२३ असार २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अक्टोबर महिनापछि हुनसक्ने

अमेरिकी विदेशमन्त्री पोम्पेओ ।

वासिङ्टन – अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच आउँदो अक्टोबरपछि शिखर बैठक हुन सक्ने बताएका छन्। 

राष्ट्रपति ट्रम्प र नेता किमबीच हुने अर्को शिखर बैठकको तयारीमा अधिकारीहरु जुटिरहेको बताउँदै विदेशमन्त्री पोम्पेओले बुधबार भने, ‘आउँदो अक्टोबरपछि दुई नेताबीच बैठक हुनसक्छ।’

‘हामी दुई नेताबीच छलफल हुने विषयबारे अत्यन्तै मेहनतका साथ काम गरिरहेका छौं । तर बैठक छिट्टै हुने विषयमा हामी आशावादी पनि छौं,’ सिबिएस दिस मर्निङसँगको अन्तर्वार्ताका क्रममा विदेशमन्त्री पोम्पेओले बताए। 

‘बैठक अक्टोबर महिनामै हुनसक्ने सम्भावाना भए पनि मलाई भने त्यसपछि हुन्छ जस्तै लागेको छ,’ पोम्पेओलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ। 

इतिहासमै पहिलो पटक बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच गत जुनमा एसियाली राष्ट्र सिंगापुरमा पहिलो चरणको शिखर बैठक भएको थियो । सो बैठकमा उत्तर कोरियाली नेता किमले कोरियाली प्रायद्वीपलाई आणविक निःशस्त्रीकरण गर्नेतर्फ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । दुई नेताबीच आणविक निःशस्त्रीकरणका लागि मिलेर काम गर्ने विषयमा पनि सहमति भएको थियो । यद्यपि कहिले र कसरी उत्तर कोरियाली आणविक कार्यक्रमलाई निःशस्त्रीकरण गर्ने भन्नेबारे भने कुनै सहमति भएको थिएन।

किमले गरेको प्रतिबद्धताबमोजिम कार्य नभएको भन्दै पछिल्लो समय वासिङ्टन रिसाएको छ । उत्तर कोरियाले आफ्नो देशमा रहेको प्रमुख आणविक परीक्षण केन्द्र तथा क्षेप्यास्त्र प्रक्षेपणस्थल ध्वस्त गरेको बताए पनि यसलाई वासिङ्टनले भने विश्वासको नजरले हेरेको छैन । अविश्वासकैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले पछिल्लो समय अमेरिकी विदेशमन्त्री पोम्पेओको प्योङयाङ भ्रमण अन्तिम समयमा आएर रुद्द गरिदिएका थिए। 

अमेरिका र उत्तर कोरियाबीच भर्खरै सुमधुर भएको सम्बन्धमा फेरि समस्या उत्पन्न हुने बाटोतर्फ गएपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले गत साता तीन दिन लामो उत्तर कोरियाको भ्रमण गरे । सो भ्रमणमा नेता किम र राष्ट्रपति मुनबीच सौहार्दपूर्ण वातावरणमा बैठक भएको थियो । सो बैठकमा पनि नेता किमले कोरियाली प्रायद्वीपलाई पूर्ण निःशस्त्रीकरण गर्ने विषयमा आफू प्रतिबद्ध रहेको दोहोर्याएका थिए । उत्तर कोरियाको भ्रमणबाट स्वदेश फर्केको केही दिनमै दक्षिण कोरियाली राष्ट्रपति मुन नेता किमको सन्देश बोकेर वासिङ्टन पुगेका छन्।

संयुक्त राष्ट्रसंघको महासभाको साइडलाइनमा बसेर सोमबार दुई नेताले प्योङयाङसँगको वार्तालाई पुनः सुचारु गर्न सक्ने संकेत गरेका थिए । सो क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले यसका लागि विदेशमन्त्री पोम्पेओले तयारी गरिरहेको खुलासा गरेका थिए ।  ट्रम्पको खुलासासँगै विदेशमन्त्री पोम्पेओमो पछिल्लो भनाइ सार्वजनिक भएको रोयटर्सले उल्लेख गरेको छ। 

उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम त्याग्न तयार रहेको तर त्यसका लागि अमेरिकालगायतका पश्चिमा देशले लगाइरहेको प्रतिबन्ध अन्त्य गर्नुपर्ने शर्त राखिरहे पनि वासिङ्टनले भने पूर्ण निःशस्त्रीकरण नभएसम्म प्रतिबन्ध कायम नै हुने बारम्बार दोहोर्याउँदै आएको छ। 

प्रकाशित: ११ आश्विन २०७५ ०३:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App