७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

इटालीका लागि उत्तर कोरियाली राजदूत सम्पर्कविहीन

सोल – इटालीका लागि उत्तर कोरियाली राजदूत बेपत्ता भएको दक्षिण कोरियाले जनाएको छ। रोमका लागि उत्तर कोरियाका कार्यवहाक राजदूत जो सङ–गिल बेपत्ता भएको दक्षिण कोरियाली गुप्तचर निकायले अधिकारीहरुलाई जानकारी गराएको सोलले बताएको छ।

इटालीमा रहेका प्योङयाङका उच्च कूटनीतिज्ञ जोले नाम उल्लेख नगरिएको एउटा पश्चिमा देशमा राजनीतिक शरण लिएको भन्ने अपुष्ट विवरण पनि प्राप्त भएको बिबिसीले जनाएको छ। जो उत्तर कोरियाका उच्च अधिकारीका छोरा एवं ज्वाइँसमेत भएको बताइएको छ। उत्तर कोरियालाई धोका दिने हालसम्मका अन्तिम उच्च कूटनीतिज्ञ बेलायतका लागि उपराजदूत रहेका थिए। थाइ योङ–हो नामका ती उपराजदूतले सन् २०१६ मा सो पद त्याग्दै आफ्नी पत्नी र बालबालिकासहित दक्षिण कोरिया गएका थिए।

इटालीले तत्कालीन कोरियाली राजदूत मुन जोङ नामलाई निष्कासन गरेपछि अक्टोबर २०१७ देखि ४८ वर्षीय जोले रोमका लागि कार्यवहाक राजदूतका रूपमा काम गर्दै आएका थिए। प्योङयाङको आणविक र लामो दूरीको क्षेप्यास्त्र कार्यक्रमको विरोधमा संयुक्त राष्ट्रसंघको प्रतिबन्धप्रति प्रतिबद्धता जनाउँदै इटालीले तत्कालीन उत्तर कोरियाली राजदूत मुनलाई देश निकाला गरेको थियो। जोको कार्यकाल सन् २०१५ को मे महिनाबाट सुरु भएको थियो र गत नोभेम्बर महिनामै अन्त्य भएको थियो।

उत्तर कोरियाबाट अन्यत्र देशमा राजनीतिक शरण खोज्नेमध्येका वरिष्ठ अधिकारी बनेका उपराजदूत थाइको कदमलाई त्यसबेला उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनको शासनको विरोधका रूपमा हेरिएको थियो। सो  कदम उत्तर कोरियाली जनतासमक्ष नेता किमको हैसियतलाई नजरअन्दाज गर्नका लागि विश्वभर सूचना फैलाउने प्रयासस्वरुप भएको थाइले बताउने गरेका छन्। दक्षिण कोरियाली गुप्तचर एजेन्सीको संक्षिप्त विफ्रिङपछि बोल्दै दक्षिण कोरियाको सत्तारुढ सांसद किम मिन–कीले एक महिनाअघि रोमस्थित उत्तर कोरियाली दूतावास छोडेको संवाददाताहरुलाई बताए।

‘कार्यवहाक राजदूत जो सङ–गिलको कार्यकाल गत वर्षको नोभेम्बर अन्तिममा सकिँदै थियो र उनले नोभेम्बरको सुरुमै कूटनीतिक परिसर छोडे,’ सांसद किमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। उत्तर कोरियाबाट भाग्ने सबैको जानकारी राख्ने दक्षिण कोरियाली राष्ट्रिय गुप्तचर सेवाले देशको सांसदहरुलाई कार्यवहाक राजदूत जोसँग उनी बेपत्ता भएदेखि कुनै सम्पर्क नभएको समेत बताएका छन्। कार्यवहाक राजदूत जोले अन्य देशमा राजनीतिक शरण खोजिरहेको भन्ने विवरण भने कोरियाली राष्ट्रिय गुप्तचर सेवाले पुष्टि नगरेको बिबिसीले जनाएको छ। जोकी श्रीमती पनि उनीसँगै भएको अनुमान गरिएको छ।

