरिएकाले सो कार्य ‘कानुनसम्मत र तर्कपूर्ण’ भएको हङकङ प्रहरीका प्रमुख स्टेफन लोलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

त्यति नजिकबाट किन छातीमा ताकेरै गोली हानियो भन्ने प्रश्नमा प्रहरी प्रमुखले भने, ‘आक्रमणकारी र आफूबीचको दूरी ती प्रहरी अधिकारीले निर्णय लिन सकेनन्।’

मंगलबारको घटनालाई लिएर बुधबार पनि सयौं प्रदर्शनकारीले हङकङमा प्रदर्शन गरेका छन्। यसैबीच गत आइतबारको प्रदर्शनमा पक्राउ परेका ९६ जना प्रदर्शनकारीलाई दंगा भड्काएको आरोपमा अदालतमा उपस्थित गराइएको छ।

प्रकाशित: १६ आश्विन २०७६ ०३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App