coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

संघीय कार्यालय खोल्न ट्रम्पले अघि सारे नयाँ प्रस्ताव

वासिङ्टन – चार साताभन्दा बढी समयदेखि आंशिक रूपमा बन्द रहेका अमेरिकी संघीय कार्यालय खोल्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ प्रस्ताव अघि सारेका छन्। अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउन आफ्नो महत्वकांक्षी योजना यथावत राख्दै ट्रम्पले टेलिभिजनमार्फत् सम्बोधन गर्दै नयाँ प्रस्ताव अघि सारेको बिबिसीले जनाएको छ।

युवा अवस्थामा अमेरिका प्रवेश गरेका ‘तथाकथित ड्रिमर्स’लाई स्वदेश फर्काउने कार्य तत्कालका लागि स्थगन गरिने विषय उनले पेश गरेको प्रस्तावमा छ। राष्ट्रपति ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउन ५७ अर्ब अमेरिकी डलर माग गर्दै आएका छन्। सन् २०१६ को राष्ट्रपतीय निर्वाचन अभियानदेखि नै मेक्सिको सीमामा पर्खाल लगाउने भन्ने ट्रम्पको अभियानलाई सन् २०१८ को नोभेम्बरमा भएको अमेरिकी मध्यावधि निर्वाचनले धक्का दिएको थियो। सो निर्वाचनबाट तल्लो सदनमा डेमोक्रेटको बहुमत पुगेपछि ट्रम्प योजनामा असहजता उत्पन्न भएको छ।

अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स्’ मा बहुमत भएको डेमोक्रेटहरुले राष्ट्रपति ट्रम्पको पर्खाल अभियान काम नलाग्ने कार्य भन्दै उनले माग गरेको बजेट स्वीकृत गर्न अस्वीकार गर्दै आएका छन्। आफ्नो योजनाका लागि पर्याप्त रकम नपाउने भएपछि राष्ट्रपति ट्रम्पले संघीय बजेटमा समेत हस्ताक्षर नगरिदिँदा विगत चार सातादेखि संघीय कार्यालय आंशिक रूपमा बन्द रहेका छन्। यति लामो समयसम्म आंशिक रूपमा सरकारी कार्यालय बन्द भएको अमेरिकी इतिहासमै यो पहिलो घटना हो। जसका कारण आठ लाखभन्दा बढी कामदार प्रभावित बनिरहेका छन् र तलबविहीन बन्न पुगेका छन्।

ट्रम्पको सम्बोधनमा के थियो ?
राष्ट्रपति ट्रम्पले सम्बोधनको सुरुमै आप्रवासीलाई स्वागत गर्ने अमेरिकाको गर्विलो इतिहास रहेको भए पनि यो प्रणाली लामो समयदेखि नराम्ररी बिग्रिएको बताएका थिए। आफूले लामो समयदेखि बन्द रहेको कार्यालय खोल्ने प्रक्रियाका लागिसम्बोधन गरको भन्दै ट्रम्पले संसद्लाई सरकारी कार्यालय खोल्नका लागि मार्ग प्रशस्त गरिदिन आग्रह गरे।

उनले सम्बोधनका क्रममा अमेरिका–मेक्सिको सीमामा पर्खाल किन लगाउनुपर्छ भनेर पुनः प्रष्ट्याए। उनले यो नियमित प्रक्रिया नभएर एकै चोटी उच्च महŒवको क्षेत्रमा स्टिल ब्यारियर्स लगाउने प्रक्रिया भएको बताए। यद्यपि आफूलाई चाहिएको ५७ अर्ब डलरको माग भने उनले सम्बोधनका क्रममा पनि दोहोर्‍याएको ट्रम्पको सम्बोधन उद्धृत गर्दै बिबिसीले जनाएको छ। सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले अमेरिकामा हाल विद्यमान समस्या हटाउनका लागि दुईवटा योजनाअघि सारेका छन्। ती योजनामा ड्रिमर्स र टेम्पोररी प्रोटेक्सन स्टाटस (टिपिएस) धारी व्यक्तिलक्षित रहेका छन्। बाल्यअवस्थामै आफ्ना अभिभावकसहित गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका सातलाख भन्दा बढी ड्रिमर्स अमेरिकामा हाल रहेका छन्। अमेरिकामा हाल विद्यमान कानुनअनुसार ती ड्रिमर्सहरु अमेरिकामा वर्क पर्मिट लिएर काम गर्न पाउँछन् तर नागरिकता भने पाउँदैनन्। उनीहरुलाई पक्राउ गरेर उनीहरु आएको देश पनि फिर्ता गरिँदैन। यो कार्यक्रमलाई राष्ट्रपति ट्रम्पले हटाउन चाहिरहेका छन्। यद्यपि उनले ड्रिमर्सको सुरक्षा कार्यक्रमको अवधि अर्को तीन वर्ष बढाउन आफू तयार रहेको सम्बोधनका क्रममा बताएका छन्। उनले ती ड्रिमर्सहरुलाई वर्क परमिट दिन पनि तयार रहेको बताएका छन्। उनले आफूले माग गरेको बजेट पाए ती आप्रवासीहरुलाई स्वदेश फर्काउने कार्य तत्कालका लागि स्थगित हुने समेत बताएका छन्।

राष्ट्रपति ट्रम्पले सम्बोधनकै क्रममा टिपिएस वाहकहरुको प्रवेशाज्ञा पनि तीन वर्ष थप्न तयार रहेको बताएका छन्। टिपिएस कार्यक्रमअनुसार विभिन्न प्राकृतिक प्रकोप र युद्धका कारण प्रभावित तीनलाख भन्दा बढी विदेशी नागरिक अमेरिकामा काम गरिरहेका छन्। यो कार्यक्रमको पनि राष्ट्रपति ट्रम्पले सुरुदेखि नै विरोध गर्दै आइरहेका छन्।  ट्रम्पले आंशिक रूपमा बन्द रहेका संघीय कार्यालय खोल्नका लागि अगाडि सारेका अन्य प्रस्तावहरुमा आपत्कालीन मानवीय सहायताका लागि ८० करोड डलर प्रदान गर्ने, दुई हजार सात सय ५० सीमा सुरक्षा एजेन्ट र सुरक्षाकर्मी नियुक्त गर्ने र ७५ नयाँ आप्रवासी न्यायाधीशको समूह निर्माण गर्नेलगायतका छन्। यसमध्ये ७५ जना नयाँ न्यायाधीश नियुक्त गर्ने भन्ने ट्रम्पले अघि सारेको योजना डेमोक्रेटहरुले नै सुझाव दिएको प्रस्ताव भएको बताइएको छ।

राष्ट्रपति ट्रम्पले आफूले एकदमै विचार गरेका मिलापत्रका लागि नयाँ अवधारणा अघि सारेको बताउँदै यसले नै विश्वासको वातावरण सिर्जना गर्ने जिकिरसमेत गरेका छन्।

प्रकाशित: ७ माघ २०७५ ०४:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App