३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चिनमायानन्दमाथि यौन दुर्व्यवहारको आरोप लगाउने महिला पक्राउ

भाजपा नेता एवं पूर्वमन्त्री स्वामी चिनमायानन्द।

नयाँ दिल्ली – भारतका पूर्वमन्त्री एवं सत्तारुढ दलका नेता स्वामी चिनमायानन्दमाथि यौन दुव्र्यवहारको आरोप लगाउने एक महिलालाई जबरजस्ती पैसा असुलीको आरोपमा पक्राउ गरिएको छ। ती महिलाले स्वामी चिनमायानन्दले आफूलाई पैसा नदिए उनको अश्लील भिडियो सार्वजनिक गर्ने धम्की दिने गरेको प्रहरीले जनाएको छ।

भारतीय जनता पार्टीका नेता चिनमायानन्दलाई यौन दुव्र्यवहारको आरोपमा गत साता पक्राउ गरिएको थियो। उनले भने आफूमाथि लागेको आरोप अस्वीकार गरिरहेका छन्। धम्क्याएर पैसा असुली गर्ने गरेको आरोपमा पक्राउ परेकी ती महिलालाई बुधबार अदालतसमक्ष हाजिर गराइएको थियो। उनले अदालतसमक्ष गरेको जमानतको आग्रह अस्वीकृत भएपछि उनलाई १४ दिन जेल सजाय तोकिएको बिबिसीले उल्लेख गरेको छ।

आफूविरुद्ध लगाइएको आरोपलाई ती महिला र उनको परिवारले भने अस्वीकार गरेको छ। जबरजस्ती पैसा असुलीको आरोप लागेका ती महिलाका तीनजना साथीलाई गता पक्राउ गरिएको थियो। भारतको उत्तरी प्रदेश उत्तर प्रदेशबाट सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को प्रतिनिधित्व गर्ने ७३ वर्षीय चिनमायानन्द पूर्वसांसद समेत हुन्। उनले पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको नेतृत्वमा संघीय मन्त्रीको रूपमा कामसमेत गरेका थिए।

स्थानीय प्रहरीले ती महिला र उनका साथीहरुविरुद्ध गत अगस्ट २४ कै दिन जबरजस्ती पैसा असुलीमा मुद्दा दर्ता गरेको पूर्वमन्त्री चिनमायानन्दका कानुन व्यवसायी ओम सिंहले बिबिसीसँग बताए। ‘चिनमायानन्दको मोबाइल फोनमा ५ करोड भारतीय रुपैयाँ माग गर्दै धम्कीयुक्त म्यासेज आएको थियो। यदि उनले ५ करोड नदिए उनका अश्लील भिडियो सार्वजनिक गरिदिने धम्की उनीहरुले दिएका थिए। तर हामीलाई थाहा थियो उनीहरुसँग त्यस्तो केही सामग्री थिएन,’ कानुन व्यवसायी सिंहलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

मोबाइलमा आएको म्यासेजमा कुन भिडियोका बारेमा उल्लेख गरिएको थियो भन्ने प्रष्ट नभए पनि आरोप लगाउने महिलाले आफ्नो चस्मामा लुकाएको क्यामेरामार्फत चिनमायानन्दका भिडियो कैद गरेको जिकिर गरेकी छन्। उनले पूर्वमन्त्रीसमेत रहेका चिनमायानन्दमाथि लगाएको यौन दुव्र्यवहारको मुद्दाको अनुसन्धानमा संलग्न अधिकारीहरुलाई ४३ वटा त्यस्ता भिडियो उपलब्ध गराएको दाबीसमेत गरेकी छन्।

नेता चिनमायानन्दमाथि लागेको यौन दुव्र्यवहारको आरोप र ती महिलामाथि लागको जबरजस्ती पैसा असुलीको आरोपबारेको मुद्दा अब अनुसन्धानमा संलग्न विशेष टिमलाई सुम्पिएको छ। राजनीतिज्ञले चलाएको धेरै कलेजमध्येको एकमा अध्ययनरत एउटी महिलाले नेता चिनमायानन्दले महिनौंसम्म यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छन्। आफूले नुहाइरहेको एउटा भिडियो देखाएर चिनमायानन्दले यौन सम्बन्ध राख्नका लागि आफूलाई ब्ल्याकमेल गरेको ती महिलाको दाबी छ।

चिनमायानन्दले ती आरोपलाई अस्वीकार गर्दै आइरहेको भए पनि यौनसम्बन्धको लागि ‘अधिकारको दुरुपयोग’ गरेको मुद्दा भने उनीमाथि चलाइएको छ। यदि यो मुद्दामा दोषी ठहर भए पूर्वमन्त्री एवं भाजपा नेता चिनमायानन्दले १० वर्षसम्म जेल सजाय भोग्ने छन्।

प्रकाशित: ९ आश्विन २०७६ ०३:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App