१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘ट्रम्पको सन्देश उत्तर लैजान दक्षिण कोरिया प्रतिक्षारत’

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इन। तस्बिरःएजेन्सी

सोल – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनलाई पठाएको सन्देश हस्तान्तरण गर्न आफू प्रतिक्षारत रहेको दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले बताएका छन्।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका एक अधिकारीका अनुसार त्यस्तो सन्देश दुबै नेताबीच हुने सम्भावित अन्तर–कोरियाली चौथो सम्मेलनका अवसरमा हस्तान्तरण गरिनेछ। अमेरिकी सञ्चारमाध्यम सिएनएनले गोप्य स्रोतलाई उल्लेख गरी राष्ट्रपति मुनले ट्रम्पको सन्देश उत्तर कोरियासम्म पु¥याउन उपयुक्त समयको प्रतिक्षामा रहेको जनाएको थियो। दक्षिण कोरियाली राष्ट्रपति मुनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई यसै महिनाको सुरुमा ह्वाइट हाउसमा भेटवार्ता गरेका थिए। दुई राष्ट्रपतिबीचको भेटमा वासिङ्टन र प्योङयाङबीचको अवरुद्ध निःशस्त्रीकरण वार्ता पुनः सुरु गर्नेबारेमा छलफल भएको दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले उल्लेख गरेको छ। ‘यदि अन्तर–कोरियाली शिखर सम्मेलन भएमा उत्तर कोरियाली नेतासम्म राष्ट्रपति ट्रम्पको सन्देश हस्तान्तरण गरिनेछ,’ राष्ट्रपति कार्यालय ब्लू हाउसका अधिकारीलाई उद्धृत गर्दै योन्हापले जनाएको छ। तर सन्देशमा रहेको व्यहोराबारे भने ती अधिकारीले कुनै कुरा उल्लेख नगरेको बताइएको छ।

राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भियतनामको हनोईमा गत फेब्रुअरी २७ र २७ मा भएको दोस्रो शिखर वार्ता आणविक निःशस्त्रीकरण र उत्तर कोरियामाथिको प्रतिबन्धका विषयमा समझदारी बनाउन नसकी विफल भएसँगै दुबै मुलुकबीच आरोप–प्रत्यारोप जारी छ।
यसै महिनाको सुरुमा उत्तर कोरियाली नेता किमले दिएको प्रमुख नीति भाषणमा संयुक्त राज्य अमेरिका कुनै नयाँ योजनाका साथ अघि आएमा राष्ट्रपति ट्रम्पसँग यसै वर्षको अन्त्यसम्ममा तेस्रो शिखर वार्ताका लागि आफू तयार रहेको बताएका थिए। तर यस्तो प्रस्ताव प्योङयाङलाई पनि स्वीकार्य हुनुपर्ने किमको भनाइ रहेको थियो।

उत्तर कोरियाली सर्वोच्च नेता किमको सो धारणा सार्वजनिक भए यता प्योङयाङले अमेरिकाविरुद्धको आलोचनालाई तीब्र बनाएको छ। उत्तर कोरियाका वरिष्ठ कुटनीतिक अधिकारीहरुले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले प्योङयाङको चाहनालाई राम्रोसँग बुझ्दै नबुझी असान्दर्भिक प्रतिक्रिया दिएको आरोप लगाएका छन्। अमेरिका र उत्तर कोरियाबीच आरोप–प्रत्यारोप चलिरहेकै बेला प्योङयाङले गत साता सुधारिएको नयाँ हतियारको परीक्षण गरेको थियो।

प्रकाशित: ९ वैशाख २०७६ ०२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App