५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ब्रेक्जिट सम्झौताका लागि अब धेरै ढिलो नगरौँ : यङ्कर

म्याड्रिड- यूरोपेली संघ (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) सम्झौताका लागि लण्डन र ब्रसेल्सले अब थप ढिलाई गर्नु नहुने निवर्तमान यूरोपेली आयोगका प्रमुख जाँ क्लाउड यङ्करले बताएका छन्।     

आइतबार प्रकाशित स्पेनी दैनिक पत्रिका एल पाइससँगको उक्त कुरा बताएका हुन्। अक्टोबर ३१ का लागि अब धेरै दिन बाँकी नरहेकाले ब्रेक्जिट सम्झौताका लागि थप ढिलाई गर्न नहुने बताउँदै आयोगले सन् २०१६ मा ब्रेक्जिट बिषयमा भएको जनमतसङ्ग्रहलाई प्रभावित पार्न प्रशारण तथा प्रकाशन गरिएका ‘झूट र नक्कली’ समाचारको सक्रिय प्रतिरोध गरेको पनि स्मरण गरे।     

लक्जेम्वर्गमा बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग सोमबार भएको वार्ता ‘रचनात्मक र आंशिक सकारात्मक’ भएको यङ्करले बताए। “मलाई लाग्छ, हामीसँग अझै पनि सहमति गर्नका लागि अवसर रहेको छ,” उक्त दैनिकमा यङ्करलाई उद्धृत गरी प्रकाशन गरिएको छ।     

जोनसनले इयूका अधिकारी र उनी आफैसँग ब्रेक्जिटबारे खेल्न खोजिरहेको भन्ने धारणा पनि आएको यङ्करले उक्त दैनिकलाई बताएका छन्।    

“इयूबाट बेलायतको बहिर्गमन एक दुखद घटना हो तर यसलाई प्रक्रियागतरूपमा अघि बढाउनुको विकल्प हामीसँग छैन,” उनले भने।     

आयोगका अध्यक्षले भने, “सन् २०१६ मा बहुमत बेलायती जनताले ब्रेक्जिटको पक्षमा मतदान गर्नुलाई मैले कुनै अनौठो घटनाका रूपमा लिन्न किनकि बेलायती सर्बसाधारणलाई सम्भ्रान्त नेतृत्वले दशकौँदेखि इयूसँग राजनीतिक एकता गर्नु ‘संघवादी अज्ञानता’ थियो र बेलायतका लागि साझा बजार नै प्रशस्त थियो।”     

यङ्करले भने, “तर अफसोसको कुरा बेलायतमा जनमतसङ्ग्रहको अभियान चलिरहँदा तत्कालिन बेलायती प्रधानमन्त्री ड्याभिड क्यामरूनको अनुरोधमा आयोग यसबाट पछि हट्यो।”     

“हामीले आयोगमा जनमत सङ्ग्रहलाई हस्तक्षेप नगर्ने निर्णय गर्‍यौँ, जुन प्रधानमन्त्री क्यामरूनको अनुरोध थियो, तर त्यो नै सबैभन्दा ठूलो भूल भयो।”     

बेलायतले अक्टोबर ३१ मा सम्झौता भएपनि नभएपनि इयूबाट बाहिरिने तयारी गरेको छ। यसले बेलायतमा खाद्यान्न तथा आधारभूत सामग्री साथै औषधिको समेत अभाव आउनेछ र यसबाट बेलायतीहरूलाई आन्दोलित गर्ने प्रवल सम्भावना रहेको देखिन्छ। रासस

प्रकाशित: ५ आश्विन २०७६ १४:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App