१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

एक कराेड ५० लाखले मारे नदीमा डुबुल्की

भारतको उत्तरी राज्य उत्तर प्रदेशस्थित अल्लाहबादमा मंगलबारबाट सुरु भएको कुम्भमेलाका सहभागी। तस्बिर : एजेन्सी

नयाँ दिल्ली – कुम्भ मेला पर्वको महत्वपूर्ण अंगअन्तर्गत करोडौं मानिसले भारतको पवित्र गंगा र यमुना नदीको दोभानमा डुबुल्की मारेका छन्।  मानव सभ्यताकै सबैभन्दा विशाल जमघट कुम्भ मेलाको सुरुको दिन मंगलबार एक करोड ५० लाखभन्दा बढी मानिसले मंगलबार पवित्र डुबुल्की मारेको बिबिसीले उल्लेख गरेको  छ। ४९ दिनसम्म चल्ने कुम्भ मेलामा करिब १२ करोड मानिसले कुम्भमेलामा भ्रमण गर्ने आयोजकहरुले बताएका छन्। 

नदीमा स्नान गर्नाले पाप पखालिने र मुक्ति मिल्ने विश्वास हिन्दू धर्मावलम्बीहरुले गर्ने गरेका छन्। भर्खरै प्रयागराज नामकरण गरिएको भारतको उत्तरी सहर अल्लाहबादमा आयोजित कुम्भ मेलाका प्रमुख आकर्षण भनेको ‘नागा साधुहरु’ रहेका थिए। 

यसअघि सन् २०१३ को कुम्भ मेलामा पहिलो पटक महिला धर्मावलम्बीहरुलाई पनि नदीका दोभानमा नुहाउन दिइएको थियो। मंगलबार बिहान पवित्र नदीहरुमा नुहाउनेमध्ये सयौंको संख्यामा तेस्रो लिंगी पनि रहेका थिए। १० लाखभन्दा बढी विदेशी तीर्थयात्रीले पनि कुम्भ मेलामा सहभागिता जनाउने वरिष्ठ प्रशासनिक अधिकारी राजिव राईलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। वरिष्ठ प्रशासनिक अधिकारी राई र अन्य आयोजकहरुले कुम्भ मेलाका लागि एकवर्ष भन्दा बढी समयदेखि तयारी गरिरहेका थिए। 

‘सबै धार्मिक सम्प्रदायलाई उनीहरुको कर्म र नुहाउने विधिका लागि समय छुट्याइएको छ,’ राईलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। ‘हामीले भीड नहोस् भनेर ट्राफिक योजना पनि बनाएका छौं। मेला क्षेत्र पैदल यात्रुका लागि मात्रै खुला गरिएको छ,’ उनले बताए। अल्लाहबादमा शताब्दीऔंदेखि मेला हुँदै आएको भए पनि पछिल्ला दुई दशकदेखि त्यस्ता मेला विशाल मेलामा परिवर्तन भएका छन्। यस वर्ष यो मेलामा विगतमा भन्दा धेरैको सहभागिता हुने अनुमान गरिएको छ। भारतको हिन्दू राष्ट्रवादी सरकारले आसन्न राष्ट्रिय निर्वाचनमा ध्यान दिँदै यस कार्यक्रमलाई आयोजना गरेको कतिपयले बताउने गरेका छन्। अल्लाहबाद सहर र कुम्भ मेला आयोजना भएको ग्राउन्डमा प्रधानमन्त्री नरेन्द्र मोदीका विशाल बिलबोर्डहरु राखिएका छन्। तीर्थयात्रीले नुहाउने क्षेत्रमा पनि रणनीतिक रूपमै प्रधानमन्त्री मोदीको तस्बिर अंकित कार्डबोर्डहरु राखिएको बिबिसीले जनाएको छ। 
कुम्भ मेलामा आउने तीर्थयात्रीलाई मध्यनजर गर्दै ३२ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको अस्थायी टेन्ट सहर निर्माण गरिएको छ। कुम्भ मेलालाई नै ध्यानमा राख्दै सरकारले सयौं किलोमिटर नयाँ सडक निर्माण गरेको छ। कुम्भ मेलाकै लागि भनेर कैयौं अस्पताल, बैंक र अग्निनियन्त्रण सेवा राखिएको छ भने एक लाख २० हजारभन्दा बढी शौचालय पनि निर्माण गरिएको बिबिसीले उल्लेख गरेको छ। तीर्थयात्रीलाई सहजता प्रदान गर्नका लागि अल्लाहबादबाट र अल्लाहबादतर्फ सयौं नयाँ रेल सेवा सञ्चालनमा ल्याइएको छ। भीड नियन्त्रण गर्न र तीर्थयात्रीको सुरक्षाका लागि ३० हजारभन्दा बढी प्रहरी र अर्धसैनिक बल खटाइएको भारतीय अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। 

प्रकाशित: २ माघ २०७५ ०७:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App