५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मोदीलाई पाकिस्तानी प्रधानमन्त्रीको फोन, आतंकवादविरुद्ध लड्न सहकार्य गर्ने समझदारी

इस्लामावाद– पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोनमार्फत बधाई दिएका छन्। हालै सम्पन्न लोकसभा निर्वाचनमा मोदीको भारतीय जनता पार्टी (भाजपा) र भाजपा नेतृत्वको गठबन्धन नेशनल डेमोक्रेटिक अलाएन्सले पाएको सफलताका लागि खानले आइतबार फोनमार्फत बधाई दिएको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ। भारतीय विदेश मन्त्रालयले पनि इमरानले फोन गरेर बधाई दिएको पुष्टि गरेको छ। दुई नेताको फोनपछि दुबै देशका विदेश मन्त्रालयले बिज्ञप्ति जारी गरेका छन्। 

पाकिस्तानी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दुई नेताबीचको कुराकानीका क्रममा खानले दुवै मुलुक र त्यहाँका जनताको हितका लागि दुई मुलुकबीच सँगसँगै मिलेर अघि बढ्ने इच्छा व्यक्त गरेका थिए।’ दक्षिण एशियाको शान्ति, विकास र समृद्धिका लागि आफ्नो परिकल्पना दोहोर्याउँदै खानले मोदीसँग उक्त उद्देश्यका लागि काम गर्न चाहेको बताएको विज्ञप्तिमा उल्लेख छ।

यता भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा ‘भारतीय प्रधानमन्त्री मोदीले हिंसा तथा आतंकवादरहित नेतृत्वमार्फत् यस क्षेत्रमा शान्ति, विकास र समृद्धिका लागि सहकार्य गर्न विश्वासको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएको छ,’ उल्लेख छ।

गत फेब्रअरीमा आणविक शक्ति सम्पन्न परस्पर विरोधी दुई क्षेत्रीय मुलुकबीच भएको हवाई आक्रमण पछि मोदी र इमरानबीच पहिलोपटक फोनवार्ता भएको सञ्चारमाध्यमले जनाएका छन्।

पाकिस्तानमा बसेर गतिविधि सञ्चालन गर्दै आएको एक लडाकू समूह (जैश–ए–मोहम्मद)ले दावी गरेको एक आक्रमणमा ४० जना भारतीय सैनिक अधिकारीको मृत्यु भएको घटनालाई लिएर दुई मुलुकबीच तनाव चर्किएको थियो। जसका कारण दुवै मुलुकबीच हवाई आक्रमण र प्रतिरोधमा उत्रिएका थिए। जैस–ए– मोहम्मद सन् २००१ देखि संयुक्त राष्ट्रसंघले आतङ्कवादी सूचीमा राख्दै आएको एक लडाकू समूह हो।

मोदी र खानबीच पाकिस्तानी प्रधानमन्त्रीले निर्वाचनमा पाएको विजयसँगै मोदीले फोनमार्फत् बधाई ज्ञापन गरेको घटना नै सम्भवत दुई नेताबीचको पछिल्लो फोनवार्ता थियो।

मोदी र उनको हिन्दू राष्ट्रवादी भाजपाले गत हप्ता भारी बहुमतका साथ भारतीय लोकसभामा विजय भएपछि सफलताका लागि उनलाई बधाई दिन पाकिस्तानी प्रधानमन्त्रीले टेलिफोन गरेका हुन्। एएफपी

प्रकाशित: १२ जेष्ठ २०७६ १६:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App