न्युयोर्क – गृहयुद्धमा फसेको सिरियाको उत्तर पश्चिममा गत सप्ताहान्तमा भएका हिंसात्ममक घटनामा कम्तीमा १५ जना सर्वसाधारणको मृत्यु भएको छ ।राष्ट्रसंघका प्रवक्ता स्टेफान डुराजिकले इड्लिब, उत्तरी हामा र पश्चिमी अलेप्पोसमेतका सिरियाका उत्तर पश्चिम क्षेत्रमा जारी हिंसाका कारण सर्वसाधारणको मृत्यु हुने क्रम नरोएिको बताएका छन् । राष्ट्रसंघीय मानवीय सहायता संयोजन कार्यालयका अनुसार गत सप्ताहन्तमा सिरियामा चार जना बालबालिकासमेत १५ जनाको मृत्यु भएको जनाएको छ ।
डुराजिकले इड्लिबमा मात्रसय भन्दा बढी विद्यालयमा विस्थापितले शरण लिइरहेको बताए । ‘विस्थापित मानिसका निम्ति बनाइएका अस्थायी शिविरमा पहिलेदेखि नै मानिसको भिडभाड छ र हजारौं मानिस बस्ने ठाउँ नपाएर खुला आकाशमा बस्न बाध्य छन्,’ उनले भने ।
प्रवक्ता डुराजिकले चार महिना अघिदेखि भड्किएको पछिल्लो हिंसाका कारण झण्डै पाँच लाख ७५ हजार मानिस विस्थापित भएको जानकारी पनि दिएका छन् । धेरै मानिस पाँच पटकसम्म घरबाट विस्थापित हुनु परेको छ । धेरै बालबालिका शिक्षाको अवसरबाट बञ्चित भएका छन् । डुराजिकले द्वन्द्वरत सबै पक्षलाई परिस्थिति सामान्य बनाउन आग्रह गरेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
पछिल्लो समय सिरियाली फौजले रुसी सहयोगमा इड्लिब र हामासमेतका क्षेत्रमा आक्रमण तीब्र बनाएको छ । सिरियाको छिमेकी टर्की र इजरायलले पनि सिरियाका विभिन्न क्षेत्रमा बमबारी गरिरहेका छन् ।
प्रकाशित: ११ भाद्र २०७६ ०३:४६ बुधबार