९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फोहोर फिर्ता लैजान क्यानडामाथि दबाव

आफ्नो देशमा थुपारिएको फोहोर फिर्ता लैजान क्यानडासमक्ष माग गर्दै प्रदर्शनकारी। तस्बिर: एजेन्सी

मनिला – फिलिपिन्सले क्यानडामा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाउनुका साथै क्यानाडास्थित नियोगको दर्जा कटौती गरेको छ। क्यानडाले फिलिपिन्समा छ वर्षअघि थुपारेको फोहोर फिर्ता नलगेसम्म आफ्नो कूटनीतिक नियोगको दर्जामा पुनर्विचार नगरिने फिलिपिन्सका विदेश सचिव टिओडोरो लोक्सीनले बताएका छन्।

सन् २०१३ र २०१४ मा क्यानडाले फिलिपिन्सको तटीय इलाकामा सयौं टन फोहोर फालेको थियो। फिलिपिन्सले सो फोहोर जतिसक्दो चाँडो फिर्ता लैजान क्यानडामाथि दबाव दिँदै आएको छ। ‘क्यानडाले फोहोर लैजाने मे १५ को समयसीमा नाघेको छ। तत्काल उसले फाहोर लैजाने काम सुरु नगरे हामी कूटनीतिक दर्जालाई घटाउनेछौं,’     विदेश सचिव लोक्सीनले ट्विटमा लेखेका छन्।

लोक्सीनले क्यानडामा रहेका फिलिपिन्सका राजदूतलाई तत्काल क्यानडा छाड्न आदेश दिइएको पनि जानकारी गराएका छन्। मनिलास्थित क्यानेडेली राजदूतावासले सो विषय सुल्झाउन काम गरिरहेको जनाएको छ। क्यानडाले सन् २०१३ र २०१४ को अवधिमा एक सय तीन सिपिङ कन्टेनर फोहोर फिलिपिन्स पठाएको थियो। हालसम्म ३४ वटा कन्टेनरको फोहोर मात्र नष्ट गरिएको र बाँकी ६९ कन्टेनर फोहोर त्यतिकै राखिएको छ।

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले क्यानडाले फोहोर तह लगाउने सन्दर्भमा पर्याप्त कदम नचालेको भन्दै ती कन्टेनर क्यानडा फिर्ता पठाइदिने बताएका छन्। गत साता राष्ट्रपति डुटेर्टेले फिलिपिन्स आइपुगेको फोहोर फिर्ता लैजान मे १५ को समयसीमा तोकेका थिए। फिलिपिन्सको एक अदालतले गत अप्रिल २४ मा फिलिपिन्स पुगेको फोहोर क्यानडा नै फर्काउन आदेश दिएको थियो।

प्रकाशित: ३ जेष्ठ २०७६ ०१:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App