१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अजहर राष्ट्रसंघको आतंककारी सूचीमा

काठमाडौं - काठमाडौंबाट २० वर्षअघि भएको एयर इन्डियाको विमान अपहरणसँग जोडिएका जैस–ए–मोहम्मदका संस्थापक नेता मसुद अजहरलाई संयुक्त राष्ट्रसंघले आतंककारीको सूचीमा राखेको छ। बिहीट्रसंघ सुरक्षा परिषद्द्वारा जारी विज्ञप्तिमा ५१ वर्षीय मोहम्मद मसुद अजहर अल्भीलाई आतंककारी सूचीमा राखिएको उल्लेख छ। राष्ट्रसंघको नियमावलीअनुसार आतंककारीको सूचीमा राखिएपछि अजहरलाई विश्वभर घुम्न प्रतिबन्ध लगाई सम्पत्ति रोक्का गरिएको छ।

राष्ट्रसंघले आतंककारीको सूचीमा राखेका अजहर पाकिस्तानी नागरिक भएको र महसुद अजहर, वाली आदम इसाजस्ता नामले चिनिने गरेको उल्लेख छ। भारत सरकारले अजहरलाई संयुक्त राष्ट्रसंघको आतंककारी सूचीमा राख्न सक्नुलाई कुटनीतिक सफलता मानेको छ। पुलवामामा भएको आतंकवादी हमला जैस–ए–मोहम्मदका नेता महसुद अजहरलाई संयुक्त राष्ट्रसंघले आतंकवादी सूचीमा राख्नुको मुख्य कारण भएको उल्लेख गरेको छ। बिहीबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले पत्रकार सम्मेलनमार्फत मसुद आतंककारीको सूचीमा पर्नुको कारण खुलाएका हुन्।

चीनको समर्थनका कारण नै अजहर आतंककारी घोषित भएका छन्। चीनलाई मनाउन भारतले कुटनीतिक पहल गर्दै आएको थियो।

जैस–ए–मोहम्मदको पुलवामा घटनामा संलग्नताको प्रमाणहरू भारत सरकारले राष्ट्रसंघको प्रतिबन्धबारे निर्णय गर्ने कमिटीमा पेश गरेको कुमारले जानकारी गराए। १४ फेब्रुअरीमा काश्मिरको पुलवामामा ४० जना भारतीय सैनिक मारिने गरी भएको आतंकवादी हमलाको जिम्मेवारी जैस–ए–मोहम्मदले लिएपछि अजहरलाई आतंकवादी घोषणा गर्न अन्तर्राष्ट्रिय दबाब बढेको थियो। पुलवामामा घटनामा जैस–ए–मोहम्मदले जिम्मेवारी लिएको थियो। हमलापछि उक्त संगठनलाई आतंककारीको सूचीमा राख्न भारतले अन्तर्राष्ट्रिय लबिङ गरेको थियो। चीनले अजहरलाई आतंककारी घोषणा गर्ने प्रयासमा अवरोध गरेको विषय भारतभित्र उठिरहेको थियो। तर, चीनको समर्थनका कारण नै अजहर आतंककारी घोषित भएका छन्। चीनलाई मनाउन भारतले कुटनीतिक पहल गर्दै आएको थियो।

भारतको जेलबाट रिहा भएपछि मसुद अजहरले सन् १९९८ मा स्थापना गरेको जैस–ए–मोहम्मदलाई सक्रिय बनाएर भारतविरुद्ध केन्द्रित गरेका थिए। भारतले सन् २००१ मा भारतको संसदका अतिरिक्त सन् २०१६ मा पाकिस्तानको सीमा नजिकैको हवाई–बेसमा भएको हमलामा जैस–ए–मोहम्मदको संलग्नता रहेको आरोप लगाउँदै आएको थियो। उक्त संगठनलाई पाकिस्तानी गुप्तचर संस्था आइएसआईको साथ रहेको आरोप लाग्ने गरेको थियो। उसले काश्मिरलाई पाकिस्तानमा मिलाउने लक्ष्यका साथ भारतमा हिंसात्मक आक्रमणहरू गराउँदै जिम्मेवारी लिँदै आएको छ।

विमान अपहरणसँग साइनो
भारतको जेलमा रहेका अजहरसहित मुस्तक अहमद जर्गार, अहमद ओमार सइद शेख गरी तीनजनाको रिहाइको उद्देश्यसहित २४ डिसेम्बर सन् १९९९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्लीका लागि उडेको आइसी ८१४ भनिने एयर इन्डियाको ए ३०० एयरबस अपहरण गरिएको थियो। त्यतिबेला अजहर सदस्य रहेको हर्कत–उल–मुजाहिद्दीनले विमान अपहरण गरी अमृतसर, लाहोर, दुबई हुँदै तालिवान शासित अफगानिस्तानको कान्दाहारमा पु¥याई अपहरणकारीले मसुद अजहरसहितका तीनजनाको रिहाईको शर्त राखेपछि भारत सरकारले यात्रुको सुरक्षामा ध्यान दिँदै रिहा गरेको थियो।

रिहाइपछि मात्र अपहरणकारीले विमान छाडी तालिवानले उपलब्ध गराएको गाडीमा सुरक्षित स्थानतर्फ गएका थिए। काठमाडौंमा भएको विमान अपहरणपछि भारत सरकारले सुरक्षालाई दृष्टिगत गरी त्रिभुवन विमानस्थलमा आफ्नो एयर मार्सल राख्ने प्रस्ताव राख्यो। अन्तमा भारतीय विमानको सुरक्षा जाँच भारतीय पक्षले गर्ने सहमति भएपछि मात्र उडान पुनः सञ्चालन भएको थियो।

अपहरणकारीले एकजना भारतीय नागरिकको हत्या गरेका थिए भने केहीलाई आक्रमण गरी घाइते बनाएका थिए। त्यतिबेला, भारतीय जनता पार्टीका नेता अटलबिहारी बाजपेयी भारतको प्रधानमन्त्री थिए भने भारतीय गुप्तचर संस्था आइबीका तत्कालीन अजित दोभालले अपरेसनको रणनीति बनाएका थिए। तर, तालिवानले विमानमा बन्दी बनाइएको सुरक्षाका नाममा अपहरणकारीलाई संरक्षण दिएपछि भारत सरकारले अपरेसन रोकेर शर्त मान्ने निर्णयमा पुगेको थियो।

हाल भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार रहेका तत्कालीन आइबी प्रमुख दोभालले भारतले तालिवान र पाकिस्तानी गुप्तचर संस्था आइएसआईको अपहरणकारीलाई उपलब्ध सहयोगका कारण कडा कदम चाल्न नसकिएको बताएका थिए। भाजपा सरकारमा हुँदा भारतको जेलबाट रिहा गरिएका अजहर भाजपा सरकारकै पालामा विश्वकै लागि आतंककारी घोषित भएका छन्। २० वर्षअघि विमान अपहरण हुँदा भारतको गुप्तचर संस्थाका प्रमुख रहेका अजित दोभाल हाल भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार छन्।

प्रकाशित: २० वैशाख २०७६ ०३:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App