१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ब्रुनाईमा सारिया कानुन

ब्रुनाई– ब्रुनाईमा व्यभिचारी र समलिङ्गी यौन सम्बन्ध राख्नेमाथि ढुंगाले हिर्काएर मारिने समेतका कडा व्यवस्था समेटिएको नयाँ इस्लामिक (सारिया) कानुन बुधबारदेखि लागू भएको छ।

विश्व राजनीतिक नेता, अधिकारकर्मी तथा अभियन्तासमेतले चौतर्फी आलोचना गरेपनि ब्रुनाईका सुल्तानले नयाँ कानुनमा हस्ताक्षर गरेका छन्। दक्षिण पूर्वी एसियाको सानो मुस्लिम राष्ट्र ब्रुनाईमा यो कानुन वर्षौंपछिको छलफलपछि कार्यान्वयनमा आएको बताइएको छ। ब्रुनाईमा सुल्तान हस्सनल बोल्किया लामो समयदेखि सत्तामा रहेका छन्।

नयाँ कानुनमा चोरी गर्नेहरुका हात र खुट्टा काटिने व्यवस्था समेत गरिएको छ। ब्रुनाइको मुलुकी ऐनको यस्तो व्यवस्था खासगरी साउदी अरबसमेतका खाडी राष्ट्रमा प्रयोगमा छ। पूर्वी वा दक्षिण पूर्वीएसियामा कठोर सारिया कानुन देशव्यापी रूपमा पूर्ण कार्यान्वयन गर्ने ब्रुनाई पहिलो राष्ट्र हो।

ब्रुनाइको यस्तो निर्णयप्रति विश्व समुदायले कटु आलोचना गरेको छ। संयुक्त राष्ट्र संघले सारिया कानुनका व्यवस्था ‘निर्मम र अमानवीय’ रहेको जनाएको छ भने प्रसिद्ध नायक जर्ज क्लुनी, पपस्टार एल्टन जोनसमेतका कलाकारले ब्रुनाईका सेवा बहिस्कार गर्न आग्रह गरेका छन्।

ब्रुनाईका सुल्तानको कदमप्रति अरब राष्ट्रले भने स्वागत गरेका छन्। ब्रुनाईका सुल्तान विश्वकै धनी व्यक्तिमा गनिन्छन्। सुल्तानले नयाँ सारिया कानुन ल्याउनेबारे सन् २०१३ मै घोषणा गरेका थिए। सन् २०१४ मा सारिया कानुनको पहिलो प्रस्ताव सार्वजनिक गरिएको थियो। पहिलो प्रस्तावित कानुनमा दण्ड सजाय केही खुकुलो थियो। 

 

प्रकाशित: २१ चैत्र २०७५ ०५:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App