१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मेक्सिको सीमा बन्द गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमा बन्द गर्ने चेतावनी दिएका छन्। संयुक्त राज्य अमेरिका प्रवेश गर्ने आप्रवासीलाई रोक्न यदि मेक्सिकोले कुनै कदम नचाले आफूले बाध्य भएर सीमा बन्द गर्नुपर्ने चेतावनी राष्ट्रपति ट्रम्पले दिएका हुन्। सीमा बन्द भयो भने यसले सीमा वारपारमा समस्या हुने र अर्बौं डलरबराबरको व्यापारमा पनि समस्या हुने ट्रम्पको चेतावनी उद्धृत गर्दै बिबिसीले जनाएको छ।

मेक्सिको सीमा पार गर्दै अमेरिकामा शरण खोज्न आउने आप्रवासीको संख्यामा कमी नआएपछि राष्ट्रपति ट्रम्पको यस्तो चेतावनी बाहिरिएको हो।
उता, मेक्सिकोका राष्ट्रपति एन्ड्रेज म्यानुएल लोपेज ओब्राडरले भने यस विषयमा आफू अमेरिकासँग आमनेसामने नहुने स्पष्ट पारेका छन्। मेक्सिको अमेरिकाका लागि असल छिमेकी भएकाले कुनै पनि प्रकारको चेतावनीका आधारमा मेक्सिकोले व्यवहार नगर्ने विदेशमन्त्री मार्सेलो एबरार्डले गरेको ट्विट उद्धृत गर्दै बिबिसीले जनाएको छ।

ट्रम्पले के भने ?
‘मेलै अर्को साता सीमा बन्द गर्दै छु र मलाई लाग्छ यो अति नै उत्तम कार्य हुनेछ,’ शुत्रबार पत्रकारहरुसँग बोल्दै राष्ट्रपति ट्रम्पले बताएका थिए।
‘मेक्सिकोका लागि अमेरिका प्रवेश गर्ने मान्छेलाई रोक्ने काम अति नै सजिलो कार्य हो तर उसले त्यस्तो गरिरहेको छैन,’ ट्रम्पले बताएका थिए।
त्यसपछि शृखंलाबद्ध ट्विट गरेका ट्रम्पले मेक्सिकोसँग अमेरिकाले धेरै नै पैसा गुमाएको तर उसले लागू औषधजस्ता कार्य अघि बढाएकाले सीमा बन्द गर्नु उपयुक्त हुने उल्लेख गरेका छन्।

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो विदेश मन्त्रालयलाई एल साल्भाडोर, होन्डुरस र ग्वाटेमालालाई प्रदान गर्दै आइरहेको प्रत्यक्ष सहयोग बन्द गर्न निर्देशन दिएका छन्। गैरकानुनी तरिकाले अमेरिका प्रवेश गर्नेमध्ये पछिल्ला समय यी देशहरुबाट जानेको संख्या धेरै रहेको छ।
राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमा बन्द गर्ने बताए पनि उनले यसका लागि देशको संसद्को पनि साथ लिन जरुरी छ तर धेरैजसो सांसदले भने बसाइँसराइँको प्रमुख कारण पैसा भएकाले त्यसविरुद्ध लड्नु पर्ने बताउँदै आएका छन्।

मेक्सिकोको प्रतिक्रिया के छ ?
मेक्सिकोका राष्ट्रपति एन्ड्रेज म्यानुएल लोपेज ओब्राडरले अमेरिका प्रवेश गर्ने आप्रवासीको समस्या वा मुद्दा मेक्सिकोका जनतासँग मात्रै सीमित नरहेको बिहीबार बताएका थिए। उनले आप्रवासीको समस्या मेक्सिकोबाट भन्दा पनि मध्य अमेरिकी देशहरुबाट बढी भएको भन्दै अमेरिकाको ध्यानाकर्षण गराएका थिए।

‘मेक्सिकोका नागरिकले आजकाल अमेरिकामा काम खोजिरहेका छैनन्। अधिकांश आप्रवासी मध्य अमेरिकी राष्ट्रहरुबाट छन्,’ उनले बताएका थिए। अमेरिकी राष्ट्रपति ट्रम्पको शुक्रबारको ट्विटमाथि प्रतिक्रिया दिँदै उनले आफ्ना समर्थकहरुको भीडमा भने, ‘म यो स्पष्ट पार्न चाहन्छु की हामी संयुक्त राज्य अमेरिकाको सरकारसँग झगडा गर्न गइरहेका छैनौं। हामी शान्ति र माया चाहन्छौं।’ उनले बसाइँसराइँ गर्नु मानवअधिकार भएको भन्दै मध्य अमेरिकी देशका नागरिकलाई जीवन धान्नका लागि कुनै विकल्प नरहेको समेत बताए।
क्याप्सन ः  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प।

 

प्रकाशित: १७ चैत्र २०७५ ०५:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App