coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सीद्वारा उत्तर कोरिया भ्रमणको तयारी : सोल

चिनियाँ राष्ट्रपति सी चिनफिङ।

बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङले अर्को वर्ष उत्तर कोरियाको भ्रमण गर्ने तयारी गरिरहेको दक्षिण कोरियाले जनाएको छ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनबाट निमन्त्रणा प्राप्त गर्नेबित्तिकै राष्ट्रपति सीले उत्तर कोरियाको भ्रमण गर्ने दक्षिण कोरियाले शनिबार जानकारी गराएको हो । यससँगै सन् २००५ देखि उत्तर कोरियाको भ्रमण गर्ने सी चीनका प्रथम राष्ट्रपति बन्ने छन् । यसअघि सन् २००५ मा चिनियाँ राष्ट्रपति हु जिन्ताओले उत्तर कोरियाको भ्रमण गरेका थिए ।  सीले सन् २००८ मा उपराष्ट्रपतिको हैसियतमा उत्तर कोरियाको भ्रमण गरेका थिए।

पपुवा न्यू गिनीमा भएको एसिया प्यासिफिक कोअपरेसन (एपेक) सम्मेलनको साइडलाइन मिटिङमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनसँगको भेटवार्ताका क्रममा राष्ट्रपति सीले अर्को वर्ष उत्तर कोरिया भ्रमणका लागि समय निकाल्ने बताएका हुन् । कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्नका लागि चीनले रचनात्मक भूमिका खेल्ने कार्यलाई निरन्तरता दिने पनि राष्ट्रपति सीले कोरियाली समकक्षी मुनलाई बताए । चिनियाँ राष्ट्रपति सी र दक्षिण कोरियाली राष्ट्रपति मुनबीच भएको साइडलाइन मिटिङमा भएको छलफलका विषयलाई जानकारी दिँदै दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका प्रवक्ता इयु–क्योमले बताए।

उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीच प्योङयाङको आणविक हतियार कार्यक्रमलाई कसरी सुरक्षित तरिकाले व्यवस्थापन गर्न सकिन्छ भनेर  वार्ता चलिरहेकै बेला प्योङयाङको नजिकको साझेदार चीनका राष्ट्रपतिको यस्तो भनाइ आएको हो।

दुई परम्परागत शत्रु राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प  र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच यसै वर्षको जुन १२ का दिन सिंगापुरमा ऐतिहासिक शिखर बैठक भएको थियो । त्यस शिखर बैठकमा उत्तर कोरियाली नेता किमले आफू कोरियाली प्रायद्वीपलाई निःशस्त्रीकरण गर्न र शान्ति कायम गर्नका लागि प्रतिबद्ध रहेको र अमेरिकासँग नयाँ सम्बन्ध राख्न तयार रहेको बताएका थिए।

यद्यपि सो सम्झौता अत्यन्तै छोटो थियो र कोरियाली प्रायद्वीपलाई कसरी निःशस्त्रीकरण गर्ने भन्नेबारे पनि सो सम्झौतामा उल्लेख गरिएको थिएन । लगातार गरिरहेको हतियार परीक्षणपछि अन्तर्राष्ट्रिय प्रतिबन्ध खेपिरहेको उत्तर कोरियाको चीन एकमात्रै प्रमुख आर्थिक र रणनीतिक साझेदार हो। दक्षिण कोरियाले चिनियाँ राष्ट्रपति सीले उत्तर कोरियाको भ्रमण गर्ने बताए पनि चीनले भने यसबारेमा केही जानकारी गराएको छैन।

प्रकाशित: २ मंसिर २०७५ ०४:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App