बेइजिङ – संयुक्त राज्य अमेरिका र चीनबीच उत्पन्न व्यापार तनाबलाई सम्झौता मार्फत सहज तुल्याउने उपाय खोज्न दुवै मुलुकबीच बेइजिङमा बुधबारदेखि पुनः व्यापार वार्ता सुरु भएको छ।
व्यापार वार्तामा सहभागी हुन अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटजर र अर्थमन्त्री स्टिभेन मन्चिन बेइजिङमा छन्। उनीहरुलाई चिनियाँ प्रतिनिधिमण्डलका नेता एवं उपप्रधानमन्त्री लिऊ हेले स्वागत गरेका थिए। अमेरिकी प्रतिनिधिहरुले यसपटकको वार्ता निर्णायक हुन सक्ने बताएका छन्।
दुवै देशका व्यापार प्रतिनिधिबीच वासिङ्टनमा गत शुक्रबार पनि वार्ता भएको थियो। अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटजरले केही महŒवपूर्ण विषयमा सहमति हुन अझै बाँकी रहेको प्रतिक्रिया दिएका थिए।
अमेरिका र चीनले एकअर्का मुलुकका करिब तीन खर्ब ६० अर्ब डलर बराबरका सामानमा करवृद्धि गरेका छन्। यो करवृद्धि हाल १० प्रतिशत रहे पनि व्यापार वार्तामा सहमति नभए २५ प्रतिशत पु-याइने अमेरिकी राष्ट्रपतिले चेतावनी दिँदै आएका छन्।
अमेरिकाले खासगरी अमेरिकी प्रविधि जबर्जस्ती चीनले चोरी गरेको, बौद्धिक सम्पत्तिको संरक्षण गर्न नसकेको, चिनियाँ बजार विदेशी कम्पनीका लागि खुला नगरेको तथा चिनियाँ कम्पनीलाई सरकारले अनेक सहुलियत उपलब्ध गराएर विदेशी कम्पनीको प्रतिस्पर्धी क्षमता कमजोर बनाएको आरोप लगाएको छ। चीनको संरक्षणमुखी नीतिकै कारण अमेरिकासँग चीनको व्यापार घाटा छ खर्ब डलरभन्दा माथि पुगिसकेको अमेरिकी भनाइ छ।
चीनले अमेरिकी आरोपको खण्डन गरिरहेको छ। चीनले खुला विश्व व्यापारमा अमेरिकी नीति बाधक बन्न थालेको र अमेरिकी राष्ट्रपतिका नीति संरक्षणवादी शैलीका रहेको बताउँदै आएको छ।
प्रकाशित: १९ वैशाख २०७६ ०२:५८ बिहीबार