२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चिकित्सकको घरबाट दुई हजार बढी मानव भ्रुणका अवशेष बरामद

वासिङ्टन – अमेरिकाको इन्डियाना राज्यका पूर्वचिकित्सकको इलिनोइसस्थित घरबाट दुई हजारभन्दा बढी मानव भ्रुणका अवशेष फेला परेको अधिकारीहरुले बताएका छन्।

गर्भपतन सेवा उपलब्ध गराउने यी चिकित्सकले भ्रुणलाई औषधिको प्रयोग गरी सुरक्षित राखेको पाइएको छ। उल्रिच क्लोपफर नाम गरेका ती चिकित्सकको गत साता निधन भएको प्रहरीले जनाएको छ।

विल काउन्टी सेरिफ कार्यालयले शुक्रबार अबेर एक विज्ञप्ति प्रकाशन गरी उक्त घटनामा चिकित्सक क्लोपफर संलग्न रहेको जनाएको छ। क्लोपफरको परिवारले भ्रुणका बारेमा प्रहरीलाई जानकारी गराएपछि घटना सार्वजनिक भएको थियो।

प्रहरी कार्यालयको प्रारम्भिक अनुसन्धानमा दुई हजार दुई सय ४६ वटा सुरक्षित भ्रुण भेटिएको जनाइएको छ। तर मेडिकल प्रक्रिया पूरा गरे वा नगरेको भन्ने विषयमा अनुसन्धान गर्नुपर्ने प्रहरीको भनाइ उद्धृत गर्दैै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ। प्रहरीले उक्त घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको जनाएको छ। चिकित्सक क्लोपफरको गत सेप्टेम्बर ३ मा मृत्यु भएको थियो।

इन्डियानाको साउथ बेन्डमा लामो समयदेखि उनले गर्भपतनसम्बन्धी सेवा प्रदान गरिरहेका थिए। तर सन् २०१५ देखि इन्डियाना राज्यले चिकित्सक क्लोपफरको क्लिनिकलाई दिएको लाइसेन्स रद्द गरी सो सेवा बन्द गराएको थियो। इन्डियाना राज्यको स्वास्थ्य सेवा विभागले त्यसबखत सञ्चालन प्रक्रियामा क्लिनिकले लापरवाही गरेको भन्दै सचेत गराएको थियो।

स्वास्थ्य सेवा विभागले उक्त क्लिनिकले खासगरी बिरामीको नाम राम्रोसँग नलेख्ने तथा मेडिकल गर्भपतनका नीति अनुशरण नगरेको बताएको थियो। गर्भपतनका बारेमा कम्तीमा १८ घण्टा अघि जनचेतनामुलक तालिम आयोजना गर्नुपर्ने सरकारी नियमलाई समेत उक्त क्लिनिकले बेवास्ता गरेको विभागको भनाइ थियो। सो क्लिनिकले तालिम लिएको विषयलाई राम्रोसँग दस्ताबेजीकरण नगरेको र लापरबाही गरेको भन्ने आरोप स्वास्थ्य विभागको रहेको थियो।

क्लोपफर इन्डियाना राज्यकै चर्चित गर्भपतन चिकित्सक मानिन्थे। ‘साउथ बेन्ड ट्रिब्युन’ अखबारका अनुसार धेरै दशकदेखि इन्डियाना काउन्टीका धेरै ठाउँमा उनले हजारौंलाई सेवा दिएका थिए।

‘चिकित्सक क्लोपफरको इलिनोइज क्लिनिकमा हजारौं भ्रुणको अवेशष पाइएको खबरले हामीलाई त्रसित बनाएको छ,’ ‘इन्डियानाको जीवन अधिकार’ भन्ने संस्थाका अध्यक्ष माइक फिच्टरले एक वक्तव्य प्रकाशन गरी बताएका छन्। उनले यी भ्रुणसँग इन्डियाना राज्यमा गरिएका गर्भपतनको कुनै सम्बन्ध रहे नरहेको खोजी गर्नुपर्ने जिकिरसमेत गरेका छन्।

फिच्टरले गर्भपतनले अमेरिकामा उद्योगको रूप लिएकाले यसलाई गम्भीर छानबिनको दायरामा ल्याउनुपर्नेमा पनि जोड दिएका छन्। यस घटनाका बारेमा इन्डियाना राज्यका गभर्नर एरिक होल्कोम्बको प्रतिक्रिया लिन खोजिए पनि सम्भव नभएको एएफपीले उल्लेख गरेको छ।

गर्भपतनसम्बन्धी सरकारी नियमको पूर्णपालना नगरेको, कर्मचारी नराखेको तथा गर्भपतन अघि–पछि सेवा नदिएको भन्दै सन् २०१६ को नोभेम्बरमा इन्डियानाको मेडिकल लाइसेन्सिङ बोर्डले क्लोपफरको लाइसेन्स (अनुमति पत्र) पनि निलम्बन गरेको थियो। चिकित्सक क्लोपफरले त्यसयता गर्भपतन सेवा बन्द गरेका थिए तर उनले बोर्ड समक्ष आफ्नो ४३ वर्षको सेवा अवधिमा एक जना बिरामीको पनि ज्यान नगएको बताएका थिए। इन्डियाना राज्यमा रिपब्लिकन पार्टीकी सांसद ज्याकी वालोस्र्कीले पछिल्लो घटनाको पटाक्षेपले आफूलाई अत्यन्त दुःखित बनाएको बताएकी छन्।

गत मे महीनामा अमेरिकी सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी इन्डियाना राज्यको कानुनलाई सदर गरेको थियो जसमा गर्भपात गरिएको भ्रुणका अवशेष संग्रह गर्न नपाइने र त्यसलाई विसर्जन गर्नुपर्ने व्यवस्था छ।

प्रकाशित: ३० भाद्र २०७६ ०२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App