२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

किम जोङ–नाम हत्या आरोपीलाई जेल

डोन थी हुवोङ।

वालालाम्पुर– उत्तर कोरियाली शासक किम जोङ–उनको सौतेनी दाजु किम जोङ–नाम हत्याको आरोप लागेको एक भियतनामी महिलालाई तीन वर्ष चार महिना जेल सजाय तोकिएको छ। 

डोन थी हुवोङ नामकी ती महिलालाई नाम हत्याको आरोपमा मृत्युदण्ड हुन सक्ने अनुमान विपरीत मलेसियाको एक अदालतले उनको दोष थोरै मात्र रहेको भन्दै जेल सजाय तोकेको हो। 

उनको जेल जीवन उनलाई पक्राउ गरेको मिति फेब्रुअरी २०१७ देखि नै गणना हुने पनि मलेसियाली अदालतले फैसलामा भनेको छ।

तीन वर्ष चार महिना जेल सजाय तोकिएको भए पनि मलेसियाली कानुनअनुसार ती महिला आउँदो मे महिनामा जेलमुक्त हुन सक्ने उनको कानुन व्यवसायीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

‘मे महिनाको पहिलो सातामा उनी आफ्नो घर फर्किने छिन्,’ हुवोङको वकिल हिस्याम तेह तेइकले मलेसियाली राजधानी क्वालालाम्पुरस्थित साह अलाम अदालतबाहिर सञ्चारकर्मीहरुसँग बताए। 

अदालतको निर्णयले आफूहरु अत्यन्तै खुसी भएको हुवोङकी सैतेनी आमा गुयन थी भाइले बिबिसीलाई बताइन्। ‘यस मुद्दामा समर्थन गर्ने सरकार, कानुन व्यवसायी र सम्पूर्ण समुदायप्रति हामी हार्दिक आभार प्रकट व्यक्त गर्न चाहन्छौं,’ उनले बताइन्। 
किम नामको हत्यामा यदि हुवोङलाई पूर्ण रूपमा दोषी पाइएको भए उनले मृत्यु दण्ड समेत भोग्नपथ्र्यो।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनका सौतेनी दाजु किम नामको सन् २०१७ मा विषाक्त पदार्थको प्रयोगद्वारा अति व्यस्त क्वालालाम्पुरस्थित विमानस्थलमा हत्या भएको थियो।

भियतनामी महिलाको पनि संलग्नता पुष्टि नभएर कम सजाय तोकिएपछिको विकसित अवस्थाअनुसार अब नाम हत्याको अभियोगमा कोही पनि हिरासतमा रहेका छैनन्।

नाम हत्याको अभियोगमा भियतनामी महिला हुवोङसहित पक्राउ परेकी एक इन्डोनेसियाली महिला पनि केही समय अघि निर्दोष सावित हुँदै जेलमुक्त भएकी थिइन्। नाम हत्यामा हुवोङसँगै मुछिएकी सिति आइस्या नामकी ती इन्डोनेसियाली महिला गत महिला जेलमुक्त भएकी थिइन् । मलेसियाली महान्यायाधिवक्ताको हस्तक्षेपपछि आइस्या रिहा भएकी थिइन्। 

हुवोङले पनि आइस्याले जस्तै आफूले पनि जेलमुक्त हुन पाउनुपर्ने माग गरेकी थिइन् तर गत मार्च १४ का दिन अधिकारीहरुले उनको आग्रहलाई अस्वीकार गर्दै उनीविरुद्ध मुद्दा जारी रहने बताएका थिए। सो निर्णयपछि भएको सुनुवाईमा उनी अदालत परिसरभित्रै रोएकी थिइन्। उनले आफूहरुले हत्या नगरेको भन्ने विषय भगवानलाई मात्रै थाहा भएको भन्दै आफ्नो परिवारको सदस्यले प्रार्थना गरिदिउँन् भन्ने चाहेको सञ्चारकर्मीहरुसँग बताएकी थिइन्। 

दुवै महिलाले आफूहरु निर्दोष रहेको सुरुदेखि नै बताउँदै आएका थिए। उनीहरुले आफूहरुलाई एउटा टेलिभिजन कार्यक्रमका लागि अपरिचित ती मानिसको अनुहारमा गएर केही दलिदिन भनेकाले त्यस्तै गरेको बताउने गरेका थिए। 

 

प्रकाशित: १९ चैत्र २०७५ ०७:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App