रोमका लागि उत्तर कोरियाली कार्यवहाक राजदूत जोले राजनीतिक शरणका लागि आग्रह गरेको कुनै रेकर्ड आफूसँग नभएको इटालीको विदेश मन्त्रालयले बिबिसीलाई जानकारी गराएको छ। जोको ठाउँमा अन्य व्यक्तिलाई नियुक्त गरिएको भन्ने उत्तर कोरियाली सरकारबाट गत वर्ष प्राप्त पत्रपछि उनीबारे इटालीले कुनै जानकारी नपाएको कूटनीतिक स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। कार्यवहाक राजदूत जो उनको परिवारसँगै सुरक्षित ठाउँमा रहेको कूटनीतिक स्रोतलाई उद्धृत गर्दै दक्षिण कोरियाली पत्रिका जोङआङ इल्बोले जनाएको छ।

इटालीस्थित उत्तर कोरियाली दूतावासले संयुक्त राष्ट्रसंघको रोम आधारित खाद्य तथा कृषि संगठनसँगको सम्बन्धलाई व्यवस्थापन गर्ने गरेको छ। सो संगठनले उत्तर कोरियालाई महत्वपूर्ण सहायता प्रदान गर्ने गरेको छ।
देशलाई धोका नदिऊन् भनेर विदेशस्थित कूटनीतिक नियोगमा काम गर्ने उत्तर कोरियाली कूटनीतिज्ञले आफ्ना परिवारका कैयौं सदस्यलाई स्वदेशमै छोड्नु पर्ने कानुन रहेको छ। तर जो भने श्रीमती र बालबालिकासहित रोममै बस्ने गरेको बताइन्छ। ‘यसको अर्थ उनको परिवार उत्तर कोरियामा प्रभावशाली हुनुपर्छ,’ बिबिसीले उल्लेख गरेको छ। जोका बाबु तथा ससुरा दुवैजना कूटनीतिज्ञ थिए। उनका ससुरा ली डो–सिओप थाइल्यान्ड र हङकङका लागि सुपरिचित उत्तर कोरियाली राजदूत थिए।

विदेशस्थित कूटनीतिक नियोगमा रहेका उत्तर कोरियाली प्रतिनिधिहरुले देश र शासनप्रति कुनै पनि गद्दारी गर्छन् कि भनेर उनीहरुलाई समकक्षी कूटनीतिज्ञले नजिकबाट नियाल्ने गरेका छन्। यस्तो व्यवस्था हुँदा हुँदै पनि पछिल्ला केही दशकमा विदेशस्थित कूटनीतिक नियोगमा रहेका कूटनीतिज्ञले उत्तर कोरियालाई धोका दिएका कैयौं घटना सार्वजनिक भएका छन्। त्यसमा सन् १९९१ र १९९६ मा क्रमशः अफ्रिकामा रहेको आफ्नो पद छोडेर को योङ–ह्वान र ह्योन सङ–इल दक्षिण कोरिया गएका थिए। इजिप्टका लागि उत्तर कोरियाली पूर्वराजदूत जाङ सङ–गिलले परिवारसहित सन् १९९७ मा संयुक्त राज्य अमेरिकामा राजनीतिक शरण लिएका थिए। त्यसरी शरण लिनेमा लन्डनमा काम गरिरहेका उत्तर कोरियाली कूटनीतिज्ञ एवं उनका भाइ पनि थिए।

उत्तर कोरिया र दक्षिण कोरियाबीचको सम्बन्धमा आएको नाटकीय परिवर्तनको एक वर्षपछि जो सङ–गिल बेपत्ता भएको घटना सार्वजनिक भएको छ। परम्परागत शत्रु रहेका उत्तर कोरिया र दक्षिण कोरियाका उच्च नेताबीच एक वर्षको अवधिमा तीन पटक भेटवार्ता भइसेकेको छ। यद्यपि यदि जो दक्षिण कोरियातर्फ गएको रहेछन् भने पनि उत्तर कोरियाले सोलले नै त्यस्तो व्यवस्था गरेको भनेर नसोचेसम्म दुई देशबीच पछिल्लो समय विकसित सम्बन्धलाई कुनै प्रभाव नपार्ने सोलस्थित डोङगक विश्वविद्यालयका उत्तर कोरिया अध्ययनका प्राध्यापक कोह यु–ह्वानलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।

प्रकाशित: २० पुस २०७५ ०३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App