५ वैशाख २०८१ बुधबार
अन्तर्राष्ट्रिय

पारि चुनाव, वारी चासो

वीरगन्जसँग सीमा जोडिएको भारतीय सहर रक्सोल। तस्बिर : नागरिक

वीरगन्ज - भारतमा आगामी चैत २८ देखि जेठ ४ सम्म सात चरणमा लोकसभाको निर्वाचन हुँदै छ। सीमापारी चुनावी माहोल तातिन थाल्दा वारिसमेत निकै चासो बढ्दै गएको छ। बिहानको चिया गफदेखि सामाजिक सञ्जालसम्म भारतीय चुनावको चर्चा–परिचर्चा हुन थालेको छ।‘भारतको लोकसभा निर्वाचनले नेपालका जनताका विभिन्न स्तरमा परोक्ष सरोकार राख्दछ। भारतमा लोकतन्त्र बलियो हुँदा त्यसको प्रभाव छिमेकी मुलुकमा पनि पर्छ। नेपाल पनि त्यसबाट अछुतो रहन सक्दैन। त्यहाँका चुनावी मुद्दा, नारा र राजनीति कार्यक्रमहरूले हामीकहाँ पनि गहिरो छाप छाडेका हुन्छन्,’ त्रिवि राजनीतिशास्त्रका प्राध्यापक विजयकान्त कर्ण भन्छन्, ‘सीमाआसपासमा बसोबास गर्ने आमजनताका परस्पर सरोकारलाई बुझेका प्रतिनिधि चयन होस् भन्ने सीमावारिका जनताको स्वाभाविक अपेक्षा रहन्छ।’

सीमापारि र वारि वार्षिक हजारभन्दा बढी वैवाहिक सम्बन्धहरू गाँसिन्छन्। चुनावी अवधिमा त्यस्ता वैवाहिक कार्यक्रमहरू राखिँदैनन्। वारिका कतिपय नागरिक सीमापारिका आफन्त वा हितैषीहरूकहाँ चुनावी कार्यक्रममा सघाउनसमेत पुग्ने गर्छन्। चुनावका लागि सीमापारि सुरक्षा सतर्कता बढाउँदा वारितिर आवतजावत घट्दछ। सीमापारिको निर्वाचन अवधिमा नेपालमा यस्तै खालका ससाना प्रभावहरू देखिने गरेको सामाजिक अभियन्ता तबरेज अहमद बताउँछन्। उनका अनुसार भारतको लोकसभा निर्वाचन विश्वकै ठूलो लोकतान्त्रिक अभ्यास भएकाले सीमावारि पनि त्यसको प्रभाव गर्ने गरेको हो।

‘जनस्तरको सम्बन्धलाई बुझ्ने प्रतिनिधित्व हुन लागिरहेको छ कि छैन ? सीमापारको गैरराजनीतिक सरोकारलाई उनीहरूले बुझ्छन् कि बुझ्दैनन् अनि व्यवस्थापन गर्छन् कि गर्दैनन् ? देशको राजनीतिक सम्बन्ध औपचारिक रूपमा दिल्ली र काठमाडौंले तय गर्ने भएकाले त्यहाँ सीमाका वास्तविकता बुझ्ने प्रतिनिधित्व भएको छ कि छैन ?’ विश्लेषक चन्द्र किशोर भन्छन्, ‘यो आमनिर्वाचन भारतको आन्तरिक विषय हो। तर दिल्ली र काठमाडौं दुवैतिर सीमाक्षेत्रको समस्या बुझिदिने र बोलिदिने प्रतिनिधित्व भयो भने त्यसले ठूलो अर्थ राख्दछ।’

उनको भनाइमा रक्सोल एउटा सानो सहर मात्र नभएर अन्तर्राष्ट्रिय सीमाक्षेत्र भन्ने दलहरूले बुझ्नुपर्छ र त्यसलाई महत्व दिनेलाई त्यहाँबाट प्रतिनिधित्व गराउन सक्नुपर्छ। सीमा क्षेत्रका समस्या बुझेका प्रतिनिधि चयनले नेपाल–भारतबीचको सम्बन्ध सुदृढीकरणमा महत्व राख्ने गरेको भारतीय पत्रकार तथा मिडिया फोर बोर्डर हार्मोनिका अध्यक्ष अमरेन्द्र तिवारी बताउँछन्। सीमा जोडिएका क्षेत्रबाट प्रतिनिधित्व गर्ने दलहरूले टिकट वितरणकै बेलादेखि प्रत्यासी चयनमा संवेदनशीलता देखाए त्यसबाट राम्रो प्रतिफल पाइने उनको भनाइ छ।

चुनाव नजिकिँदै जाँदा सीमाक्षेत्रमा सुरक्षा सतर्कता बढाइन्छ। जसले गर्दा सीमाक्षेत्रमा हुने साना व्यापारमा कमी आउँछ। भारतीय बजारमा नेपाली ग्राहकको घुइँचो कम हुन्छ र भारतीयहरूको नेपाली बजारतिरको आगमन पातलिन्छ। हरेक चुनावमा हुने विभिन्न राजनीति गतिविधि र मुद्दाहरूले नेपालमा प्रभाव पार्छ। सात चरणमा हुने भनिएको लोकसभाको निर्वाचन आगामी वैशाख २९ मा नेपालको तराईसँग जोडिएको सीमावर्ती क्षेत्रमा हुँदै छ।

सन् १९९८ को आमनिर्वाचनमा भारतीय राष्ट्रिय कांग्रेसविरुद्धमा भारतीय जनता पार्टीको अगुवाइमा विभिन्न दललाई सामेल गरी नेसनल डेमोक्रेटिक एलाइन्स (एनडिए) गठन भएको थियो। यसलाई टक्कर दिन सन् २००४ मा कांग्रेसको नेतृत्वमा पुनः अर्को त्यस्तै समूह युनाइटेड प्रोग्रेसिभ एलाइन्स (युपिए) गठन भयो। यी दुई गठबनधनबीच हँुदै आएजस्तै टक्कर यसपालि पनि हुँदै छ। भारतीय जनता पार्टीले आफ्नो तर्फबाट भावी प्रधानमन्त्रीका रूपमा हालका प्रधानमन्त्री नरेन्द्र मोदीलाई र भारतीय राष्ट्रिय कांग्रेसले राहुल गान्धीलाई अघि सारेका छन्।

प्रकाशित: ३० फाल्गुन २०७५ ०२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App