१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मुगाबे राष्ट्र नायक घोषित

हरारे – जिम्बाबेका राष्ट्रपति इमर्सन मनाङगावाले पूर्वराष्ट्रपति रोबर्ट मुगाबेलाई राष्ट्र नायक घोषणा गरेका छन्। साथै, उनको अन्त्येष्टी नगर्दासम्म राष्ट्रिय शोक घोषणा गरिएको पनि राष्ट्रपति मनाङगावाले बताएका छन्। मुगाबेको गत अप्रिलदेखि सिंगापुरमा उपचार भइरहेकोमा शुक्रबार बिहान ९५ वर्षको उमेरमा निधन भएको थियो। राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति मनाङगावाले मुगावेलाई राष्ट्र नायक घोषणा गर्दै उनको अन्त्येष्टि नहुँदासम्म राष्ट्रिय शोक घोषणा गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

देशको स्वतन्त्रता अगाडी वा पछाडी मुगाबेले देश र जनताका लागि ठूलो योगदान गरेको भन्दै वर्तमान राष्ट्रपति मनाङगावाले उनको स्मरण गरे। उनले पूर्वराष्ट्रपति मुगाबेलाई आफ्नो गुरु र सल्लाहकारको संज्ञा पनि दिए। जिम्बाबेको स्वतन्त्रतापछि मुगाबे प्रथम प्रधानमन्त्री निवार्चित भएका थिए। उनले कबिर चार दशक देशमा शासन गरेका थिए।

केही समयदेखि बिरामी रहेका मुगाबेको गत अप्रिलदेखि सिंगापुरमा उपचार भइरहेको थियो। उपचारकै क्रममा उनको गत शुक्रबार निधन भएको थियो। उनका परिवारका सदस्यले मुगाबेको मृत्यु भएको बिबिसीमार्फत पुष्टि गरेका थिए। सन् १९२४ को फेब्रुअरीमा जन्मिएका मुगाबेलाई सन् २०१७ को नोभेम्बरमा सेनाले अपदस्थ गरी नजरबन्द गरेको थियो। उनलाई तत्कालीन सरकारको आलोचना गरेको आरोपमा सन् १९६४ मा जेल चलान गरी मुद्दा नचलाई १० वर्षसम्म कैदी बनाएर राखिएको थियो।
 
सन् १९८० मा मुगाबे देशको पहिलो निवार्चित प्रधानमन्त्री बनेका थिए। सन् १९८७ उनी राष्ट्रपति बनेका थिए। देशमा शिक्षा र स्वास्थ्यलगायतको सुविधान प्रदान गर्दैै बहुसंख्यक काला जातिका मानिसलाई निकै उच्च स्थानमा पु-याएर मुगाबे निकै लोकप्रिय भएका थिए तर उनले ल्याएको विवादास्पद भूमिसुधार नीतिका कारण देश ठूलो आर्थिक संकट  फसेको आरोप उनीमाथि लागेको थियो।

अफ्रिकी मुलुक जिम्बाबेका स्वतन्त्रता सेनानी एवं कुनै समय अफ्रिकी महादेशमा काला जातिको मुक्तिका प्रतीक मानिएका रोबर्ट मुगाबे शासनको अवशान भने निकै दुःखद रह्यो। लामो समयसम्म शासन सत्तामा रहेका स्वतन्त्रता सेनानी मुगाबे बढ्दो जनअसन्तोषका बीच आफूप्रति निकै बफादार सेनाद्वारा पदच्यूत हुनुपरेको थियो। मुगाबेले जिम्बाबेमा ३७ वर्ष शासन गरेका थिए।

बेलायती उपनिवेशबाट जिम्बाबेलाई स्वतन्त्र बनाउन सफल मुगाबे नोभेम्बर २०१७ मा राष्ट्रपतिको पदबाट हटेका थिए। बहिर्गमनलगत्तै उनको शारीरिक अवस्था अत्यन्त नाजुक हुन थालेको थियो। झण्डै आठ वर्ष राजनीतिक बन्दीका रूपमा बिताएका मुगाबे त्यसपछि छापामार बनेका थिए। तर मुलुक स्वतन्त्र भएसँगै सन् १९८० मा भएको आमनिर्वाचनबाट उनी प्रधानमन्त्रीमा नियुक्त भएका थिए। प्रधानमन्त्रीका रूपमा उनले सुरुवाती दिनहरुमा जातीय मध्यस्थताको मार्ग लिएको भन्दै अन्तर्राष्ट्रिय जगतबाट राम्रो समर्थन प्राप्त गरेका थिए।

उनले बहुसंख्यक कालाजातिको शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा निकै राम्रा कार्यक्रम अगाडि बढाएका थिए। उनी जसरी उच्च स्थानमा पुगेका थिए त्यसरी नै तीव्र गतिमा उनको चमक फिका हुन थाल्यो। मुगाबेले जिम्बाबेको स्वतन्त्रताका लागि जिम्बाबे अफ्रिकी नेसनल युनियन (जानु) र यसको सशस्त्र फौजको नेतृत्व सम्हालेका थिए। सन् १९७४ मा जेलमुक्त हुँदा उनले सो युनियनको सर्वोच्च नेताका रूपमा आफूलाई उभ्याएका थिए।

सशस्त्र संघर्षकै समयमा जिम्बाबे अफ्रिकी पिपुल्स युनियन (जापु)को नेतृत्व गरेका अर्का नेता जोसुवा एन्कोमोलाई मुगाबेले पहिलो निशाना बनाएका थिए। मुगाबेले गृह मन्त्रालयको जिम्मेवारी दिइएका एन्कोमोलाई सन् १९८२ मा सरकारबाट हटाएका थिए। मुगाबेले माटाबेलेल्यान्ड प्रान्तमा ठूलो परिमाणमा हतियार फेला परेको भन्दै एन्कोमोलाई पदच्युत गरेका थिए।

मुगाबेलाई जिम्बाबेका बहुसंख्यक शोना जातिको समर्थन प्राप्त थियो। यहीबीच उत्तर कोरियालीबाट तालीमप्राप्त पाँचौं ब्रिगेडले झण्डै २० हजार विपक्षीको हत्या गरेको थियो। तर सत्तामा आएको झण्डै दुई दशकपछि जिम्बाबेमा रहेबसेका गोरा जातिको जग्गाजमीन जबर्जस्ती हडप्ने नीति ल्याएपछि मुगाबेको अन्तर्राष्ट्रिय शाख गुमेको थियो। तैपनि अफ्रिकी अधिकांश देशमा मुगाबेप्रति सम्मान थियो।

उनले आफ्नो शासनकालमा ल्याएका केही विवादास्पद नीतिका कारण विदेशी लगानीकर्ता जिम्बाबेबाट पलायन हुनुका साथै आर्थिक स्थिति कमजोर भएको थियो। यसैगरी, उनले मानवअधिकारको चरम उल्लंघन गर्नुका साथै चुनावमा व्यापक धाँधली गरेको आरोप पनि लागेका थिए।

प्रकाशित: २२ भाद्र २०७६ ०३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App