१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जिन सम्पादन गरेर बच्चा विकसित गरेको दाबीको प्रतिरक्षा

हङकङमा आयोजित जिनोम सम्मेलनमा आफ्नो भनाइ राख्दै प्राध्यापक ही जिएन्क्वे। तस्बिर : एजेन्सी

बेइजिङ (बिबिसी) – संसारमा पहिलोचोटि जिन सम्पादन गरेर बच्चा विकसित गरेको दाबी गर्ने एक चिनियाँ वैज्ञानिकले आफ्नो कार्यको प्रतिरक्षा गरेका छन्।

हङकङमा आयोजित जिनोम सम्मेलनमा बोल्दै प्राध्यापक ही जिएन्क्वेले एचआईभी लाग्न नसक्नेगरी दुई जुम्ल्याहा बालिकाको जिन सम्पादन गरेकोमा आफूलाई ‘गर्व’ लागेको बताएका हुन्। जिन सम्पादन गरेर बच्चा विकसित गरेको भन्ने प्राध्यापक हीको केही दिनअघि घोषणाको स्वतन्त्र पुष्टि भने भइ नसकेको बिबिसीले उल्लेख गरेको छ।

धेरै वैज्ञानिकले उनको त्यस्तो घोषणाको निन्दा गरेका छन्। एक वैज्ञानिकले त त्यसलाई ‘दानवीय’ कार्यको संज्ञासमेत दिएका छन्। अधिकांश देशमा मानव वंशाणुमा परिवर्तन गरी परीक्षण गर्ने कार्य जसलाई ‘जिन सम्पादन’ भनिन्छ, त्यस्तो गर्न प्रतिबन्धि छ।

प्राध्यापक ही कार्यरत चीनको सन्जनस्थित साउदर्न युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलजीले त्यस्तो अनुसन्धान परियोजनाबारे आफूलाई थाहा नभएको र यस विषयमा छानबिन गर्ने बताएको छ। प्राध्यापक हीले पनि आफूले विश्वविद्यालयलाई सो कामबारे जानकारी नदिएको र आफैले त्यसका लागि खर्च जुटाएको दाबी गरेका छन्।

उनले के दाबी गरेका छन्?
जुम्ल्याहा बालिकामा एचआईभी संक्रमण नहुने गुण विकसित हुने गरी तिनको भ्रुणमा डिएनए परिवर्तन गरिएको दाबी प्राध्यापक हीले गरेका थिए। विवाद सिर्जना भएको केही दिनपछि युनिभर्सिटी अफ हङकङमा आयोजित ‘ह्युमन जिनोम एडटिङ समिट’ मा बुधवार उनले पहिलोचोटि बोलेका हुन्। उनका अनुसार लुलु र नाना नाम राखिएका ती बालिका सामान्य रूपमै जन्मिएका थिए र अहिले स्वस्थ छन्। उनीहरूलाई १८ वर्षसम्म निगरानीमा राख्ने योजना भएको समिटमा उनले सुनाए। एचआईभीको संक्रमण भएका पिता र नभएका आमासहितका आठवटा दम्पत्ति स्वैच्छिक रूपमा त्यो प्रयोगका लागि तयार भएको भए पनि पछि गएर एक दम्पत्तिले भने सहभागिता नजनाएको उनको कथन छ। आफ्नो अनुसन्धान एउटा वैज्ञानिक जर्नलमा प्रकाशित गर्न पठाइएको दाबीसमेत प्राध्यापक हीले गरेका छन्।

उनका अनुसार सम्पादित वंशाणु अर्थात् जिनयुक्त भ्रुण भएको अर्को एउटा गर्भ प्रारम्भिक चरणमा रहेको छ।

विवाद किन?
प्राध्यापक हीले आफूले जिन सम्पादन गर्न प्रयोग गरेको दाबी गरेको ‘क्रिस्पर’ नामक टुल सन् २०१२ मा विकसित गरिएको थियो। सो प्रक्रिया अनुसार ‘मलेक्युलर सिजर्ज’ अर्थात् ‘आणविक कैँची’ प्रयोग गरेर डिएनएको निर्दिष्ट त्यान्द्रो काटी त्यसको स्थानमा अर्को टुक्रा राखिदिएर अथवा केही मिलाएर परिवर्तन गर्न सकिन्छ। जिन सम्पादनबाट भ्रुणमा समस्याग्रस्त भाग काटेर वा फेरेर वंशानुगत रोग रोक्न सकिन्छ। तर भ्रुणको जिनोममा हेरफेर गर्दा जन्मिने बच्चा मात्र नभएर तिनका सन्ततिमा पनि त्यस्तो परिवर्तन गरिएका वंशाणु सर्ने भनेर विज्ञहरूले चिन्ता प्रकट गरेका छन्। त्यसैले वैज्ञानिकहरूले प्राध्यापक हीको घोषणाको आलोचना गरेका हुन्। सयौं चिनियाँ वैज्ञानिकहरूले प्राध्यापक हीको अनुसन्धानको निन्दा गरेका छन्। उनीहरुले त्यसको विपक्षमा रहेको जनाउँदै हस्ताक्षर गरेर एउटा पत्र सामाजिक सञ्जालमा प्रेषितसमेत गरेको बिबिसीले उल्लेख गरेको छ।

‘प्राध्यापक हीले भनेजस्तै यदि सत्य हो भने यो प्रयोग दानवीय छ। जिन सम्पादन आफैंमा प्रयोगात्मक छ र अझै पनि यससँग अनपेक्षित म्युटेसन (आनुवंशिक विकृति) जोडिन्छन्। यसले क्यान्सरलगायत अन्य आनुवंशिक समस्या उत्पन्न गराइदिन सक्छ,’ युनिभर्सिटी अफ अक्स्फोर्डमा कार्यरत एथिक्स अर्थात् नैतिक मूल्यमान्यताका विशेषज्ञ जुलियन स्याभलेस्कूले बताए। धेरै देशमा प्रजननका लागि मानिसमा जिन सम्पादन गर्न पाइँदैन। कृत्रिम गर्भाधान गराउन तयार पारिएको भए पनि पछि परित्याग गरिएका भ्रुणमा वैज्ञानिकहरूले जिन सम्पादनको प्रयोग गर्न पाउँछन्। तर त्यसरी जन्मिएका बच्चा विकास नगराई तुरुन्तै नाश गर्नु पर्छ।

प्रकाशित: १३ मंसिर २०७५ ०३:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App